नेपाली र्याप गायक जसले नयाँ पीढीमा 'राजनीतिक रिस' जगाइदिए
- सृजना श्रेष्ठ
- संवाददाता, बीबीसी न्यूज नेपाली

नेपाल संक्रमणकालमै गुज्रिरहेको थियो र पूर्व राजा ज्ञानेन्द्र शाहले भर्खरै संसद विघटन गरेका थिए, जब गिरिश-प्रनिलको ''मलाई भोट देऊ'गीत सार्वजनिक भयो।
नेपालमा एक दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य भएर शान्ति सम्झौतामा हस्ताक्षर भएको अहिले १२ वर्ष पुगिसकेको छ।
तर 'मलाई भोट देऊ'हिप-हप र्यापको महत्त्व १८ वर्ष पहिले जति थियो, अहिले पनि उत्तिकै देखिन्छ किनकि लामो समयदेखि विद्यमान कुशासन र राजनीतिप्रतिको दिक्दारी र क्रोधलाई हिप-हप का माध्यमबाट पोख्न युवाहरूका निम्ति यही गीत नै उत्प्रेरक बन्दै आएको छ।
किन लेखियो 'मलाई भोट देऊ'गीत
आफूले भोट हालेर निर्वाचित गरेको २०५ सदस्यको संसद विघटन हुँदा २१ वर्षका गिरिश खतिवडालाई त्यतिखेर असैह्य पिडा भयो। तर उनले गर्न सक्ने केही थिएन।
मात्र आफूभित्र भएका रहेका पीडा र क्रोधलाई उनले गीतमा उतारे…
भोट माग्न आएका नेतालाई व्यङ्ग्य गर्दै त्यो गीतमा भनिएको छ: यो दिन्छु, ऊ दिन्छु, तिमीलाई त्यो दिन्छु, काम दिन्छु माम दिन्छु, चाहेको दाम दिन्छु, मलाई भोट देऊ, मलाई भोट देऊ…
जवाफमा जनता भन्छन् गाँस छैन, बास छैन, कपासको आश छैन। काम छैन काज छैन खाने बेलामा लाज छैन, तँलाई भोट दिउँ! कसरी तँलाई भोट दिउँ?
देश र जनताका लागि काम गर्ने आशामा भोट दिएर जिताएका नेताहरूले देशलाई तिरस्कार गरेको देख्दा सार्है मन दुखेको र्यापर तथा रचनाकार गिरिश खतिवडा बताउँछन्।
"त्यतिबेला देशमा बस्न गार्हो थियो र परिवारबाट सबैले विदेश जान भनिरहेका थिए। मलाई भने आफ्नो देशमा नै परिवारसँग बस्न मन लाग्थ्यो," उनीले बीबीसीसँग यसो भनिरहँदा उनको आँखामा त्यो क्रोध अझै पनि उस्तै स्पष्ट देखिन्थ्यो।
"हामीले भोट दिएर जिताएका नेताहरूले हामी जस्ता युवाहरूका लागि देशमा बस्न सक्ने वातावरण सिर्जना गर्न सकेनन् र त्यही रिसमा त्यो गीत लेखेका थियौं,'' खतिवडाले थपे।
खतिवडा केही वर्षका लागि विदेश पनि गए। देशमा राजनीतिक स्थिरता आउँछ भन्ने आशमा फर्किए। तर वर्षौँ बितिसक्दा पनि उनको त्यो विश्वास यथार्थमा परिणत हुन नसकेकोमा उनी दु:खी छन्। उनीजस्तै हजारौं युवाहरू अनुभव यस्तै छ।
रिस उस्तै छ युवाहरूमा
एक दशक लामो सशस्त्र द्वन्द्व सकिएर सन् २००६ मा शान्ति सम्झौता भयो। माओवादी सरकारमा आए। नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आयो।
दुई पटक संविधान सभाको चुनाव पनि भयो। २० वर्ष पश्चात् स्थानीय चुनाव पनि भयो। अहिले झण्डै दुई तिहाईको सरकार बनेको छ तर किन रिसाएका छन् युवा नेताहरुदेखि ?
युवाहरूले देशमा परिवर्तन महसुस गर्न नसकेको बताउँछन्। रोजगारीको अवसर नहुँदा अहिले दशौँ लाख नेपाली युवा कामको खोजीमा विदेश गएका छन्।
उनीहरू निकै रिसाएका छन्। कसैले फेसबुकमा स्ट्याटस् राखेर आफ्नो क्रोध पोख्छन्, कसैले कलाको माध्यमबाट पोख्छन्।
पोलिटिकल र्यापका माध्यमबाट युवाहरूलाई जागरुक गराउने सक्ने शक्ति रहेको भन्दै बीबीसीसँगको अन्तर्वार्तामा गिरिश भन्छन्, 'जबसम्म राजनीति स्थिर हुँदैन तबसम्म यसरी राजनीति बारे र्याप गरिरहन्छु।'
जसरी गिरिश-प्रनिलले पोलिटिकल र्याप मार्फत् आफ्नो छटपटाहटलाई व्यक्त गरे, अहिलेका नयाँ पुस्ताले पनि देशप्रतिको असन्तुष्टि पोख्न पोलिटिकल र्यापलाई एक सशक्त माध्यम बनाएका छन्।
बढ्दो महङ्गी, भ्रष्टाचार, अत्याचार, बलात्कार, अन्याय, अनि पछौटेपनजस्ता अनेकौं समस्याहरूका बारेमा युवाहरूले र्याप गीत बनाएका छन्।
यस्ता गीतहरू मार्फत् नेताहरूलाई खबरदारी समेत गरेका छन्।
के हो राजनीतिक र्याप?
पोलिटिकल र्याप हिप हपको एक उप विधा मानिन्छ।
तस्बिर स्रोत, lucent film
खाडी मुलुकहरूमा नेपालीहरूले पाएको दु:खका कारण पीडा भएर गीतमा उतारेको सागर नेपाल बताउँछन्।
सन् १९८० को दशकमा सुरु भएको ठानिने हिप-हप मार्फत राजनीतिक सन्देश दिनका लागि यस्तो विधा प्रयोग गरिन्छ।
'पिएसपिएन ब्याण्ड'का सागर नेपालले रचना गरेको 'देह व्यापारी सरकार' र्यापमा सरकारलाई देह व्यापारी र अत्याचारीको संज्ञा दिइएको छ। नेताहरूले राम्रो काम गर्न नसक्दा युवाहरूले दु:ख पाएको र रेमिट्यान्सका लागि खाडी मुलुकमा पसिना बगाउन बाध्य हुनु परेको उनी बताउँछन्।
"नेपालमा जन्मेपछि सबैले भविष्य बाहिर खोज्नुपर्ने बाध्यता छ। यस्तो परिस्थिति सिर्जना भएकै कारण म र म जस्ता धेरै युवाहरू देशको प्रणालीसँग र नेताहरूसँग रिसाएका छन्," पिएसपिएनका नेपालले बीबीसीलाई भने।
इटहरीका २६ वर्षिय सागर अहिले अमेरिकाको टेक्ससमा बस्छन्। वायोमेडिकल इन्जिनियरिङ्मा भर्खरै स्नातकोत्तर सकेका छन्। पेशाले इन्जिनियर भए पनि उनले युट्युबमा र्यापरको रूपमा परिचय कमाएका छन्।
"म आफैँ पनि अवसरको खोजीमा विदेशिएको नेपाली हुँ। खाडी मुलकहरूमा नेपालीहरूले पाएको दु:ख समाचारहरूमा देख्दा मलाई निकै पीडा भयो र त्यही पिडालाई मैले गीतमा उतारेको हुँ।"
"मलाई लाग्यो कि नेपाल सरकारले अप्रत्यक्ष रूपमा नेपाली जनतालाई खाडीमा बेचिरहेको छ।"
उनको बुझाइमा यस्ता र्यापले देशको वर्तमान परिस्थितिलाई हुबहु उतारेर युवाहरूलाई देशमा भइरहेको प्रगतिका बारेमा समेत जानकार गराउँछ र परिवर्तन ल्याउन मद्दत पुग्छ।
'म पागल होइन'
तस्बिर स्रोत, Instagram
सागर शर्मा र्यापका मार्फत सचेतना जगाएर देश परिवर्तनमा योगदान दिन चाहन्छन्।
बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको बुवालाई पागल भनेको समाचार पढेपछि निकै भावुक भएका थिए महाकाल भनेर चिनिने सागर शर्मा।
"महिनौँसम्म पनि निर्मलाको परिवारले न्यायका लागि भौँतारिरहँदा त्यस ठाउँमा आफ्नो बुवालाई राखेर हेरेँ। असैह्य पीडा भयो र यो गीत लेखेँ," उनी भन्छन्।
रुपन्देहीका २७ वर्षीय महाकाल अहिले दुवईमा काम गरिरहेका छन्। उनले चारवटा पोलिटिकल र्याप गाइसकेका छन्।
नेताहरुको खोक्रो भाषण प्रति व्यङ्ग्य गर्दै उनले भने, "देशमा परिवर्तन गर्छु भन्ने नाटकीय भाषण सुन्दा रिस उठ्छ। उनीहरूको आफ्नो मात्र कायापलट भयो तर देश भने झन् पछाडि धकेलिँदैछ। राजनीतिले देश परिवर्तन हुन्छ भन्ने कुरा चाहिँ विश्वास नै लाग्न नसक्ने अवस्थामा पुगिसकेँ।"
अन्य देशले विकासको खुड्किला चढिरहेको भन्दै उनी दु:खेसो पोख्छन्। देशमा पानीजहाज भन्दा पनि गाडी गुडाउन मिल्ने फराकिला सडक र तुइन चढेर विद्यालय जाने बालबालिकाहरूका लागि पुल चाहिएको उनी बताउँछन्।
आफूले र्याप गरेर सचेतना जगाउन नछाड्ने र देश परिवर्तन गर्न नसकेपनि त्यसका लागि योगदान भने गरिरहने उनी बताउँछन्।
करिब दुईवर्ष अघि दिवंगत भएका यम बुद्धका र्यापहरू पनि युवा पुस्ताका माझ निकै चर्चित थिए। त्यस्तैगरि लाहुरे, मानस घले जस्ता र्यापरहरूले पनि आफ्नो गीतहरूका माध्यमबाट राजनीतिक सन्देशहरू दिन खोजेका छन्।
एक वर्ष अघि मात्र सार्वजनिक भएको द एक्सप्लिसिट ब्यान्डको 'मेरो माटो' गीतले पनि देशको सामाजिक-आर्थिक स्थिति व्याख्या गर्दै देशप्रति आशावादी हुनुपर्ने खालका सन्देश दिएको थियो।