चीन: ४० वर्षमा भएका आश्चर्यजनक प्रगतिका झलकहरू

  • 22 डिसेम्बर 2018
चीन

गत चार दशकमा चीनले करोडौँ जनतालाई गरिबीको रेखाबाट माथिमात्र तानेन स्वयं विश्वको दोस्रो ठूलो अर्थतन्त्र समेत बन्यो।

उसले हासिल गरेका परिवर्तनका केही झलक तस्बिरहरूमा हेरौँ।

. पाङ्ग्रा र झन् धेरै पाङ्ग्रा

राजधानी बेइजिङ्गको यो मुख्य मार्ग चाङ् आन एभेन्यु सन् १९७८ मा यस्तो देखिन्थ्यो।

तस्वीर कपीराइट Getty Images

चार दशकपछि यसको स्वरूप पूरै बदलिएको छ।

तस्वीर कपीराइट Getty Images

चीनमा कारधनीहरूको सङ्ख्या ह्वात्तै बढेको छ। हाल त्यहाँ ३० करोड गाडी दर्ता छन्। तर मोटरसाइकलको दर्ता सङ्ख्या भने घट्दो छ।

चीनमा बढ्दो शहरीकरण तथा आर्थिक वृद्धिका कारण यसो भएको हो। तर यसको नकारात्मक असर पनि छ।

धेरै शहरहरूमा ज्यादै ट्राफिक जाम हुन थालेपछि गाडिका लाइसेन्स प्लेटमा कोटा तोकिएका छन्। र विश्व स्वास्थ्य संगठनले हरेक वर्ष चीनमा वायु प्रदूषणका कारण दश लाखले ज्यान गुमाइरहेको जनाएको छ।

. पैसा, पैसा, पैसा

सन् १९७८ तिरको यो पसलको झ्याल हेर्नुस्…

तस्वीर कपीराइट Getty Images

… र अब यही दशकको यो तस्बिर हेर्नुस्।

तस्वीर कपीराइट Getty Images

चीनको कुल गार्हस्थ उत्पादनले आकाश छोएको छ। यहाँका किनमेल प्रवृत्तिमा व्यापक परिवर्तन आएका छन्।

विश्वमा विलासी वस्तुका सबभन्दा धेरै उपभोक्ता मध्येमा चिनियाँ गनिन्छन्।

राष्ट्रपति सि जिनपिङले मङ्गलवार आर्थिक सुधारको वार्षिकोत्सव कार्यक्रममा जनताको जीवन कसरी परिवर्तन भएका छन् भन्ने बारे लामो भाषण गरे।

"गहुँका लागि कुपन, कपडाका लागि कुपन, मासुका कुपन, माछाका कुपन, तेल तोफुका कुपन र अन्य दस्तावेज जुन पहिले पहिले अत्यावश्यक थिए, अब इतिहासमा मात्र बाँकी छन्," उनले भने।

"भोकको पीडा, तथा नाना र खानाका अभाव, अनि दु:ख जसले हजारौँ वर्षदेखि हाम्रा मानिसलाई पिरोल्यो, ती अब गइसके र फर्कँदैनन्।"

. परिवार तथा बालबालिका

सन् १९७० ताका का बालबालिकाको तुलनामा सन् २०१० का दशकका बालबालिकाका निम्ति जीवन निकै बदलिएको छ।

पहिलो कुरो त अब उनीहरू बाँच्ने आयु नै लामो भएको छ। सन् १९७८ मा चिनियाँको औसत बाँच्ने उमेर ६६ थियो भने अहिले त्यो ७६ पुगिसकेको छ।

तस्वीर कपीराइट Getty Images

त्यसमाथि उनीहरूले अब स्तरीय शिक्षा हासिल गर्ने सम्भावना पनि बढेको छ। सन् १९८० ताका साक्षरता दर ६६ प्रतिशत थियो भने सन् २०१० मा आइपुग्दा त्यो ९५ प्रतिशत पुगिसक्यो।

सन् १९७० ताका विदेश घुम्न जाने कुरा औसत चिनियाँ बालबालिकाका निम्ति कल्पना बाहिरको विषय थियो।

आजभोलि सबभन्दा धेरै विदेश घुम्ने पर्यटक चिनियाँ नै भएका छन्। उनीहरूले अर्बौँ डलर त्यसरी खर्च गर्छन्।

अनि फेरि विदेश पढ्न जानेमा पनि चिनियाँ विद्यार्थी नै धेरै छन्। चिनियाँ सरकारी आँकडा बमोजिम विश्वभर पढ्न जाने विद्यार्थीहरूमध्ये चिनियाँ विद्यार्थी कै सङ्ख्या सबभन्दा धेरै छ।

तर एउटा विषय चाहिँ सरकारले निकै चाहे पनि खासै परिवर्तन हुन सकेको छैन। त्यो हो जन्म दर।

आर्थिक सुधार घोषणा भएको एक वर्ष पछि सन् १९७९ मा सरकारले जनसङ्ख्या नियन्त्रण गर्न एक शिशु नीति अपनायो।

यसै पनि जन्मदर घट्दै थिए। तर उक्त विवादास्पद नीतिको कठोरतापूर्ण कार्यान्वयन गरियो।

सो नीति उल्लंघन गर्ने दम्पतिलाई जरिबाना देखि लिएर नोकरीबाट हटाइने तथा जबरजस्ती बन्ध्याकरण एवं गर्भपतन गराउने सम्म गरियो।

अहिले आएर चीनको जनसङ्ख्याको औसत उमेर, अन्य विकसित मुलुकमा झैँ, बढिरहेको छ।

सन् २०१५ मा सरकारले एक शिशु नीतिको अन्त्य गर्‍यो। उसले अब दम्पतिलाई दुईवटा शिशु सम्म जन्माउन अनुमति दिएको छ।

यो नीतिलाई निकट भविष्यमा अझ खुकुलो पारेर तीन वा बढी बच्चा जन्माउन दिने बनाउन लागिएको समेत ठानिँदैछ।

तर अहिलेका अधिकांस चिनियाँलाई धेरै बच्चा जन्माएमा तिनलाई हुर्काउन महङ्गो पर्ने र त्यसले आफ्ना व्यावसायिक जीवनमा असर पर्ने ठान्छन्।

. बजारबाट बजारसम्म

अर्थतन्त्र बदलिएसँगै मानिसहरूको खानपान र उनीहरूले खर्च गर्ने सामग्रीमा पनि बदली आउँछ।

सन् १९७८ को मध्य चिनियाँ शहर सियानको बजारको यो दृश्य हेरौँ।

तस्वीर कपीराइट Getty Images

र अब अहिलेको हेरौँ।

तस्वीर कपीराइट Matteo Colombo
तस्वीर कपीराइट Getty Images

सो नगरमा देखिने धेरैजसो विज्ञापन मासुका परिकारसम्बन्धी छन्। आँकडाहरूले वितेका केही दशकमा चीनमा मासुको उपभोग कसरी बढिरहेको छ भन्ने देखाएका छन्।

विगतमा बँगुरको मासुलाई विशेष अवसरमा मात्र खाइने विलासी खाना मानिन्थ्यो।

तर अचेल औसतमा प्रत्येक चिनियाँले वर्षको ४० किलो बँगुरको मासु उपभोग गर्न थालेका छन्।