काठमाण्डूको सवारी चाप कम गर्न मोनोरेल कि मेट्रोरेल

  • 21 डिसेम्बर 2018
भारतको मुम्बइ महानगरको मोनोरेल
Image caption मोनोरेल देखाउने यो साङ्केतिक तस्बिर हो।

काठमाण्डूको बढ्दो सवारी चाप र अव्यवस्थित सार्वजनिक यातायाको उचित व्यवस्थापन गर्न काठमाण्डू महानगरपालिकाले मोनोरेल सञ्चालन गर्ने योजना अघि सारेको छ।

तर पूर्वाधारविद्हरूले त्यो परियोजना संघीय राजधानी शहरमा सोचेजस्तो उपयोगी नहुन सक्ने बताएका छन्।

विज्ञहरूका अनुसार विश्वका विभिन्न मुलुकमा मोनोरेलको अवधारणा क्रमिकरूपमा हट्न थालेको छ।

उनीहरुको तर्क छ निर्माण खर्चसँग मोनोरेलको उपयोगिताको तुलना गर्दा काठमाण्डूमा उक्त परियोजना त्यति कामलाग्दो नहुन सक्छ।

‘मेयरभन्दा पहिले मेट्रो रेल?’

मेट्रो र मोनोरेल कुदाउन दुई थरी अग्रसरता

मोनोरेलको आलोचना किन

रेल विभागका पूर्व उपसचिव तथा पूर्वाधारविद् प्रकाशभक्त उपाध्याय हाल भएको सम्झौता अनुरूप प्रति किलोमिटर ४ अर्ब भन्दा बढी लगानी गरेर मोनोरेल बनाउनु भन्दा अन्य परियोजनामा खर्च गर्नु उचित हुने बताउँछन्।

''एक दक्षिण कोरियाली कम्पनीले गरेको अध्ययनका अनुसार काठमाण्डूमा प्रति किलोमिटर लगभग ५ देखि ६ अर्ब रुपैयाँ खर्च गर्ने हो भने मेट्रोरेल नै बनाउन सम्भव छ,'' उपाध्यायले बीबीससँग भने।

उनका अनुसार उक्त अध्ययन पनि मूलतः राजधानीको चक्रपथ र अन्य चार रुटको सम्भाव्यतातर्फ केन्द्रित थियो।

लगानी मात्र नभएर भरपर्दो सवारीसाधनको हिसाबले समेत मोनोरेल उपयोगी नहुन सक्ने उनको तर्क छ। मोनोरेलको यात्रु बोक्ने क्षमता कम हुने तर यसले ओगट्ने क्षेत्र भने मेट्रो लाइन जत्तिकै हुने हुँदा उक्त परियोजना "सेतो हात्ती" हुन सक्ने खतरा रहेको उनले बताए।

हाल विवेकशील साझा पार्टीमा आबध्द पूर्वाधारविद् सूर्यराज आचार्यले मोनोरेल सम्झौतापछि नागरिक दैनिकमा छापेको लेखमा मोनोरेल परियोजना "सेत्तो हात्ती" हुन सक्ने अर्थात त्यो निकै महंगो हुन सक्ने चेतावनी दिँदै महानगरमा "मास ट्रान्जिट" सञ्चालनबारे अध्ययन हुनु पर्नेमा जोड दिएका छन्।

एकै पटक धेरै यात्रु ओसार्न सक्ने ठूला बस वा रेल सञ्चालन गर्ने विधिलाई "मास ट्रान्जिट" भन्ने गरिन्छ।

मोनोरेलको बचाउ गर्नेहरू के भन्छन्?

तर काठमाण्डू महानगरपालिकाका अधिकारीहरूले भने मोनोरेल परियोजना सबै निकायसँग छलफल गरेर र उचित अध्ययन गरेर अधि बढाइएको बताउने गरेका छन्। उनीहरूका अनुसार विभिन्न विकल्पबारे विमर्श गरेर नै महानगर मोनोरेल बनाउने निष्कर्षमा पुगेको हो।

''हालै चौडा पारिएको चक्रपथको सडकको मध्यभागमा रहेको रेखालाई नै उपयोग गरेर मोनोरेल चलाउने तयारी थालिएको हो,'' काठमाण्डू महानगरपालिकाका सह-प्रवक्ता नमराज ढकालले बीबीसीलाई बताए।

उनका अनुसार सडककोबीच भागमा मोनो रेल गुड्ने र छेउका आकाशेपुल बाट यात्रुहरू उक्त सवारीमा चढ्न र झर्न सक्नेछन्।

महानगरपालिकाले त्यो परियोजनाको लागतमा मेट्रो चलाउन सकिने भन्ने भनाइको खण्डन गरेको छ।

सह-प्रवक्ता ढकालले हाल बताइएको एक खर्ब १६ अर्ब रुपैयाँ लागतको उक्त परियोजनाले ओगट्ने जग्गाको भाडा पनि हिसाब गरिएको छ।

उनले भने, "त्यो जग्गा सरकारी सम्पत्ति भएकोले भविष्यमा मोनोरेल परियोजनाको लागत कम हुन जानेछ।"

महानगरको तयारी चाहिँ के छ?

काठमाण्डू महानगरपालिकाले उक्त परियोजनाको सम्भाव्यता अध्ययन सकिएको डेढ वर्षपछि बुधवार चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ग्रुप कम्पनी (सीआरसीसी) लाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन जिम्मा दिएको छ।

कुल २७.२ किलोमिटर लामो परियोजनाको डीपीआरको प्रतिवेदन एक वर्षभित्र तयार भइसक्ने ढकालले जानकारी दिए। काठमाण्डू र ललितपुरमा अवस्थित उक्त परियोजनामा ललितपुर महानगरपालिकाको समेत संलग्नता रहेको छ।

सम्भाव्यता अध्ययनका अनुसार मोनोरल परियोजना सुरु भएको ३ वर्षभित्र सम्पन्न हुने छ। उक्त मोनोरेलको तीन खण्डमा विभाजन गरेर काम अगाडि बढाइनेछ।

तर पूर्वाधारविद् उपाध्यायका अनुसार रेल विभागले गरेको अध्ययनअनुसार काठमाण्डूमा पूर्व-पश्चिम, उत्तर-दक्षिण र चक्रपथ लगायत थप दुई रुटमा मेट्रोरेल निर्माण हुन सक्छ। त्यसो गरेर राजधानीको मुख्य सडकहरूमा सवारीको चाप घटाउन सम्भव हुनेछ।

मेट्रो रेलको विकल्प खोज्ने हो भने पनि हाल विस्तारित चक्रपथका सडकमा लामो बस, डबल-डेकर (दुई तले) बस र बसका लागि मात्रै सडकको दुवैतर्फ एक-एक लेन छुट्टयाउनेहो भने पर्याप्त हुने उनको बुझाइ छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
धेरै मानिस एकैपटक बोक्ने र छिटो पुर्याउने साधनका रुपमा संसारका कैयौं मुलुकमा जस्तै मेट्रो

सम्बन्धित समाचार