इन्डोनेशिया सुनामी: मर्नेको सङ्ख्या २८१

  • 24 डिसेम्बर 2018
सुनामी तस्वीर कपीराइट REUTERS/ANTRAFOTO
Image caption अनक क्राकाटोआ ज्वालामुखीबाट आइतवार फेरि खरानी र धुवाँको मुस्लो निस्किएका छन्।

थप सुनामी आउने त्रासका कारण इन्डोनेशियामा अनक क्राकाटोआ ज्वालामुखी क्षेत्र वरपरका तटीय स्थानमा रहेका मानिसहरूलाई तटभन्दा पर रहन भनिएको छ।

शनिवार अनक क्राकाटोआ ज्वालामुखी विस्फोटकै कारण उत्पन्न भएको ठानिएको सुनामीले दुई सयभन्दा धेरै जनाको ज्यान गइसकेको छ।

उद्धारकर्मीहरूले रातभर सुनामीका कारण फसेका मानिसहरूको खोजबिन जारी राखेका छन्।

कस्तो चेतावनी दिइएको छ?

शनिवार सुमात्रा तथा जाभा टापुका तटीय नगरहरूमा विशाल छालहरू ओइरिएका थिए।

उक्त सुनामीका कारण २८१ जनाको ज्यान गएको छ भने ८४३ घाइते भएका छन्।

तस्वीर कपीराइट EPA

ज्वालामुखीका कारण समुद्रमुनि पहिरो गएको र त्यसैले उक्त सुनामी पैदा गरेको ठानिएको छ।

अनक क्राकाटोआ ज्वालामुखीबाट आइतवार फेरि खरानी र धुवाँको मुस्लो निस्किएका छन्। जसले थप सुनामी आउन सक्ने त्रास बढाइदिएको छ।

इन्डोनेशियाका विपद् व्यवस्थापन निकायका प्रमुख सुतोपो पुर्वो नुग्रोहोले जाभामा पत्रकार सम्मेलन गरी थप सुनामीको सम्भावना बाँकी रहेको बताएका थिए।

उनले मानिसहरूलाई हालका निम्ति तटीय क्षेत्रबाट परै रहन अनुरोध गरिएको बताए।

अनक क्राकाटोआमा ज्वालामुखी विस्फोट निरन्तर भइरहेकाले सुनामीको खतरा बाँकी रहेको उनले बताए।