राष्ट्रसङ्घीय सर्वेक्षण: एकतिहाइ कर्मचारी यौन दुर्व्यवहारको सिकार

  • 17 जनवरी 2019
राष्ट्रसंघ तस्वीर कपीराइट Getty Images

संयुक्त राष्ट्रसङ्घमा काम गर्ने प्रत्येक तीनमध्ये एक कर्मचारीले गत दुई वर्षभित्र यौन दुर्व्यवहार भोगेको एक प्रतिवेदनले उजागर गरेको छ।

नोभेम्बरमा गरिएको उक्त सर्वेक्षणमा ३०,३६४ कर्मचारी तथा ठेकेदारहरूले भाग लिएका थिए। उक्त सङ्ख्या सर्वेक्षणमा भाग लिन योग्य कुल सङ्ख्याको १७ प्रतिशत हो।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजले प्रतिवेदन तथा त्यसमा सहभागी हुन चाहनेको थोरै सङ्ख्याले उक्त संस्थाभित्र अझै धेरै सुधार गर्न बाँकी रहेको देखाएको प्रतिक्रिया दिएका छन्।

यौन दुर्व्यवहार तथा आक्रमणविरुद्ध संसारभरि मीटू अभियान चलिरहेका बेला उक्त सर्वेक्षण प्रतिवेदन आएको छ।

सो सर्वेक्षणमा तुलनात्मक रूपमा थोरै सहभागी हुनुको अर्थ राष्ट्रसङ्घभित्र 'जारी अविश्वासको भावना, कुनै कारबाही नहुने आशङ्का तथा जवाफदेहीपनको अभाव' रहेको उनले बताए।

"समानता, मर्यादा तथा मानव अधिकारको जगमा उभिएको हाम्रो जस्तो संस्थाले उदाहरण प्रस्तुत गरेर अगुवाइ गर्नुपर्छ," उनले भने।

के भन्छ प्रतिवेदन?

डेलोइटले तयार पारेको सो प्रतिवेदन अनुसार यौन दुर्व्यवहारको सिकार भएको बताउनेहरूमध्ये आधाभन्दा धेरैले त्यस्तो घटना कार्यालयकै वातावरणमा भएको बताए भने १७.१ प्रतिशतले चाहिँ कार्यालयसम्बन्धी सामाजिक समारोहमा भएको बताए।

बीस प्रतिशतभन्दा धेरैले चाहिँ उनीहरूलाई अनुचित लाग्ने यौनसम्बन्धी कथा वा चुट्किला सुनाइएको बताए।

अन्य १४.२ प्रतिशतले उनीहरूको पहिरन वा शरीर वा यौन क्रियाकलापबारे अनुचित टिप्पणी गरिएको बताए। तेह्र प्रतिशतले चाहिँ उनीहरूलाई असहज लाग्ने गरि यौनसम्बन्धी कुराकानीमा सहभागी गराइएको बताए।

दश प्रतिशत सहभागीले आफूहरूलाई यौनिक सङ्केत गरिएको जसले लाज अनुभव गराएको बताए।

त्यत्तिकै सङ्ख्यामा सहभागीले अनुचित स्पर्श गरिएको जनाए।

दुर्व्यवहार गर्नेहरूमध्ये दुईतिहाइ पुरुष भएको उल्लेख गरिएको छ।

अनि दुर्व्यवहार भोग्नेमध्ये केवल एकतिहाइले त्यसपछि कुनै कारबाहीका लागि प्रयत्न गरे।

शान्तिसेनाबारे आरोप

गत केही वर्ष यता राष्ट्रसङ्घको खासगरी अफ्रिकी मुलुकहरूमा रहेका शान्तिसेनाका मिसनहरूविरुद्ध यौन दुर्व्यवहारका शृङ्खलाबद्ध आरोप लागेका छन्।

सन् २०१७ मा डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा एक शान्तिसैनिकले कम उमेरकी किशोरीसँग सम्बन्ध राखेर बच्चा जन्मिएको भेटिएपछि उनलाई निलम्बन गरिएको थियो।

उक्त वर्षको पहिलो तीन महिनामा यौन दुर्व्यवहार र शोषणको आरोप लागेका पाँच शान्तिसैनिकमध्ये उनी एक थिए।

त्यो भन्दा अघिल्लो वर्ष सन् २०१६ मा एक सयभन्दा धेरै शान्ति सैनिकलाई सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट घर फर्काइएको थियो। उनीहरूविरुद्ध यौनशोषणका आरोप लागेका थिए।

यी घटनाका प्रतिक्रियास्वरूप संयुक्त राष्ट्रसङ्घले पारदर्शिता एवम् आरोपहरूबारे उसले चाल्ने कदमलाई सशक्त पार्ने प्रयास गरेको छ।

उदाहरणका लागि दुर्व्यवहारका आरोप लागेका कर्मचारीको देशको नाम सार्वजनिक गरिदिने नीति उसले अख्तियार गरेको छ।