पारमाणविक विधेयक: बन्दैछ नेपालमा पनि नयाँ कानुन, आवश्यकताका कारण यस्ता

  • 1 जुलाई 2019
आणविक भट्टी तस्वीर कपीराइट Getty Images

नेपाल सरकारको तर्फबाट शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केही महिनाअघि संसद्को तल्लो सदन प्रतिनिधिसभामा 'पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' दर्ता गरेका थिए।

'पारमाणविक पदार्थ र आयनीकृत विकिरणको सुरक्षित र शान्तिपूर्ण प्रयोग, रेडियोधर्मी स्रोतहरूको सुरक्षा र संरक्षण, पारमाणविक पदार्थ, रेडियोधर्मी पदार्थ तथा संयन्त्रको अनधिकृत प्रयोग हुनबाट बचाई आयनीकृत विकिरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट जीउधनको सुरक्षा र वातावरण संरक्षण गर्न' सो कानुन बनाउन लागिएको विधेयकमा उल्लेख छ।

संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिमा सो विधेयकबारे छलफल पनि भयो। छलफलमा सांसद्हरूले पारमाणविक पदार्थ संवेदनशील विषय भएकोले त्यसबारे नेपालले अहिल्यै सोच्नुपर्ने सुझाव दिएका छन्।

यसै विधेयकको सेरोफेरोमा बीबीसी नेपाली सेवाले राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक डा. बुद्धराम साहसँग गरेको कुराकानीको आधारमा यो सामग्री तयार पारिएको।

पारमाणविक तथा रेडियोधर्मी पदार्थ के हो?

विकिरण निकाल्ने पदार्थ वा यन्त्र नै पारमाणविक तथा रेडियोधर्मी पदार्थ हुन्।

युरेनियम भनिने प्राकृतिक पदार्थ वा त्यसको मिश्रण भएका पदार्थ नै पारमाणविक पदार्थ हुन्। तिनले अविच्छिन्न रूपमा विकिरण उत्पादन गरिरहेका हुन्छन्।

रेडियोधर्मी स्रोत भनेको स्वास्थ्यक्षेत्रमा प्रयोग हुने एक्सरे वा क्यान्सर उपचारका लागि विकिरण उत्पादन गर्ने मशिनहरू हुन्।

नेपालमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग हुन्छ?

नेपालमा एक्सरे मशिन सन् १९२३ मा नै आएको देखिन्छ।

त्यसयता नेपालमा स्वास्थ्य र अन्य क्षेत्रमा व्यापक रूपमा प्रयोग भएको देखिन्छ। तर पारमाणविक पदार्थ र रेडियोधर्मी स्रोतहरू कहाँ कति छन् भन्ने तथ्याङ्क छैन।

विकिरणको व्यापाक प्रयोग भइरहेको छ।

पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग के केमा हुन्छ?

पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग व्यापक छ।

कृषिमा बीउबिजनलाई सुधारेर उत्पादक बढाउन प्रयोग गर्न सकिन्छ। खाद्यपदार्थलाई लामो समयसम्म नकुहिने बनाउन सकिन्छ।

स्वास्थ्यमा रोग पहिचान र निदानमा यो वरदान नै सिद्ध भएको छ। जमिनमुनि पानीको स्रोत पत्ता लगाउन र पानीको शुद्धीकरणका लागि पनि प्रयोग हुन्छ।

तस्वीर कपीराइट Rss

पारमाणविक तथा रेडियोधर्मी पदार्थका खतरा के के हुन्?

सही प्रयोगले यो वरदान हुन्छ भने सही प्रयोग गर्न सकिएन भने यसले विनाश निम्त्याउँछ।

पारमाणविक तथा रेडियोधर्मी पदार्थका विकिरणले क्यान्सरको उपचार पनि गर्न सक्छ र यसले क्यान्सरको खतरा पनि पैदा गर्न सक्छ।

यसको प्रयोग बमजस्ता हतियार बनाउन पनि प्रयोग हुन्छ। पारमाणविक तथा रेडियोधर्मी पदार्थलाई 'डर्टी बम' भनिन्छ।

यो सानो हुने भएकोले कसैले निकालेर मानिसहरूको भिडमा राखिदियो भने यसले नराम्रो असर गर्छ। विकिरण गन्धविहीन हुन्छ र देखिँदैन। यसको असर तुरुन्तै नदेखिने भएकाले यसले थाहै नपाई जनमानसमा खतरा बनाइरहेको हुनसक्छ।

पारमाणविक तथा रेडियोधर्मी पदार्थका सुरक्षित विसर्जन कसरी हुन्छ?

सुरक्षित विसर्जन भनेको रेडियोधर्मी पदार्थको विकिरण फाल्ने समय नसकिएसम्म सुरक्षित विकिरण बाहिर नजानेगरी राख्नु हो।

कुनै एउटा रेडियोधर्मी स्रोतको १० वर्ष जीवन छ भने त्यसले लगभग ५० वर्ष विकिरण फालिरहको हुन्छ। यसका विभिन्न तरिका हुन्छन्।

रेडियोधर्मी स्रोत आयात गर्दाखेरि नै सम्झौतामा यसको विसर्जनको बुँदा हुन्छ। धेरैजस्तो अवस्थामा निर्माता कम्पनीहरूले फिर्ता लगेर सुरक्षित विसर्जन गर्छन्।

नेपालमा भइरहेको तरिका भनेको जमिनमुनि गाड्ने हो। यो पूरै सुरक्षित छैन, तर सम्पूर्ण निर्देशन पालना गर्दा सुरक्षित हुनसक्छ।

यो पनि पढ्नुहोस्

नेपालमा यससम्बन्धी कानुन किन आवश्यक भयो?

पारमाणविक पदार्थ र रेडियोधर्मी स्रोतका सम्बन्धमा तथ्याङ्क राख्न र यसलाई व्यवस्थित प्रयोगका सम्बन्धमा नियमन गर्न एउटा कुनै प्रकारको संस्था आवश्यकता पर्छ।

तर कानुनको अभावमा नियामक संस्था सम्भव थिएन। सन् २००८ मा इन्टर्न्याश्नल अटोमिक एनर्जी एजेन्सी (आईएईए)को सदस्यहुने बित्तिकै यससम्बन्धी कानुन आवश्यक भयो।

कानुन नहुँदा नेपालले के गर्न सकेको छैन?

कानुन नहुँदा पारमाणविक पदार्थ प्रयोग हुनसक्ने ठाँउमा पनि प्रयोग गर्न सकिएको छैन।

कानुन भए नेपालले अध्ययन अनुसन्धानका लागि प्रयोगशाला निर्माण गर्न सकिन्छ।

अहिले तत्काल पारमाणविक ऊर्जा उत्पादन सम्भव नभए पनि त्यो बाटोमा लाग्न आवश्यक जग निर्माण गर्दै जान सकिन्छ।

स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने थोरै विकिरण निकाल्ने सामाग्रीहरू यहीँ उत्पादन गर्न सकिन्छ।