१० वर्ष एक्लै रहेपछि यो दुर्लभ जातको भ्यागुतोले यसरी पोथी भेट्टायो

  • 29 जनवरी 2019
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
रोमियो र जुलियट

आफ्नो प्रजातिको अन्तिम मानिएको एउटा भ्यागुतोले अब एक्लोपनबाट मुक्ति पाउने भएको छ।

बोलिभियामा भेटिएको रोमियो नामक सो भ्यागुतोलाई १० वर्ष एउटा अक्वेरियममा एक्लै राखिएको थियो। उसलाई संसारको सबैभन्दा एक्लो भ्यागुतो मानिएको थियो।

वैज्ञानिकहरूले बोलिभियाको दुर्गम जङ्गलको यात्रा गर्दा उसका लागि सोही प्रजातिकी पोथी भ्यागुतो फेला पारे। उसको नाम जुलियट राखिएको छ।

ती दुर्लभ भ्यागुताको प्रजनन गराउने र पुन: प्राकृतिक वासस्थानमा छोड्ने उद्देश्य राखेर उनीहरूले एउटा खोलाबाट पाँचवटा 'सेह्वन्कास वाटर फ्रग' समाते।

टेरेसा कामाचो बाडानी कोचाबाम्बा सिटीस्थित प्राकृतिक सङ्ग्रहालयसँग आबद्ध छिन्। उनले सो टोलीको नेतृत्व गरेकी थिइन्।

तस्वीर कपीराइट Robin Moore, Global Wildlife Conservation
Image caption जुलियट: सेह्वन्कास जातकी पोथी भ्यागुतो हो

भाले र पोथी भ्यागुताहरू पनि एकअर्काप्रति आकर्षित हुने उनको विश्वास छ।

बीबीसीसँग कुराकानी गर्दै उनी भन्छिन्, " रोमियो शान्त स्वाभावको छ र खासै हिँडडुल गर्दैन।"

"ऊ स्वस्थ छ र खान मन पराउँछ। तर ऊ अलि लज्जालु र ढिलो छ।"

तर जुलियटको स्वभाव रोमियोको भन्दा भिन्न छ।

"ऊ फुर्तिली छे र धेरै पौडी खेल्छे। ऊ धेरै खान्छे र कहिलेकाहीँ भाग्न खोज्छे।"

जङ्गलमा भेटिएका भ्यागुतामा तीनवटा भाले र दुईवटा पोथी छन्। एक दशकपछि प्राकृतिक वासस्थानमा सेह्वान्कास जातका भ्यागुता भेटिएको यो पहिलो चोटि हो।

सो प्रजाति सङ्कटमा परेको आकलन गर्दै जीवशास्त्रीहरूले रोमियोलाई १० वर्षअघि समातेका थिए। तर उसले यति लामो समय एक्लै बस्नुपर्ला भन्ने उनीहरूलाई लागेको थिएन।

पोहोर उसका लागि पोथी खोज्न थालिएपछि रोमियोको चर्चा संसारभरि भयो।

समातिएका भ्यागुताहरूलाई सङ्ग्रहालयको संरक्षण केन्द्रमा राखिएको छ। त्यहाँ सो प्रजातिलाई लोप हुन नदिन काम हुँदैछ।

तस्वीर कपीराइट Robin Moore, Global Wildlife Conservation
Image caption जुलियटलाई हातमा लिँदै टरेजा कामाको बाडानी

सेह्वन्कास वाटर फ्रगबारे

  • पानीमा बस्ने यो प्रजातिको भ्यागुताको वैज्ञानिक नाम 'टेल्माटोबियस युराकेअर' हो।
  • बोलिभियाको पहाडी क्षेत्रको जङ्गलमा खोल्सा, खोला र पोखरीमा पाइन्थे
  • बोलिभिया, इक्वेडर र पेरूमा पानीमा बस्ने भ्यागुताहरू तीव्र गतिमा घट्दैछन्
  • जलवायु परिवर्तन, वासस्थानको विनाश र मिचाहा जातको ट्राउट माछाका कारण भ्यागुताहरू सङ्कटमा परेका छन्

यो पनि पढ्नुहोस्