दक्षिण एशियाली खेलकुद: कसरी सम्भव होला यो तालले नेपालमा '१३ औं साग गेम्स'

रंगशाला
तस्बिरको क्याप्शन,

उद्घाटन, समापन र मुख्य खेलहरू हुने काठमाण्डूको दशरथ रंगशाला पुनर्निर्माणको थुप्रै काम गर्न बाँकी देखिएको छ।

अर्को वर्ष सन् २०१९ मा नेपालमा आयोजना हुने तय भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता 'साग गेम्स' अर्थात दक्षिण एशियाली खेलकुदको अझैसम्म यकिन मिति नै तय हुन नसकेको भन्दै दक्षिण एशियाली ओलिम्पिक काउन्सिलका अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

सन् २०१९ भित्र प्रतियोगिताको तिथि तय हुन नसके नेपालले आयोजनाको अवसर गुमाउन सक्ने उनीहरूको भनाइ छ।

साग लक्षित पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती र आवश्यक ठूलो बजेट अझै तयार हुन नसक्नुलाई खेलकर्मीहरूले नेपालको कमजोरीको रुपमा अर्थ्याइरहेका छन्।

यो वर्ष खेल सम्पन्न गर्ने घोषणा गर्दै दुई वर्ष अगाडि नेपालले प्रतियोगिता आयोजनाको जिम्मा लिएको थियो।

पटक पटक किन सर्दैछ मिति?

तर तयारीको कमी भन्दै दुई पटक पर धकेलिएको आयोजनाको नेपालले पछिल्लो तिथि आगामी वर्षको मार्च ९ देखि १८ तारिख तोकेको थियो।

यो अवधिमा पनि खेल गर्न नसक्ने सरकारले घोषणा गरिसकेको छ। तर अब कहिले गर्ने भन्ने तिथि भने तोक्न सकिएको देखिएको छैन।

नयाँ समयको लागि दक्षिण एशियाका सबै राष्ट्रबाट स्वीकृति लिनुपर्ने काम अझै नभएपछि दक्षिण एशियाली ओलिम्पिक काउन्सिलले समेत गम्भीर चिन्ता व्यक्त गरेको छ।

नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष समेत रहेका दक्षिण एशियाली ओलिम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले भने," सन् २०१९ भित्र आयोजना गर्ने कुरामा सबै राष्ट्रसँग छलफल गरेर निर्णयमा पुर्‍याउने कुरामा सफल हुन्छौं जस्तो मलाई लाग्छ। तर १९ बाट पछाडि लाने कुरा भयो भने आयोजनामा ठूलो प्रश्न हुनेछ।"

सरकारले १३ औं सागको तयारी लक्षित गरि यो वर्ष पूर्वाधार निर्माण र तयारीको निम्ति झण्डै साढे २ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो।

त्यसबाट कतिपय नयाँ खेलस्थल निर्माण र केही पुराना खेल स्थलहरूको मर्मत सम्भार भइरहेका छन्।

तर प्रतियोगिताको मुख्य खेलस्थल काठमाण्डूस्थित दशरथ रंगशाला तथा खेलहरू हुने अर्को शहर पोखरामा निर्माण भइरहेका पूर्वाधारको काम समयमा पूरा हुनेमा कतिपयको आशंका छ।

राष्ट्रिय खेलकुद परिषदको इन्जिनियरिङ विभागका प्रमुख अरुण उपाध्यायले अर्को वर्षसम्म रंगशालाको स्वरूप तयार हुने बताएपनि अन्य पूर्वाधार निर्माणका कामका लागि भने बजेट अभाव भएको बताउँछन्।

दोषी को?

उनले भने,"रंगशालाको लागि बजेटको समस्या छैन। तर अन्य खेलस्थलका थुप्रै काम बाँकी छ। त्यसको लागि बजेटको अभाव छ।"

प्रतियोगिता आयोजनाको निम्ति खेलकुद मन्त्री जगत बहादुर सुनारको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ।

तर उक्त समितिले अहिलेसम्म काम अगाडि बढाउन सकेको देखिएको छैन।

सात राष्ट्रका हजारौँ खेलाडी, प्रशिक्षक, प्राविधिक र अधिकारीहरूलाई निम्त्याउने काममा निकै समय खर्चिनुपर्ने हुनाले काम सम्पन्न नहुने चिन्ता गर्ने मध्ये तयारी समितिकै सदस्य सचिव केशव विष्ट समेत पर्छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव समेत रहेका उनी भन्छन्," कति बजेट आउने हो हामीले मागेकै छैनौँ। निर्देशिका बनेकै छैन। समितिहरूको बैठक बस्न सकेको छैन। यो गतिले समयमै साग गेम्स गर्न गाह्रो छ।"

खेलाडीमा कस्तो असर?

तस्बिरको क्याप्शन,

प्रशिक्षकहरू प्रशिक्षण खाका बारे अन्योल रहेको बताउँछन्।

आयोजनाको मिति तय हुन नसक्नुको असर खेलाडीहरूको प्रशिक्षणमा परेको देखिन्छ।

सागमा सहभागिता जनाउने खेलका प्रशिक्षकहरूले प्रशिक्षणको स्पष्ट खाका बनाउन नसकेको बताइरहेका छन् भने खेलाडीहरूको अवस्था पनि त्यस्तै बन्न पुगेको देखिन्छ।

टेबल टेनिसकी राष्ट्रिय खेलाडी एलिना महर्जन भन्छिन्,"प्रशिक्षण त गरिरहेका छौं। तर साग गेम्स केन्द्रीत भएर लिन पाइरहेका छैनौ। गेम्सको समय निश्चित नभएरै त्यसो भइरहेको होला। "

साग गेम्स जस्तो ठूला खेलहरूको आयोजना अन्तर्राष्ट्रिय खेल क्यालेन्डरलाई आधार बनाएर तय हुने हुनाले सन् २०१९ भित्र नेपालमा नभए दुई पटक आयोजक बनिसकेको नेपालबाट ठूलो अवसर गुम्ने कतिपय बताउँछन्।

दक्षिण एशियाली ओलिम्पिक काउन्सिलका अनुसार त्यसपछि सन् २०२० मा हुने ओलिम्पिकको तयारीमा अन्य राष्ट्रहरु व्यस्त हुनेछन्।

अडिओ क्याप्शन सुरु हुँदैछ,

खेलकुद निकायबारे फरक-फरक खाका