चिनियाँ कम्पनी ह्वावेइकी उत्तराधिकारी मङ्ग वान्जूको सुखमा लुकेका दुःख

  • 13 डिसेम्बर 2018
मङ्ग तस्वीर कपीराइट Reuters
Image caption मङ्ग वाङ्जूलाई भ्यानकुभरमा डिसेम्बर १ तारिखका दिन पक्राउ गरिएको थियो

उनी थाइरोइडको क्यान्सरबाट बाँच्न सफल व्यक्ति हुन्। उनलाई उच्च रक्तचाप र निद्रामा पनि समस्या छ।

उनका वकिलहरूका अनुसार उनले दैनिक औषधि खानुपर्छ।

"म बिरामी महसुस गरिरहेकी छु। बन्दीजीवन बिताइरहँदा मेरो स्वास्थ्य बिग्रिनेमा चिन्तित छु," उनले भनेकी छन्। "अहिले मलाई ठोस खाना खान मुश्किल छ। त्यसैले मेरो खाना नै परिवर्तन गर्नुपरेको थियो।"

उनका वकिलहरूले ती चार छोराछोरीकी आमाको भ्यानकुभर शहरसँग बलियो सम्बन्ध रहेको हुनाले उनी भागेर जाने खतरा नरहेको तर्क गरेका थिए।

तनाव

मङ्ग वाङ्जूलाई भ्यानकुभरमा डिसेम्बर १ तारिखका दिन पक्राउ गरिएको थियो। जसले चीन र क्यानडाबीच कूटनीतिक तनाव उत्पन्न गराएको छ।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि उनको मुद्दामा आफूले हस्तक्षेप गर्न सक्ने बताएका छन्।

ह्वावेइकी अधिकारीको पक्राउपछि आक्रोशित चीनले मुख खोल्यो

ह्वावेइकी मङ्गलाई रिहा गर्न क्यानाडा र अमेरिकामाथि दबाब

सन् २००९ सम्म आफू क्यानडाको स्थायी बासिन्दा भएको र त्यसपछि आफू चीन फर्केको उनले अदालतलाई बताएकी छन्।।

तर उनले सन् २०१२ मा आफ्ना दोस्रो श्रीमान्‌सँग मिलेर भ्यानकुभरमा एक घर किनेकी छन्।

तस्वीर कपीराइट Reuters
Image caption मङ्गले भ्यानकुभरमा रहेका उनका दुई घर धरौटीमा छुट्न धितो राखेकी छन्

आफ्ना छोराछोरी र श्रीमान्‌लाई भेट्न उनी त्यहाँ आइरहन्छिन्। उनका छोराछोरीले सन् २०१२ सम्म क्यानडाका स्कूलमा पढेका थिए।

त्यो घरको अहिलेको मूल्य करिब ४८ करोड नेपाली रुपैयाँ (५६ लाख क्यानडेली डलर) रहेको उनले बुझाएको कागजातमा उल्लेख गरिएको छ।

सन् २०१६ मा यो जोडीले करिब एक अर्ब चालीस करोड नेपाली रुपैयाँ (१६३ लाख क्यानडली डलर) तिरेर अर्को बङ्गला किनेका थिए। दुवै घर उनीहरूले धरौटीमा छुट्नका लागि धितो राखेका छन्।

११ डिसेम्बरमा उनलाई करिब ८६ करोड रुपैयाँ (७० लाख क्यानडेली डलर) धरौटीमा छोडिएको छ।

भ्यानकुभर किन?

बीबीसी विश्व सेवाका एशिया प्रशान्त सम्पादक माइकल ब्रिस्टो भन्छन् अदालतका कागजातले चिनियाँ अधिकारीको जीवनका निजी रमाइला पाटोहरू उधिनिदिएका छन्।

बसोबास, छोराछोरीको शिक्षादीक्षा र चिनियाँ जीवनमा रहेको अनिश्चितताबाट पार पाउन भ्यानकुभर केही समययता धनी चिनियाँहरूको रोजाइमा पर्ने गरेको छ।

मानिसहरु मङ्गसँग एक होइन दुई घर रहेको र किन उनले एकैपटक सातवटा पासपोर्ट राखेकी होलिन् भनेर सोचिरहेका छन्।

कसरी सात पासपोर्ट भए?

यो एक किसिमले रहस्यमय छ।

मिडिया रिपोर्टहरूका अनुसार उनीसँग चार चिनियाँ पासपोर्ट र तीन हङकङ पासपोर्ट छन्।

तस्वीर कपीराइट Reuters
Image caption मङ्गले विश्व नेताहरूलाई भेटेकी छन्, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन २०१४ मा भेटेकी थिइन्

चिनियाँ नियम अनुसार यदि नागरिकहरूले अरु देशको पासपोर्ट लिने हो भने चिनियाँ पासपोर्ट त्याग्नुपर्छ।

हङकङका अधिकारीहरूले मङ्गको पासपोर्टबारे प्रतिक्रिया दिन चाहेनन्। तर हङकङको एउटा व्यक्तिले एक समयमा एक मात्र पासपोर्ट राख्न पाउने बताइएको छ।

अमेरिकी अध्यागमन निकायका अनुसार सन २०१४ देखि २०१७ सम्म ३३ पटक अमेरिका छिर्दा उनले तीन प्रकारका हङकङ पासपोर्ट प्रयोग गरेकी थिइन्।

उनको दोस्रा छोरा म्यासाचुसेट्समा पढिरहेको बताइएको छ। तर उनी मार्च २०१७ देखि अमेरिका आएकी छैनन्।

क्यानडाको प्रहरीले अदालतलाई कम्पनीमाथि सन् २०१७ मा अपराधिक अनुसन्धान शुरू भएयता उनीहरूले यात्रा योजना परिवर्तन गरेको हुनसक्ने देखिएको बताएको छ।