दांग दुर्घटना: विद्यार्थीहरू सवार बस दुर्घटनाग्रस्त हुँदा कम्तिमा २० जनाको मृत्यु

  • 21 डिसेम्बर 2018
दांग दुर्घटना तस्वीर कपीराइट DB_Lamahi, Dang_RSS

दांग जिल्लामा शुक्रबार सांझ भएको एक बस दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ।

मारिनेमा १३ जना पुरुष र ३ जना महिलाको भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उक्त बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीको भनाई छ।

बस सडकबाट खस्दा टुक्रा टुक्रा भएको घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक, प्रेमबहादुर शाहीले जानकारी दिएका छन्। सल्यानबाट दाङ आउँदै गरेको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा दुर्घटनामा परेको हो।

सडक दुर्घटनापीडितहरू उपचार खर्चबाट वञ्चित

विद्यार्थी

उक्त बसमा दाङ घोराही स्थित शहिद कृष्णसेन ईच्छुक प्राविधिक विद्यालयका बिद्यार्थीहरु सवार रहेका बताइएको छ।

बसमा २ जना शिक्षक सहित ३२ जना विद्यार्थी र ३ जना गाडीका कर्मचारी गरी कुल ३७ जना सवार रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिएका छन्।

तस्वीर कपीराइट DB_Lamahi, Dang_RSS

दुर्घटनाग्रस्त बसमा रहेका विद्यार्थीहरु सल्यानको मूलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा रहेको बताइएको छ।

कारण

यही बर्षदेखि सञ्चालनमा आएको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय सिटिइभिटीको आंगिक कलेजको रुपमा स्थापना भएको थियो।

शुक्रबार भएको बस दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

केही दिन पहिले दाङको रिहारमा विवाहको जन्ती लिएर फर्कंदै गरेको स्कोरपिओ सवारीसाधन दुर्घटनाग्रस्त हुँदा ८ जनाको मृत्यु भएको थियो।

सम्बन्धित सामग्री