आफन्त युरोप अमेरिकामा, बृद्ध अशक्त शिविरमा

  • उमाकान्त खनाल
  • बीबीसी नेपाली सेवा
एक शरणार्थी महिला

पूर्वी नेपालका शिविरहरुमा रहेका भुटानी शरणार्थीमध्ये अशक्त, वृद्ध-वृद्धा तथा एकलै बस्नेहरुको जीवन यो हिउँदमा झनै कष्टकर बन्न पुगेको छ।

एक लाख १३ हजार भन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनर्स्थापना भएर बाँकी रहेका ६ हजार ६ सय ३४ शरणार्थीमध्ये ७ सय ३५ जना अपाङ्गता भएका, आफन्त नभएका, अशक्त तथा वृद्ध-वृद्धा रहेका छन्।

आफन्त तथा परिवारका सदस्यबाट टाढिएका यी वृद्ध-वृद्धा शरणार्थीको दिनचर्या निकै नाजुक अवस्थामा पुगेको छ। विदेश पुनर्स्थापित भएका आफन्तले खोजखबर समेत नगरेको गुनासो उनीहरु गर्छन्।

तिनैमध्ये केही प्रतिनिधिपात्रको छोटकरी कथा:

फूलमाया राई

जवानीमा आफ्नो देश भुटानबाट खेदिएपछि भारत हुँदै पूर्वी नेपाल आइपुगेकी फूलमायाको बिहे भएन।

कुनैबेला यही शिविरमा फूलमायाका आमा, बाबु, दिदी, दाजु, भाउजु सबै थिए।

ती सबै अमेरिका, अष्ट्रेलिया बसाइ सरे।

विरानो मुलुक जाँदा के हुने हो भन्ने अत्यासले उनलाई नेपाल छोड्न मन लागेन। उनले बरु नेपालमै मर्छु भनेर एक्लो जीवन रोजिन्।

उनीसँग फोन त छ तर अमेरिका, अष्ट्रेलिया पुगेका आफन्तको फोन आफूसँग नरहेको र उनीहरूलाई पनि आफ्नो फोन नम्बर नदिएको उनले बताइन्।

दाताको सहयोगमा जे मिलेको छ त्यसैले गुजारा गर्ने उनले भनिन्, 'मलाई धेरैले सोधे विदेश जान्छेस् भनेर। तर मैले मन गरिन। म त नेपालमै बस्छु भनेकी छु।'

विश्व खाद्य कार्यक्रमले शरणार्थीलाई दिँदै आएको सहयोग रोक्ने भनेको खबर पाएकी उनलाई अबका दिनमा कसरी बाँच्ने भन्ने चिन्ता लागेको छ।

शिविरमा एक्लै बस्दै आएकी फूलमाया जस्तै अकी कान्छीमाया लिम्बुले भनिन्, 'हाम्रो जीवन अब चाहिँ कष्टपूर्ण हुन्छ। कसरी बाँच्नु हो।'

उनीहरूका कोही आफन्त भुटानमैँ छन्। कोही तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम मार्फत अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न मुलुक पुगिसके।

कृष्णमाया खडका

बेल्डाँगी शरणार्थी शिविरमा पुग्दा एकजना राम्ररी बोल्न नसक्ने महिना खाना पकाउँदै गरेको अवस्थामा भेटिइन्। उनलाई आफ्नो नाम पनि थाहा रहेनछ। तर छिमेकीहरुले उनको नाम कृष्णमाया खड्का भन्दै थिए।

हेर्दा लाग्थ्यो उनले धेरैसम्म नुहाएकी छैनन्। उनको स्थिति हेर्दा उनको जीवन अत्यन्तै नाजुक अवस्थामा छ।

अपाङ्गता भएकी उनका श्रीमान दमको रोगी छन्।

छोराछोरी भएनन्।

मीठो मसिनो खाने इच्छा पुरा गर्न उनका श्रीमान बजारतिर जान्छन् र माग्न बस्छन्।

पूर्णबहादुर लिम्बु

उमेर हुन्जेल ८६ बर्षिय पूर्णबहादुर लिम्बुको जीवन पनि राम्रै चलेको थियो।

जब उनी बुढेसकालतर्फ लाग्दै गए। उनकी पत्नीको पनि ज्यान गयो। छोराको बिहे गरेको थिएन उनी पनि उहिल्यै छोडेर गइसके। उनको छोप्रोमा पुग्दा उनी त्यतिकै टोलाएर बसिरहेका भेटिए।

उनी सक्दा पकाउँछन् नसक्दा भोकै सुत्छन्।

राति पानी दिने मान्छे पनि हुँदैनन्।

लिम्बु भन्छन्, "एकलै बसेको छु। तीन छोरीहरु भुटानमै छन्। सक्दा खाना पकाएर खान्छु। नसकेका बेला त्यसै लडिरहन्छु।।"

दुईवटा विकल्प

शिविरमा रहनेहरू कति भुटान फर्कन चाहन्छन् भने कति नेपालमै बस्न इच्छा व्यक्त गरेका छन्। अब नेपालका लागि दुईवटा विकल्प मात्र रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।

उनले भने, 'भुटान फर्कन चाहनेका लागि भुटानसँग वार्ताको वातावरण बनाउने र नेपालमा बस्न चाहनेका लागि तत्कालका लागि विश्व खाद्य कार्यक्रमले दिँदै आएको सहयोगलाई निरन्तरताको प्रयास नै अबका विकल्प हुन्। यिनै विकल्पमा कुरा अगाडि बढेको छ।'

शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको नेपाल कार्यालयले नेपालमा बस्न चाहने र भुटान फर्कन चाहनेका लागि भनेर छुट्टै काम गरिरहेको युएनएचसीआरका नेपाल कार्यालयका सूचना अधिकारी दिपेशदास श्रेष्ठले बताए।

श्रेष्ठले भने, 'नेपालमा रहन चाहनेका लागि स्थानीय सरकारसँग मिलेर काम गरिरहेका छौं। सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शरणार्थीहरुको पहुँच बढाउने काम गरिरहेका छौँ। अनि भुटान फर्कन चाहनेहरुका लागि नेपाल र भुटान सरकारबीचको वार्ताका लागि सहजीकरणको प्रयास पनि भइरहेको छ।'

तर भुटान र नेपाल सरकारबीच वार्ता कहिले हुने भन्ने विषय निश्चित देखिन्छ।