ग्याटविक विमानस्थल पुन: संचालनमा

  • 21 डिसेम्बर 2018
ग्याटविक दक्षिण टर्मिनल तस्वीर कपीराइट Reuters

ब्रिटेनमा ड्रोनहरूका कारण बन्द गरिएको ग्याटविक विमानस्थल एकदिनभन्दा बढी समयसम्म बन्द रहेर पुन: संचालनमा आएको छ।

युकेको दोस्रो सबैभन्दा व्यस्त उक्त विमानस्थलले भनेको छ अब ७६५ वटा उडानहरू आगमन र प्रस्थानका लागि सूचीबद्ध छन्।

विमानस्थलका प्रमुख क्रिस वुडरूफले भनेका छन् प्रहरीले अझैसम्म पनि विमानस्थल अवरुद्ध पारिदिएको ड्रोन उडाउने व्यक्तिलाई फेला पार्न सकेको छैन।

प्रहरीले त्यस्ता व्यक्ति सम्भावित वातावरणवादी अभियानकर्मी हुन सक्ने अनुमान गरेको छ।

क्रिस वुडरुफले भनेका छन् सरकार र सेनाले अपनाएको सुरक्षाका उपायहरूले उनलाई विमानस्थल पुन: संचालनमा ल्याउने आत्मविश्वास दिएको छ।

साविक

तस्वीर कपीराइट Reuters

उक्त विमानस्थलको संचालन शनिवारको अन्त्यसम्ममा साविक समयतालिकामा फर्कन सक्ने अनुमान गरिएको छ।

उनले भने, "हामी सामान्य अवस्थामा रहेको जस्तै गरी संचालनमा आइसकेका छौं। तर यो घटनापछि विमानसेवा कम्पनीहरूका सामु उपस्थित समस्या भनेको तिनीहरूका विमानहरू सबै आवश्यक स्थानमा छैनन्।"

उनले आज विमानसेवा संचालन प्रणालीलाई सही अवस्थामा ल्याउने प्रयास गरिने र भोलि शनिबारबाट स्थिती सामान्यतर्फ फर्कने अपेक्षा गरिएको पनि बताए।

बुधबार बेलुकाबाट सुरु भएको भद्रगोलको अवस्थाका लागि जिम्मेवारहरूको प्रहरीले खोजी गरिरहँदा, हजारौँ यात्रुहरू ग्याटविक विमानस्थलमा अलपत्र परिरहेका छन्।

जोखिम

तस्वीर कपीराइट PA

ड्रोनहरू सकृय रहेको अवस्थामा तिनीहरूबाट यात्रुबाहक विमानमा क्षति पुग्न सक्ने जोखिमका कारण विमानस्थल संचालनमा आउन सकेको थिएन।

प्रहरीले हालसम्म पनि उक्त "औद्योगिक स्तरको" मानवरहित विमान ड्रोन र तिनका संचालकलाई फेला पार्न सकेको छैन र त्यस्ता ड्रोनलाई गोली हानी खसाल्ने विकल्पका बारेमा समेत विचार भैरहेको छ।

ब्रिटेनका यातायात मन्त्री क्रिस ग्रेलिंगले ति ड्रोनहरूको सम्बन्ध आतंकवादसँग हुन सक्ने कुनै प्रमाण नभएको बताएका छन्।

तर उनले हाल हवाईयात्रामा जे जस्तो अवरोध देखा पर्यो त्यो यसअघि कहिल्यै नभएको भन्दै अब यो घटनाबाट शिक्षा लिनु पर्नेमा पनि जोड दिए।