मन्त्रीहरू किन रिसाउँछन् कर्मचारीसँग

  • 14 जनवरी 2019
विजयकुमार यादव र विद्यानाथ झा

आइतवार जनकपुरमा प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सो प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणसचिव विद्यानाथ झालाई कुटेको समाचारले यतिखेर नेपाली सञ्चारमाध्यममा चर्चा पाएको छ।

मन्त्री झाले सचिव झासँग 'भनाभन' मात्र भएको बताएका छन् भने सचिव झाले आफूलाई कार्यकक्षमै हातपात भएको दाबी गरेका छन्। सो घटनाबारे समाचार सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न एउटा छानबिन टोली गठन भएको छ।

प्रदेश नम्बर २ मा मन्त्री र कर्मचारीबीच यस्तो खालको तनाव पहिला पनि भएको बताइन्छ।

स्थानीय तहहरूमा पनि यस्तै प्रकृतिका विवाद भएका समाचारहरू बेलाबेलामा सार्वजनिक भइरहन्छन्।

आइतवार भएको भनिएको घटनाले सङ्घीयतालाई नै प्रभावित पार्ने हो कि भन्ने डर केहीमा देखिएको छ।

ट्विटरमा पूर्वसचिव मधुरमण आचार्यले सो घटनालाई अक्षम्य मानेका छन्।

सामाजिक सञ्जालमा कसैले सो घटनाको विरोध गरेका छन् भने केहीले त्यसप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

नेपालमा मन्त्री र कर्मचारी विवाद भएको र भौतिक आक्रमणकै घटना भएको यो घटना पहिलो भने होइन।

यसअघि पनि केही मन्त्रीहरूले उच्चपदस्थ कर्मचारीसँग दुर्व्यवहार गरेका घटना सार्वजनिक भएका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताले पुराना घटनाको पनि स्मरण गरेका छन्।

नेताहरूलाई थप्पड हानिएको प्रसङ्ग उल्लेख गर्दै ट्विटरमा प्रियदर्शन लेख्छन्, "...कुनै समयमा प्रचण्ड, झलनाथहरूले चड्कन खाएकै हुन् त त्यो भन्दा धेरै पहिले गोल्छे सार्कीले रामचन्द्र पौडेलको गाला तताएकै हुन् के अचम्म भयो र! संस्कारयुक्त राजनीतिक प्रयोग नभएसम्म यस्तै हो।"

करिमा बेगमको 'चड्कन' प्रकरण

सन् २००९ को नोभेम्बर महिनामा तत्कालीन कृषि तथा सहकारी सहायकमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई हातपात गरेकी थिइन्।

त्यस विषयमा उनले तत्कालीन प्रधानमन्त्री माधवकुमा र नेपालसमक्ष स्पष्टीकरण दिँदै आफूबाट कमजोरी भएको स्वीकारेकी थिइन्।

आफ्नो स्पष्टीकरणमा उनले आफूलाई थोत्रो गाडी पठाइदिएर प्रजिअले "अपमान गरेको" भन्दै आफू क्रुद्ध भएको बताएकी थिइन्।

तस्वीर कपीराइट Facebook/Karima Begam

उनले त्यतिबेला सञ्चारमाध्यममा भनेकी थिइन्, "मेरो आदेश नमानेको र मलाई सम्मान नगरेकोले मैले उहाँलाई 'चड्कन' हानेको हो।"

करिमा बेगमविरुद्ध मुद्दा दायर गरिएको थियो र सोको विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि पर्सामा सरकारी कामकाज ठप्प भएको थियो।

घटना भएको छ वर्षपछि पर्सा जिल्ला अदालतले करिमा बेगमलाई दोषी ठहर्‍याउँदै दुई हजार रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको थियो।

मातृका यादवले अधिकृतलाई शौचालयमा थुनेपछि…

तत्कालीन वन तथा भूसंरक्षण मन्त्री मातृका यादवले एक स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेलाई शौचालयमा थुनेपछि सन् २००८ को जुन महिनामा ठूलो विवाद सिर्जना भयो।

सो घटनापछि कर्मचारीहरूलाई नै आन्दोलित भए।

"गैरकानुनी रूपमा" राजधानी नजिकैको देवीचौर क्षेत्रमा ढुङ्गाखानी चलाउन अनुमति दिएको भन्दै क्रुद्ध बनेका यादवले ती अधिकारीलाई शौचालयमा थुनिदिएका थिए। मन्त्रीको कदमविरुद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरूले उनले "आपत्तिजनक र अमानवीय" काम गरेको बताएका थिए।

तस्वीर कपीराइट Facebook/Matrika Prasad Yadav

उनले ती अधिकारीलाई डेढ घण्टासम्म शौचालयमा थुनिदिएका थिए।

तर मन्त्री यादवले ती कर्मचारीलाई फोहर स्थानमा बस्दा कस्तो हुन्छ भनी पाठ सिकाउन आफूले त्यस्तो काम गरेको भन्दै "आफ्नो कदमको बचाउ" थिए।

मन्त्री यादवको कदमको विरोधमा देशभरिका ४,००० कर्मचारीहरू प्रदर्शनमा उत्रिएका थिए। उनको कदमको मन्त्रिपरिषद्‌मा पनि चर्को आलोचना भएको थियो।

यो पनि पढ्नुहोस्

किन हुन्छ मन्त्री र कर्मचारीबीच विवाद?

जानकारहरूका अनुसार मन्त्री र कर्मचारीहरूबीच हुने विवाद र द्वन्द्वका घटना फरक प्रकृतिका हुन्छन्।

कुनै घटनामा मन्त्रीको दोष हुने गर्छ भने कुनैमा कर्मचारीकै।

विज्ञहरूका विचारमा यस्ता घटना दोहोरिन नदिन दुवै पक्ष संयमित हुन आवश्यक हुन्छ।

नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीका विचारमा नेपाली समाजमा बढ्दो उच्छृङ्खलताका कारण यस्ता घटना दोहोरिएको हुन सक्छ।

उनले भने, "भय र अनुशासन गिर्दो छ। अब मर्यादा पनि क्षीण देखिन्छ। मर्यादा र अनुशासन नभई अनि अलिकति डर नभई चाहिँ राजकाज चल्दैन।"

सम्बन्धित सामग्री