पूर्व माओवादी लडाकूका प्रचण्डलाई प्रश्न: जनयुद्धमा आधा रगत बगायौं, राहत कहिले पाउछौँ?

  • 20 डिसेम्बर 2018

मंगलसिंह प्रजा, पूर्व माओवादी लडाकू

काठमाण्डूस्थित वीर अस्पतालमा अनशनरत २७ वर्षका मङ्गलसिंह प्रजा तत्कालीन माओवादी विद्रोहको नेतृत्वकर्ता तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सिधा प्रश्न गर्छन्।

उनी भन्छन्, ''तत्कालीन एमाले र नेपाली कांग्रेस पार्टीका सामान्य कार्यकर्ताले मात्र कैयौं कमाए होलान् तर हामी लडाकू थियौँ। हामीले एक रुपैया पाएनौँ। माओवादी भएकै कारणले मेरो विजोग भयो। हामीलाई प्रचण्डले चिन्नुहुन्न होला तर हामी चिन्छौं। त्यसैले हामीलाई भेट्नुहोस्, हाम्रा माग सुन्नुहोस्। म पनि जनयुद्धको एउटा सिपाही हुँ। मेरो दाइ पनि सिपाही हुनुहुन्थ्यो, वित्नुभयो तर कसैले केही पाएका छैनौँ।''

मकवानपुर घर भएका प्रजा तत्कालीन सेनासँग पटकपटक भिडन्तमा परे। उनको करङ्ग पनि भाँच्चिएको छ।

तर एकसाता बढी समयदेखि अनसन बस्दा पनि कसैले आफ्ना माग सम्बोधन गर्ने बारेमा नसोधेको उनको गुनासो छ।

माओवादी सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका तत्कालीन माओवादी लडाकूलाई अनशनस्थलबाट बुधवार पक्राउ गरि प्रहरीले वीर अस्पताल पुर्‍याएको छ।

उनीसहित अन्य पाँच पूर्व माओवादी लडाकू पनि अस्पतालमै अनशन बसिरेहका छन्।

तत्कालीन विद्रोहको नेतृत्व गरेका प्रचण्ड सत्ताको नेतृत्वमा पुग्दा समेत आफ्नो अवस्था भने दयनीय रहेको उनीहरुको भनाइ छ।

वीरबहादुर परियार

जुम्ला घर भएका वीरबहादुरको गोलीको छर्रा लागेर दाहिने आँखा फुटेको छ।

वीर अस्पतालमा अनशनरत परियार प्रश्न गर्छन्, ''हामीले अनेकौँ दु:खकष्ट सहेर देशमा परिवर्तन ल्याउनका लागि संविधानसभाका लागि आधा रगत बगायौं नी। यसको मतलब हामीले सुविधा नपाउने भन्ने त होइन नी। राज्यसँग धेरै ठूलो उपहार मागेका छैनौँ। लाखौं करोडौँको गाडी, महलको सुविधा पनि मागेका छैनौँ। औषधी उपचार गर्न पाउनु हाम्रो अधिकार हो कि होईन?''

आँखाको चार पटकसम्म शल्यक्रिया गर्दापनि आँखाबाट पीप आउन रोकिएको उनी बताउछन्।

संग्रामे सार्की

कालीकोटका संग्रामे सार्कीको गुनासा पनि उस्तै छन्।

गोली लागेर दुबै खुट्टामा शल्यकृया भएपनि निको भएको छैन। उनलाई हिँडडुल गर्नैं कठिन छ।

भन्छन्, 'प्रचण्डले नभुल्दिनुस् हामी जनयुद्धका योद्धा हौं। गणतन्त्र ल्याउन हाम्रो रगतको योगदान छ। यसलाई नभुलिदिनुस्। मेरो विशेष आग्रह छ, तपाइमार्फत हाम्रा मागहरु सम्बोधन गरियोस्।'

नरवीर दमाई

दैलेख घर भएका नरवीरका पनि तत्कालीन सशस्त्र विद्रोहका नेतृत्वकर्ता र विशेषगरी प्रचण्डसामू अनेकौं प्रश्नहरु रहेका छन्।

देब्रे खुट्टा गोलीले छेडेपछि आठौ पटक शल्यक्रिया गर्दापनि निको नभएको उनको पिडा छ।

वीर अस्पतालमा पुर्याइनु अघि काठमाण्डूको माइतीघर मण्डलमा झण्डै एक हप्ता यता आमरण अनशनमा बसेका उनीहरुको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको अस्पतालले जनाएको छ।

नरवीर भन्छन्, 'प्रचण्डज्यू हामी हिजो पनि तपाईकै सिपाही थियौं र आज पनि तपाईकै सिपाही हौं। हामी अनशन बसिरहँदा तपाइले हाम्रा पाँच बुँदे मागहरु सम्बोधन गर्न राज्यलाई भनिदिनुहुनेछ भन्नेमा हामी आशावादी छौं।'

लिलाचन्द्र कामी

बर्दियाका लिलाचन्द्रको पनि गोलीको छर्राका कारण टाउकोमा चोट छ।

उपचारका क्रममा सबै सम्पत्ति गुमाएको बताउने उनले यतिका वर्षसम्मपनि राज्यबाट न्याय पाउन नसकेको बताए।

उनले भने, 'यो एउटा पार्टीको मात्रै सवाल होईन। यो समग्र राज्यको दायित्व हो। हामीले सामान्य उपचार गर्न पाउनुपर्छ। उपचारका क्रममा मेरो सबै सम्पत्ती गयो, अब बाँकी सास मात्रै छ।'

जीविकोपार्जन, राहत र स्वास्थ्य उपचारमा बेवास्ता गरेको भन्दै अनशन बसेका उनीहरुले ज्यानको पर्वाह नगरी लडेपनि आफ्नो पुरानो पार्टी, नेता र सरकारले बेवास्ता गरेको बताएका छन्।

मन दर्जी

प्रचण्डलाई अनसनरत कालिकोटका दर्जीको आग्रह छ,''म शारीरिक रुपमा अपाङ्ग छु। मेरा बालबच्चा पनि छन्। हामीलाई जसरी हुन्छ बाँच्नका लागि गाँसबास र कपासको व्यवस्था गरिदिनुस्। मसँग अरु केही विकल्प नभएकोले हिजो जुनठाउँबाट हामीलाई आश्वासन दिनुभएको थियो त्यसै अनुसार हामीलाई बाँच्ने आधार बनाइदिनुहोस्।'

माओवादी सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग तथा घाइते झण्डै ६ हजार भन्दा बढीलाई राज्यले बेवास्ता गरेको उनीहरुको भनाई छ।

उनीहरुका भनाइमा केही सत्यता रहेको स्विकार गर्दै उनीहरुका समस्या समाधान गर्न ध्यान पुर्याउनुपर्ने तत्कालीन माओवादी नेता अग्नी सापकोटाले बताए।

उनले भने, ''सशस्त्र द्वन्द्वका क्रममा अङ्गभङ्ग तथा घाइते भएका लागि उचित व्यवस्थापन गर्न सकिएको छैन। हामीले बेवास्ता गरेको पनि होईन। तर यसबारेमा एकिकृत पार्टीमा छलफल भइरहेको छ। हामी उनीहरुका विषयमा संवेदनशिल छौं र राज्यले अविलम्ब उचित निकास खोज्ने छ।''

सम्बन्धित समाचार