इराक पुगेर ट्रम्पले किन गरे अमेरिकी फौज अब "विश्व सुरक्षामा खटिने प्रहरी नबन्ने" घोषणा

  • 27 डिसेम्बर 2018

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ईसाइहरूको पर्व क्रिस्मसको अवसरमा इराकस्थित अमेरिकी फौजको आकस्मिक भ्रमण गरेका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
डोनल्ड ट्रम्पले अमेरिका सेनाले इराकमा गरेको कामप्रति आफू कृतज्ञ भएको बताए

उनीहरूले क्रिस्मसको राति ढिला त्यहाँ पुगेर अमेरिकी फौजलाई उनीहरूको सेवा, सफलता र त्यागको लागि धन्यवाद दिएको ह्वाइट हाउसले बताएको छ।

राष्ट्रपति ट्रम्पले त्यहाँबाट अमेरिकी फौज हटाउने योजना नभएको रोयटर्सले जनाएको छ।

भ्रमणको कारण

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले सो क्षेत्रमा रणनीतिक विभाजनका कारण राजीनामा दिएको केही दिनपछि राष्ट्रपति ट्रम्पले सो यात्रा सुरु गरेका हुन्।

इराकमा इस्लामिक स्टेट समूह आईएसको अवशेषसँग लड्न अझै पाँच हजार अमेरिकी सैनिकलाई परिचालन गरिएको छ।

इराकी प्रधानमन्त्री अदेल अब्देल मादीको कार्यालयका अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति र इराकी प्रधानमन्त्रीबीच हुने भनिएको भेटघाटबारे उत्पन्न विवादमा सहमति हुन नसकेपछि ती दुई नेताबीचको फोनवार्ता मात्रै भएको छ।

ट्रम्पको भ्रमणले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने उनको निर्णयको प्रतिरक्षा गर्ने ठानिएको छ।

घोषणा

उनले अमेरिका अब 'विश्व सुरक्षामा खटिने प्रहरी नबन्ने' घोषणा गरेका छन्। कसैलाई उनीहरूको सहयोग चाहिए त्यसको लागि 'तिर्नु पर्ने' उनले बताए।

राष्ट्रपति ट्रम्प उनकी पत्नी र सुरक्षा सल्लाहकार जोन बोल्टन अमेरिकी सैनिकहरूलाई भेट्न इराकको राजधानी बगदादको पश्चिममा रहेको अल असाद एयरबेसको एउटा रेस्टुरेन्टमा पुगेका थिए।

तस्वीर कपीराइट Reuters
Image caption 'मेक अमेरिका ग्रेट अगेन' लेखिएको टोपीमा हस्ताक्षर गर्दै ट्रम्प

उनीहरूलाई अमेरिकी सैनिकहरूले उभिएर सम्मान व्यक्त गरे।

आफ्नो राष्ट्रपतीय कालमा सो क्षेत्रमा पहिलोपटक पुगेका राष्ट्रपति ट्रम्पले सबैसँग भेट्दै, तस्बिर खिचाउँदै र अटोग्राफ दिँदै तीन घण्टा बिताए।

उनको सो भ्रमण इस्लामिक स्टेट समूहलाई हराउन अमेरिकी सैनिकहरूले गरेको सहयोगको लागि व्यक्तिगत रूपमा धन्यवाद दिन भएको राष्ट्रपति ट्रम्पले बताए।

सिरियाबाट फिर्ता हुने विषय किन विवादमा?

गतहप्ता ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता हुने निर्णय गरिएको घोषणा गरे।

तर उनको रिपब्लिकन दलका वरिष्ठ नेताहरू र अमेरिकासँग सहकार्य गर्दै आएका अन्य शक्तिराष्ट्रहरूले सिरियामा आईएस पराजित भइसकेको दाबीलाई पत्याएका छैनन्। उनीहरूले अमेरिकी सेना सिरियाबाट फिर्ता हुँदा त्यहाँ फेरि विद्रोह हुन सक्ने शङ्का व्यक्त गरेका छन्।

जनरल म्याटिसले आफ्नो राजीनामामा राष्ट्रपति ट्र्म्पको दृष्टिसँग आफू सहमत हुन नसकेको उल्लेख गरेका छन्।

केही समयअघि आईएसविरुद्धको युद्धमा भूमिका निर्वाह गरेका वरिष्ठ कूटनीतिज्ञ ब्रेट मिक्गर्कले पनि राजीनामा गरेका थिए।

उनले ट्रम्पको निर्णयले 'नीति उल्ट्याएको' र त्यसबाट 'गठबन्धनका साझेदारहरूलाई अलमलमा पारिदिएको एवम् लडाइँमा सहकार्य गरेकाहरूलाई किम्कर्तव्यविमूढ बनाइदिएको' भनेको बताइएको छ।

कुर्दहरूले नेतृत्व गरेको सिरिया डेमोक्रेटिक फोर्सेज नामक गठबन्धनले पनि आईएस ब्युँतिन सक्ने चेतावनी दिएको छ।

अमेरिकी सेनाले पूर्वोत्तर सिरियालाई सो जिहादी समूहबाट मुक्त पार्न सघाएको छ। तर त्यहाँ केही लडाकुहरू बाँकी छन्।