भारतमा कुम्भ मेला: करोडौँ हिन्दू तीर्थयात्री व्यवस्थापन गर्ने चुनौतीहरू के के हुन्?

  • 14 जनवरी 2019
कुम्भ मेला तस्वीर कपीराइट Getty Images

भारतमा आयोजना हुने कुम्भ मेलालाई संसारकै सबैभन्दा ठूलो मेला मानिन्छ।

उत्तर प्रदेशको इलाहबाद अर्थात् प्रयागराजमा प्राचीन कालदेखि प्रत्येक १२-१२ वर्षमा आयोजना हुँदै आएको सो मेलामा यस वर्ष १२ करोड मानिसहरूले गङ्गा, जमुना र सरस्वती नदीको सङ्गममा स्थान गर्ने अनुमान गरिएको छ। पुराणहरूमा वर्णित सरस्वती नदी भने अहिले अस्तित्वमा छैन।

पवित्र नदीहरूको सङ्गममा स्थान गर्दा पाप मोचन हुने र मोक्ष प्राप्ति हुने विश्वास हिन्दू धर्मावलम्बीहरूको छ। प्रयागराजलाई पौराणिक समयदेखि नै ठूलो तीर्थ मानिँदै आएको छ।

मकर अर्थात् माघे सङ्क्रान्तिका दिन मङ्गलवार औपचारिक रूपमा सुरु हुने सो मेलामा डेढदेखि दुई करोड तीर्थालुहरू आउने र त्यसका लागि सबै तयारी गरिएको मेला व्यवस्थापकहरूले बताएका छन्।

तर फ्रेब्रुअरी ४ का दिनलाई सो सङ्गममा स्नान गर्ने सबैभन्दा उत्तम दिन मानिएको छ। सो दिन मात्र तीन करोड तीर्थालुहरू आउने अपेक्षा गरिएको छ।

आयोजकहरूका लागि सो दिनको व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुनेछ।

तस्वीर कपीराइट Getty Images

मेलाको व्यवस्थापन कसरी हुँदैछ?

मेला भर्न आउनेहरूलाई बस्नका नदीको किनारमा पाल टाँगेर एउटा विशाल सुविधासम्पन्न नगर स्थापना गरिएको छ।

"हामी एक वर्षभन्दा लामो समयदेखि यहाँ काम गरिरहेका छौँ," आयोजकमध्येका एक उच्च अधिकारी राजीव रायले बताए।

मेला आयोजनाका लागि २८ अर्ब भारतीय रुपैयाँ खर्च गरिँदैछ।

तस्वीर कपीराइट Getty Images

मेलाका लागि अलाहबादमा गत वर्षदेखि नयाँ संरचनाहरूको निर्माणले तीव्रता पाएको छ।

भारतको राजधानी दिल्लीबाट एक घण्टाभन्दा कम समयमै मेला स्थलमा पुग्न सकिने गरी नयाँ विमानस्थल समेत निर्माण गरिएको छ।

अलाहबादका सडकहरूलाई फराकिलो बनाइएको छ। तीन सय किलोमिटर नयाँ सडक पनि बनाइको छ।

पाँच लाखभन्दा बढी गाडीहरू रोक्न मिल्नेगरी ठूला पार्किङ क्षेत्रहरूको निर्माण भएका छन्। सयौँ नयाँ रेल सेवाहरूको घोषणा गरिएको छ।

एक दिनमा ३५ लाख तीर्थालुले रेलबाट यात्रा गर्ने अपेक्षा रहेको रेलवे सेवाका प्रवक्ता अमित मालवीयले बताए।

भित्रबाहिर गर्ने द्वारमा कडाइका साथ नियन्त्रण गरिने बताइएको छ। त्यसका लागि पाँच हजार अरू कर्मचारीहरू अन्यत्रबाट व्यवस्था गरिएको बताइएको छ।

सुरक्षा र खानपिनको व्यवस्था

मेलाको थप व्यवस्थापनको लागि ३० हजारभन्दा बढी प्रहरीहरू खटाइएका सकिएको बताइएको छ।

तस्वीर कपीराइट ANKIT SRINIVAS

एक हजारवटा सीसीटीभी क्यामेरामार्फत् तीर्थालुहरूको भिड निगरानी गर्ने र आवश्यक परे भिडलाई अन्यत्रै मोड्ने योजना रहेको आयोजकले बताएको छ।

मेला भर्न आउनेहरूका लागि खानेबस्नेको व्यवस्था गरिएको छ। पाँचवटा ठूला अन्नभण्डारहरू र एक सय साठी सुपथ मूल्यका पसलहरू सञ्चालन गरिएका छन्।

डेढ लाख रासन कार्डहरू वितरण गरिएका छन्।

स्वच्छ खानेपानीको लागि मेला क्षेत्रमा १६० वटा डिस्पेन्सरहरू स्थापना गरिएका छन्।

तस्वीर कपीराइट ANKIT SRINIVAS

स्वास्थ्य र सरसफाइ

मेला भर्न आएका कोही बिरामी वा घाइते भए उनीहरूको औषधोपचारका लागि सय शय्याको केन्द्रीय अस्पताल र १० साना अस्पतालहरू गत डिसेम्बर १ देखि सञ्चालनमा ल्याइएका छन्।

एक सय ९३ जना चिकित्सक, १५ सयभन्दा बढी पारामेडिकल र ८० जना आयुर्वेद चिकित्सकहरूसमेत मेला स्थलमा उपस्थित छन्।

फोहर व्यवस्थापनका लागि कुम्भ मेलामा आउने करोडौँ तीर्थयात्रीहरूका लागि एक लाख २२ हजार शौचालय निर्माण गरिएको छ।

बीस हजार फोहर सङ्कलन गर्ने भाँडाहरू राखिएका छन् भने २२ हजार सरसफाइ कामदारहरू मेला क्षेत्रको सफाइका लागि व्यवस्था गरिएका छन्।

तस्वीर कपीराइट ANKIT SRINIVAS

कुम्भ मेलाका विशेषता

  • पवित्र नदीहरू गङ्गा, यमुना र पौराणिक सरस्वतीको सङ्गममा हिन्दुहरूको भेला हुनेछ
  • यस वर्ष आयोजना सात हप्ताको मेलामा १२ करोड तीर्थयात्रीहरू आउने अपेक्षा गरिएको छ। यो मेला गत वर्ष साउदी अरेबियामा आयोजित विशाल हज तीर्थभन्दा ठूलो हुनेछ
  • ज्योतिषशास्त्रअनुसार १२ वर्षपछि आयोजित यो मेलाको मिति, अवधि र स्थान तोकिएको छ
  • १४४ वर्षपछि अलाहबादमा सन् २०१३ मा आयोजित पूर्ण कुम्भ मेलामा १० करोड तीर्थयात्रीहरू पुगेका थिए
  • सन् १९४६ मा स्थापना भएको हराएको र भेटिएको शिविरले त्यति बेलादेखिनै मेलामा छुटेका परिवारका सदस्य तथा साथीहरूलाई पुनर्मिलन गराउँदै आएको छ

यो पनि पढ्नुहोस्

सम्बन्धित सामग्री