मन्त्री र सचिवबीच कुटपिट: अझै गहिरियो विवाद

  • 14 जनवरी 2019
मारपिटको साङ्केतिक तस्विर।

प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव विद्यानाथ झाबीचको विवादले झन् चर्को रूप लिएको छ।

आइतवार मन्त्री यादवले आफूलाई उनको कार्यकक्षमै कुटेको दाबी झाले गर्दै आएका छन्।

उनीहरूले एकअर्कालाई 'मानसिक उपचार'गर्नुपर्ने भन्ने टिप्पणी पनि गरेका छन्।

सोमवार बीबीसी नेपाली सेवासँग कुरा गर्दै मन्त्री यादवले 'मानसिक समस्या' भएकाहरूको उपचार सरकारले गर्नुपर्ने र आफूले झाको उपचार गर्न प्रदेशका मुख्यमन्त्री र प्रदेश मुख्यसचिवलाई भनेको जानकारी दिए।

'सभामुख लगायतका माननीयहरूसँग छलफल चलिरहेको बेला सचिव आउनुभयो। बैठक चलिरेका कारण मैले उहाँलाई पछि आउन भनेँ। १० मिनेटपछि उहाँ फेरि आउनुभयो र एक्कासी आवेगमा आउनुभयो,' यादवले भने। 'उहाँको प्रवृत्ति, हाउभाउ हेर्दा मानसिक असन्तुलन भए जस्तो लाग्यो।'

मन्त्रीहरू किन रिसाउँछन् कर्मचारीसँग

यादवको भनाइको प्रतिउत्तर दिँदै सचिव झाले के भएको हो भन्ने विषयमा पटक पटक आफ्नो कुरा यादवले फेर्दै आएको, त्यसले नै उनको मानसिक अवस्थितिको वर्णन गरेको जानकारी दिए।

'उहाँले विभिन्न ठाउँमा भनेको कुरा हेर्नुहोस्। मेरो हैन उहाँको मानसिक अवस्थामा समस्या छ,' झाले भने।

यस्ता किसिमका घटना पहिले नभएको भने होइन।

यसअघि पनि तत्कालीन कृषि तथा सहकारी सहायकमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई हातपात गरेकी थिइन्।

त्यस्तै तत्कालीन वन तथा भूसंरक्षणमन्त्री मातृका यादवले एक स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेलाई शौचालयमा थुनेपछि सन् २००८ को जुन महिनामा ठूलो विवाद सिर्जना भएको थियो।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार