इन्डोनेशिया सुनामी: के भन्छन् प्रत्यक्षदर्शी

  • 23 डिसेम्बर 2018
ज्वालामुखी सुनामी तस्वीर कपीराइट OYSTEIN LUND ANDERSEN

इन्डोनेशिया सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामीका कारण मारिनेको सङ्ख्या कम्तीमा १६८ पुगेको छ भने सयौँ घाइते भएका छन्।

नर्वेका ओएस्टन लुन्ड एन्डर्सन ज्वालामुखीका फोटोग्राफर हुन्। उनी पश्चिम जाभाको आन्यर तटमा रहेको बेला सुनामी आएको थियो।

उनले बीबीसी वर्ल्ड न्यूज टेलिभजनलाई त्यहाँको स्थितिको विवरण दिएका छन्।

म तटमा थिएँ। एक्लै थिएँ। मेरा परिवार होटलको कोठामा सुतिरहेका थिए।

म विस्फोट भइरहेको क्राकाटोआ ज्वालामुखीका तस्बिरहरू खिच्दै थिएँ।

केही बेरअघि साँझको बेला ज्वालामुखी विस्फोटका तीव्र गतिविधि भएका थिए। तर तटमा छालले प्रहार गर्नु केहीअघि देखि भने कुनै गतिविधि भएको थिएन। बाहिर केवल अन्धकार थियो।

अनि अचानक मैले ठूलो छाल आइरहेको जस्तो देखेँ। म भागेँ।

दुईवटा छाल आइरहेका थिए। पहिलो त्यति ठूलो थिएन। म त्यसबाट भाग्न सक्थेँ।

म सोझै होटलतर्फ दौडेँ जहाँ मेरी श्रीमती र छोरा सुतिरहेका थिए।

मैले उनीहरूलाई उठाएँ … अनि त्यति नै खेर ठूलो छाल आइरहेको आवाज सुनेँ। मैले झ्यालबाट बाहिर हेरेँ। त्यो दोस्रो छाल निकै ठूलो थियो।

तस्वीर कपीराइट BNPB

छाल आयो र त्यसले सडकबाट गाडीहरूलाई हुत्त्याइदियो।

हामी तथा होटलका अन्य मानिसहरू त्यहाँबाट सोझै नजिकैको जङ्गलतर्फ लाग्यौँ। सो ठाउँ अलि उच्च भेगमा थियो। हामी अहिले पनि यहीँ छौँ।

के हो सुनामी? कसरी आउँछ?

समुद्रमुनि जब कुनै तेज हलचल हुन्छ तब त्यसले विशाल र अग्ला छालहरूको निर्माण हुन्छ।

ती छाल निकै वेगका साथ अगाडि बढ्छन्।

यस्तै छाललाई सुनामी भनिन्छ।

खासमा सुनामी जापानी शब्द हो। जापानी भाषामा सु भनेको समुद्र तट र नामी भनेको छाल हो।

सामान्यतया समुद्रमा छालहरू चन्द्रमा, सूर्य तथा ग्रहहरूका गुरुत्वाकर्षणका कारण उत्पन्न हुन्छन्। तर सुनामी उत्पन्न हुने कारण भने बेग्लै छन्।

सबभन्दा प्रमुख कारण भूकम्प हो। त्यसका अतिरिक्त जमिन धस्सिने वा ज्वालामुखी विस्फोटका कारण पनि सुनामी आउँछन्।