नेकपा: विवाद‌ित राजनीतिक नियुक्तिप्रति पार्टीभित्र असन्तुष्टि

  • 21 डिसेम्बर 2018
नेकपा

कतिपय विवादमा मुछिएका र अनियमितताको आरोप लागेका व्यक्तिहरूलाई समेत सरकारले राजनीतिक नियुक्ति दिएको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कतिपय नेताहरूले असन्तुष्टी जनाएका छन्।

राजधानी काठमाण्डूमा गत शनिबारदेखि जारी उक्त दलको स्थायी कमिटी बैठकमा बोल्दै कतिपय नेताहरूले यस्तो असन्तुष्टी व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

तर पार्टीको नेतृत्व तहमा रहेका नेताहरू र मन्त्रीहरूले भने भ्रष्टाचार तथा अनियमितताप्रति कडा कदमहरूहरू चालिने बताउँदै आएका छन्।

बैठक शुरु भएदेखि नै कतिपय सदस्यहरूले सरकार र पार्टी नेतृत्वको कार्यशैलीप्रति कडा आलोचना गर्दै आएका छन्।

त्यसमध्येका केही नेताहरूले भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई समेत राजनीतिक नियुक्ति दिइएको भन्दै नेतृत्वलाई सचेत बनाएको बैठकमा सहभागीहरूले बताए।

आलोचना

शुक्रबारको बैठकमा पार्टी प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले पनि सरकारले सुशासन कायम गर्न नसकेको भन्दै आलोचना गरेको बताइएको छ।

दुई दिन अघिको बैठकमा त्यस्तै धारणका राखेका एकजना नेता लेखराज भट्ट भन्छन्, "बदनाम भएका मानिसहरूबाट सरकार र नेतृत्व अलि टाढा नै हुनुपर्छ र त्यस्ता प्रवृत्तिबाट बच्नुपर्छ भन्ने उद्देश्यले हामीले त्यस्ता विषयहरू उठाएका हौँ।"

उनले सरकारको छवि सुधार गर्नका लागि आफू सहित केही नेताहरूले गलत प्रवृत्तिका मानिसहरूलाई राजनीतिक नियुक्तिमा स्थान नदिन सुझाव दिएको बताए।

शुक्रबारको बैठकमा बोलेका एकजना अर्का नेता छविलाल विश्वकर्मा नेताहरू सरकारको छविप्रति चिन्तित भएकाले धेरै खाले विषयमा सुझाव आएको ठान्छन्।

उनले भने, "समाजको प्रतिबिम्ब पार्टी र सरकारमा गराउँछौँ भनेर आएका हौँ हामी। अहिले सरकारको त्यही तस्बिर धुमिल हुनलाग्यो भनेर त्यसलाई सुधार गर्न सुझाव दिएका हौँ।"

'कार्यक्षमतामा प्रश्न'

गत शनिवारदेखि शुरु बैठकमा सोमवारदेखि सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्।

त्यसक्रममा कतिपयले सरकारका मन्त्रीहरूको कार्यक्षमतामाथि समेत प्रश्न उठाएका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
‘सानो टोलीमार्फत् काम गर्ने प्रमको शैली बेठिक’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई सफल बनाउनका लागि नै कमीकमजोरीका बारे समेत छलफल भएको बताए।

उनले भने, "सरकार सञ्चालनमा कहाँनेर सबलता र दुर्बलता छन् भनेर छलफल गरिराखेकाले विभिन्न कोणबाट कुराहरू उठेका छन्। हामी यो सरकारलाई हर हालमा सफल बनाउनका लागि परेका छौँ।"

नेताहरूका अनुसार शनिबारसम्ममा पार्टीका स्थायी कमिटी सदस्यहरूले बोल्ने पालो सकिने सम्भावना छ।

आइतबारदेखि भने अध्यक्षहरूले सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको।

सम्बन्धित सामग्री