प्रधानमन्त्री केपी ओलीले संसद्‌मा दिएको उत्तरका पाँच प्रमुख विषय

  • 18 जनवरी 2019
ओली तस्वीर कपीराइट RSS

शुक्रवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको प्रत्यक्ष उत्तर दिन उपस्थित प्रधानमन्त्री केपी ओलीले थुप्रै पेचिला प्रश्नको सामना गरे।

केही दिनअघि प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको थियो।

प्रधानमन्त्रीले उत्तर नदिएसम्म संसद् चल्न नदिने उसको अडान थियो।

उनले दिएका उत्तरका प्रमुख बुँदा यस्ता छन्।

डाक्टर गोविन्द केसीबारे

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले केसीसँग भएको सहमतिको ९०-९५ प्रतिशतसम्म माग पूरा भइसकेको 'रकमी कुरा' गरेको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।

तस्वीर कपीराइट RSS

ओलीले भने, "सरकार त्यस सम्झौताप्रति प्रतिबद्ध छ। मेरो आग्रह छ सरकारको सम्झौता बमोजिम संसद्ले (कानुन) पारित गरिदेओस्। तर म संसद्लाई आदेश दिन सक्दिनँ।"

डाक्टर केसीतर्फ इङ्गित गर्दै उनले विधिविधान र तौरतरिकाभन्दा बाहिर गएर 'म जे भन्छु त्यही हुनुपर्छ' भन्न नमिल्ने बताए।

चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै केसी १६ औँ चोटि अनशनमा बसेका थिए।

तर स्वास्थ्यस्थिति बिग्रिएपछि उनलाई इलामबाट हेलिकप्टरमा काठमाण्डू ल्याइएको छ।

डाभोस भ्रमण

स्विट्जर्ल्यान्डको डाभोसमा हुने वार्षिक विश्व आर्थिक मञ्चको भेलामा पहिलो पटक नेपालाई निम्त्याइएको छ। त्यसका लागि प्रधानमन्त्री ‌ओली आइतवार साँझ त्यसतर्फ जाँदै छन्।

त्यसै प्रसङ्गमा उनलाई केही सांसदहरू त्यहाँ गएर के हुन्छ भन्ने प्रश्न सोधेका थिए।

ओलीले डाभोसको निम्तोलाई नेपालले हासिल गरेका प्रगतिप्रति संसारको चासोका रूप अर्थ्याए।

"पहिलोपल्ट डाभोसमा गएर नेपालको इज्जत बढाउने र नेपालप्रति सहयोगात्मक भावना बढाउने काम हुनेछ। यो कुनै सहमति गर्ने मञ्च होइन। पछि प्रतिफल दिने मञ्च हो।"

नेपालीक्स

हालै खोज पत्रकारिता केन्द्र (खोपके) को टोलीले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र 'दि इन्टर्न्याश्नल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस्' (आईसीआईजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजबिनमार्फत् केही नेपाली नागरिकहरूले ५० अर्ब रुपैयाँ भन्दा धेरै स्विटजर्ल्यान्डको ब्याङ्कमा राखेको पाइएको विवरण सार्वजनिक गरेको थियो।

तस्वीर कपीराइट RSS

त्यसलाई उसले 'नेपालीक्स' भनेको छ।

त्यसै सन्दर्भमा संसद्मा उठाइएका प्रश्नको उत्तर दिँदै ओलीले सत्यतथ्य छानबिन गर्ने बताए।

"उपयुक्त विधि र माध्यमबाट आवश्यक खोजतलास हुनेछ।"

रेलवेजलमार्ग

प्रधानमन्त्री केपी ओलीले नेपालमा जलमार्ग र रेलमार्गको विकास अघि बढिरहेको दाबी गरे।

कोलकाता बन्दरगाह पुग्न एक डेढ सय किलोमिटरमात्र बाँकी हुनेगरी जलमार्गको विकास हुने उनले बताए।

साथै उनले पूर्वपश्चिम रेलमार्गका लागि विश्वब्याङ्क तथा एशियाली विकास ब्याङ्कसँग कुराकानी भइरहेको बताए। त्यसका लागि सर्भे तथा लागत अनुमानका काम भइरहेको उनले बताए।

यो पनि पढ्नुहोस्

वीरगन्ज-काठमाण्डू रेलमार्गबारे भारत सरकार र केरुङ-काठमाण्डू रेलमार्गका लागि चीनसँग काम अघि बढिरहेको उनले बताए।

"यी विषय हामीले यत्तिकै भनेका छैनौँ। उपलब्धिपूर्ण ढङ्गले देश अघि बढाउने उद्देश्यका साथ भनेका छौँ।"

संविधान संशोधन

खासगरी तराई-मधेशको माग पूरा गर्नाका लागि संविधानको संशोधनबारे सरकारको धारणाबारे उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले सो विषय आवश्यकता र औचित्यको आधारमा अघि बढ्ने बताए।

"यो विषय अन्धाधुन्ध रूपमा स्वीकार वा अस्वीकार गर्ने विषय होइन। संविधान धर्मशास्त्र पनि होइन।"

"कहिलेकहिले सुनिन्छ जनमतका पनि संविधान संशोधनका कुरा निकाल्ने गरिन्छ। तर त्योभन्दा गम्भीर ढङ्गले राष्ट्रिय हित र आवश्यकतालाई सर्वोपरि राख्ने गरि यो विषयलाई लिनु पर्छ।"

सम्बन्धित समाचार