“रेल पनि आउँछ, जहाज पनि चल्छ... स्टेशन, टिकट काउन्टर सबै खुल्छ”

  • 6 जनवरी 2019
प्रम तस्वीर कपीराइट PM Secretariat

सङ्घीय संसद्‌मा आइतवार बोल्दै प्रधानमन्त्री केपी ओलीले रेलमार्ग योजनादेखि सुरुङमार्ग र भूउपग्रहसम्मको विषयलाई आफ्नो सम्बोधनमा समेटेका छन्।

यी हुन् प्रधानमन्त्रीको सम्बोधनका प्रमुख बुँदाः

  • पछिल्लो अवधिमा मैले केही अनौठो व्यवहारको अनुभूति गरेको छु। 'सरकार के गर्दैछ, पत्तो भएन'भन्ने प्रश्न उठाइयो। के गर्दैछ भन्ने जवाफ दिन्छु।
  • मलाई कुनै तर्क र बहसमा रुचि छैन। गर्नु पनि छैन, गर्नुछ त मुलुकको विकास।
  • विदेशमा होइन स्वदेशमै रोजगारीको चाहनालाई भरथेग गरिएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको अवधिको तुलनामा यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ४१.२ प्रतिशतले घटेको छ।
  • जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म १७ हजार घर निर्माण भई हस्तान्तरण गरिसकिएको छ। हाल ३८ हजार ८ सय ८० वटा घर निर्माणाधीन अवस्थामा छन्।
  • सन् २०१८ को १० महिनामै गत आर्थिक वर्षको पूरा अवधिकै हाराहारीमा पर्यटक नेपाल भित्रिएका छन्।
  • नेपाल र भारतबीच ऊर्जा ब्याङ्किङसम्बन्धी निर्देशिकामा सहमति भएको छ।
  • यस आर्थिक वर्षभित्र निर्माणाधीन विभिन्न परियोजना सम्पन्न हुने र नयाँ योजनाहरूको शिलान्यास हुँदैछन्। तीमध्ये यही माघभित्र झन्डै छ दर्जन परियोजना केहीको उद्घाटन र केहीको शिलान्यास हुँदैछन्।
  • मैले स्मरण गरिरहेको छु कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याँकियो। रेलको चर्चा गर्दा रित्ता बाल्टिन लाइनमा राखी कुरा काटियो।
  • धैर्य गरौँ - रेल पनि आउँछ, जहाज पनि चल्छ। स्टेशन, टिकट काउन्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ।
  • केरुङ-काठमाण्डू रेलमार्ग चिनियाँ सहयोगमा पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ र यसको विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि सम्झौता हुँदैछ।
  • काठमाण्डू -पोखरा-लुम्बिनी रेलमार्ग चिनियाँ सहयोगमा पूर्वसम्भाव्यता अध्ययन गर्न समझदारी पत्रमा हस्ताक्षर हुँदैछ।
  • नेपाल पानीजहाज कार्यालय स्थापना र पानीजहाज रजिस्ट्रार नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको छ। नेपालमा जलमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ।
  • अपराध नियन्त्रणको सन्दर्भमा हाम्रो प्रहरी प्रशासनले ९६ प्रतिशत सफलता हासिल गरेको छ।
  • अन्यायमा परेका वा आपराधिक घटनाका सिकार भएका निर्मला वा अन्य छोरी चेलीहरूलाई न्याय सडकमा पोखिने अमर्यादित एवम् अराजक भिडले दिने होइन सरकारले दिन्छ।
  • गत लामो समयदेखि नेपालमा भइरहेको सुनको तस्करी, त्यसमा जोडिएको आपराधिक मनोवृत्ति र सङ्गठित अपराधको सञ्जाल ध्वस्त पार्ने कार्यमा राम्रो सफलता मिलेको छ।
  • विशेष अनुसन्धानको माध्यमबाट सुन तस्करीमा मुछिएका ७५ जना अभियुक्तमध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ। छत्तीस जना अभियुक्तहरूको चल अचल सम्पत्ति रोक्का गरिएको छ।
  • चर्चित ३३ किलो सुनकाण्डका केही आरोपित व्यक्तिसहित भारतीय राजस्व अनुसन्धान ब्यूरोको सहयोगमा हालै कोलकतामा ३३ किलो सुन समातिएको छ। त्यसमाथि थप अनुसन्धान भइरहेको छ।
  • प्रहरी तालिम केन्द्रसम्बन्धी निर्णय पनि आजको हैन, धेरै अघिको हो। त्यतिखेर स्थान अभावको दाबीसहित "मध्यसहरमा रहेको तालिम केन्द्र स्थानान्तरण गर्नुपर्ने" निर्णय गर्नेहरूबाटै अहिले अन्यथा टिप्पणी सुन्दा टिठ लाग्छ।
  • अहिले सबै सांसदलाई ठग, लुच्चा, तेलचोरका रूपमा चित्रित गर्दै, चालक तथा निजी सहयोगीको भत्ता समेत हसुर्ने जस्तो गरी प्रचारप्रसार भइरहेको छ। जानेर होस् वा नजानेर, यसरी भएको सांसदमाथिको हमला, व्यक्तिमाथिको हमला मात्रै होइन प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो, होस गरौँ।

सम्बन्धित सामग्री