प्रचण्डले केमा देखे नेपाली कांग्रेसको 'दुर्भाग्य'?

  • 22 डिसेम्बर 2018
प्रचण्ड तस्वीर कपीराइट AFP

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दूराष्ट्रबारे बहस छेडिएको बताइएका बेला नेपाल कम्युनिष्ट पार्टीका एकजना अध्यक्ष प्रचण्डले त्यो कांग्रेसकै लागि 'दुर्भाग्य' हुने चेतावनी दिएका छन्।

कांग्रेसकै नेताहरू बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले धर्मनिरपेक्षताका लागि पुर्‍याएको योगदानको स्मरण गराउँदै प्रचण्डले त्यस्तो पार्टीले पुन: धर्म विशेषको पक्ष लिनु 'अशोभनीय' भएको बताए।

फरक घटनाक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग पोखरामा भेटेर हिन्दूवादी शक्तिबीचको सम्भावित एकताबारे चासो राखेको विवरण सार्वजनिक भएको छ।

'असान्दर्भिक'

काठमाण्डूमा शनिवार एउटा कार्यक्रममा प्रचण्डले धर्मनिरपेक्षतालाई संघीयता, गणतन्त्र र समावेशीतासँगै संविधानका चारमध्ये एक खम्बाको रूपमा अर्थ्याएका हुन्।

चारमध्ये एक खम्बा कमजोर हुँदा घर ढल्न सक्ने भन्दै उनले कांग्रेसलाई यो 'असान्दर्भिक' बहस नउठाउन आग्रह समेत गरे।

उनले भने, "यस्तै अतिवादलाई लिएर कांग्रेसले राजनीतिक 'स्पेश' बनाउन खोजेको हो भने योभन्दा ठूलो दुर्भाग्य केही हुनेछैन।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
शशांक कोइरालासँग

कांग्रेसको जारी महासमिति बैठकमा कतिपय नेताले देशमा बढिरहेको धर्मप्रचारले अस्थिरता निम्त्याउने बाटो लिएको भन्दै हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए।

चाहेकै हो कांग्रेसले हिन्दूराष्ट्र?

कांग्रेसका एकजना महामन्त्री सशाङ्क कोइरालाले महासमिति बैठकको उद्घाटन सत्रमा हिन्दूधर्मका बारेमा स्पष्ट रूपमा नबोले पनि धर्मपरिवर्तन लगायतका विषयले नेपालको मौलिकता सङ्कटमा परेकोमा चिन्ता व्यक्त गरेका थिए।

उनले सार्वजनिक रूपमै धर्मका विषयमा जनमत सङ्ग्रहमा जानुपर्ने बताउँदै आएका छन्।

शनिवार नै सुशील कोइरालालाई संविधानको पिता भनेको कांग्रेसले संविधानको मर्म विपरीतको सोच राखेर प्रचण्डले 'उनलाई स्वर्गबाट नर्कमा झार्न नहुने' बताए।

उनले थपे, "बीपी कोइरालालाई कहिल्यै आफू हिन्दू हुँ भन्ने कुरामा मतलब भएन। धर्मनिरपेक्षताको परिकल्पना गर्दा गिरिजाप्रसाद कोइराला समेत कसरी यो पक्षमा उभिनुभयो त्यो हेर्न आग्रह गर्छु।"

पूर्वराजाको चासो

पछिल्ला घटनाक्रमका बीच राप्रपाका अध्यक्ष कमल थापाले कांग्रेस संस्थागत रूपमा हिन्दूराष्ट्रका पक्षमा उभिए सो पार्टीसँग सहकार्य हुन सक्ने बताउँदै आएका छन्।

शुक्रवार मात्र थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पोखरामा भेटेका थिए। त्यसक्रममा हिन्दूराष्ट्रको विषयमा छलफल भए/नभएको स्पस्ट हुन नसके पनि राप्रपाबाटै विभाजित तीन हिन्दूवादी शक्तिबीचको एकतामा उनले चासो राखेको बताइएको छ।

हिन्दूराष्ट्रको मुद्दा आफ्नो मात्र नभएको बताउँदै राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले भने, "बहुसङ्ख्यक हिन्दू जनताको भावनाविरूद्ध जसरी सरकारका कदमहरू देखिएका छन्। त्यो परिपेक्षमा नेपाली कांग्रेसले शुरू गरेको हिन्दूराष्ट्र पक्षधर हस्ताक्षर सङ्कलन कार्यक्रम सकारात्मक छ।"

राप्रपाले फागुन पहिलो हप्तादेखि हिन्दूराष्ट्र पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाएर देशव्यापी 'जनसङ्घर्ष' शुरू गर्ने बताएको छ।

पछिल्लो समय विवादित एक ईसाइ धर्मप्रचारक संस्थाको कार्यक्रममा प्रधानमन्त्रीसहितका उच्चस्तरको सरकारी सहभागिता र समन्वय देखिएपछि हिन्दूराष्ट्र पक्षधरलाई बल पुगेको कतिपय बताउँछन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
राजतन्त्र, धर्मनिरपक्षेता र संघीयताबारे राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापासँग कुराकानी