इन्डोनेशिया सुनामी: मृत्यु हुनेको सङ्ख्या ४०० कट्यो

  • 25 डिसेम्बर 2018
अनक क्राकाटोआ ज्वालामुखी विस्फोटन, डिसेम्बर २२, २०१८ तस्वीर कपीराइट Oystein Lund Andersen

इन्डोनेशियामा अनक क्राकाटोआ ज्वालामुखीका कारण आएको सुनामीमा परेर मृत्यु हुनेको सङ्ख्या ४२९ पुगेको त्यहाँको विपद् व्यवस्थापन निकायले जनाएको छ।

शनिवार सुमात्रा र जाभा द्वीपका तटवर्ती क्षेत्रमा विशाल छालहरूले प्रहार गरेका थिए।

ज्वालामुखी जाँदा समुद्रभित्र पहिरोहरू गएको र तिनले नै विनाशकारी छाल उत्पन्न गराएको विश्वास गरिएको छ।

विपद् व्यवस्थापन निकायका अनुसार सुनामीपछि झन्डै १५० जना बेपत्ता भएका छन् र १६ हजारभन्दा बढी मानिसले विस्थापित हुनुपरेको छ।

फेरि सुनामी जाने आशङ्कामा ज्वालामुखी सक्रिय रहेको क्षेत्रनजिकै बसोबास गर्ने मानिसहरूलाई समुद्रतटभन्दा टाढा बस्न भनिएको छ।

अनक क्राकाटोआ ज्वालामुखी फेरि आइतवार विस्फोट भएको थियो।

चार्टर गरिएको एउटा विमानबाट खिचिएको भिडिओमा सो ज्वालामुखी सुमात्रा र जाभाको बीचमा रहेको सुन्डा स्ट्रेटमा विस्फोट भएको देखिएको थियो।

बाटो अवरुद्ध भएकाले उद्धारको प्रयासमा प्रभाव परेको छ। अतिप्रभावित क्षेत्रमा पीडितहरूको खोजी तथा उद्धारका लागि ठूला उपकरणहरू पठाइँदैछ।

कस्तो चेतावनी दिइएको ?

राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ताले सम्भवत: अनक क्राकाटोआ ज्वालामुखी निरन्तर विस्फोट भएकाले सुनामी गएको सोमवार एउटा पत्रकार सम्मेलनमा बताएका थिए।

सुतुपो पुर्वो नुग्रोहोले भने, "मौसम पूर्वानुमान, जलवायु तथा भूभौतिक निकायले मानिसहरूलाई समुद्रतटमा केही नगर्न र केही समय टाढा बस्न सुझाव दिएको छ|"

तस्वीर कपीराइट Gallo Images/Orbital Horizon/Copernicus Sentin
Image caption अनक क्राकाटोआ ज्वालामुखीको अगस्टमा भूउपग्रहबाट लिइएको तस्बिर

सन् १८८३ मा क्राकाटोआ ज्वालामुखी विस्फोट हुँदा बनेको खाल्डोमा सन् १९२७ मा नयाँ ज्वालामुखी बनेको थयो।

त्यसलाई 'अनक क्राकाटोआ' अर्थात् 'क्राकाटोआको बच्चा' नाम दिइयो।

केही महिनायता त्यसको गतिविधि बढेको देखिएपछि सर्वसाधारणलाई सो क्षेत्रवरिपरि नजान आग्रह गरिएको थियो।

किन सुनामीको चेतावनी समयमै दिन सकिएन भनेर सुतोपोले सोमवार ट्विटरबाट स्पष्टीकरण दिएका थिए।

उनका अनुसार इन्डोनेशियामा भूकम्प निगरानी गर्न स्थापित पूर्वचेतावनी दिने पद्धतिबाट समुद्रभित्र जाने पहिरो एवम् ज्वालामुखी विस्फोटनका घटनाको निगरानी गर्न सम्भव छैन।

तर संसारभरि सक्रिय ज्वालामुखीमध्ये १३ प्रतिशत इन्डोनेशियामा मात्र भएकाले त्यस्तो पद्धति विकसित गर्नु अपरिहार्य भएको उनको भनाइ थियो।

सुनामीबारे पूर्वचेतावनी दिन नसकिएको भन्दै सुतोपोले आर्थिक अभाव, पानीमा तैरिने उपकरणको तोडफोड र प्राविधिक त्रुटिका कारण सन् २०१२ देखि सुनामीको चेतावनी पद्धतिले काम नगरेको उनले बताए।

इन्डोनेशियामा सुनामी कति सामान्य?

तस्वीर कपीराइट Reuters
Image caption सुनामीपछि पान्डेग्लाङस्थित एउटा मस्जिदमा शरण लिँदै

इन्डोनेशिया प्रशान्त महासागरवरपर रहेको उच्च भूकम्पीय जोखिम भएको 'रिङ अफ फायर' क्षेत्रमा पर्छ।

भौगर्भिक अवस्थितिले त्यहाँ भूकम्प गइराख्छ र ज्वालामुखी विस्फोट पनि भइराख्छ।

विश्वमा समुद्र सतहभन्दा माथि सक्रिय रहेका आधाभन्दा बढी ज्वालामुखीहरू सोही क्षेत्रमा छन्।

गत सेप्टेम्बर महिनामा मध्यइन्डोनेशियास्थित सुलाबेसी द्वीपमा एउटा शक्तिशाली भूकम्प र त्यसका कारण उत्पन्न सुनामीका कारण दुई हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।

सुनामीले तटवर्ती पालु सहर नराम्ररी प्रभावित भएको थियो।

सन् २००४ को डिसेम्बर महिनामा हिन्द महासागरमा गएको शक्तिशाली भूकम्पका कारण उत्पन्न छालहरूले इन्डोनेशियालगायत १३ देशमा दुई लाख २८ हजार जनाभन्दा बढीको ज्यान गएको थियो।

तर यसपालिको जस्तो ज्वालामुखीका कारण सुनामी भने प्राय: आइराख्दैन।

क्राकाटोआ

(इन्डोनेशियाको भाषामा क्राकाटाउ)

सन् १८८३ को अगस्ट महिनामा एकदमै ठूलो विस्फोटन भयो।

तस्वीर कपीराइट Getty Images
Image caption सन् १८८३ मा विस्फोटन हुनुअघि काकाटाओ ज्वालामुखी यस्तो देखिन्थ्यो
  • ४१ मिटर अग्लो छालसहित आएको सुनामीका कारण ३० हजार जनाको ज्यान गयो
  • तातो खरानीका कारण हजारौँको ज्यान गयो
  • त्यतिबेलाका ज्वालामुखी २०० मेगाटन टीएनटीको क्षमता बराबरका थिए। अर्थात् हिरोशिमामा सन् १९४५ मा विस्फोट गराइएको बमभन्दा १३ हजार गुणा शक्तिशाली थियो
  • विस्फोटन हजारौँ किलोमिटर परसम्म सुनिएको थियो
  • अर्को वर्ष विश्वभरि तापक्रम एक डिग्री सेन्टिग्रेडले झरेको थियो
  • ज्वालामुखी गएको द्वीप बाहिरबाट देखिन छोडेको थियो