बोएर जातको बाख्रा पालेर करोडौँ रुपैयाँ आम्दानी कसरी सम्भव भयो

  • 23 जनवरी 2019
बोएर बाख्रा तस्वीर कपीराइट Khadka/Facebook

उनी निर्माण व्यवसायी थिए, तर त्यसमा 'धेरै झमेला' सहेपछि उनले विदेशबाट उन्नत जातका बाख्रा नेपाल भित्र्याउने निधो गरे। उनले दक्षिण अफ्रिकाको आउड्शोर्न नगरबाट विश्वविख्यात बोएर जातका बाख्रा मगाए। चार वर्षअघि एग्रो उद्योग सुरु गरे।

दक्षिण अफ्रिकाबाट हङकङ हुँदै विमानमार्फत् बोएरका पाठापाठी नेपाल भित्रिने क्रम सुरु भयो। पहिलो पटक १३ वटा भित्रिए। अर्को वर्ष उसैगरी ५० वटा ल्याए। अर्को वर्ष अर्को ५० थपे। करिब दुई करोड ५० लाख रुपैयाँ लगानी गरेर बोएरको सङ्ख्या ११३ पुर्‍याए।

उद्देश्य पाठापाठी उत्पादन र नेपालभरि बोएरको विस्तार भएकोले उनले १०१ पाठी र १२ बोका भित्र्याए। त्यसयता योगेन्द्रबहादुर खड्काको एग्रो फार्ममा बोएरका पाठापाठी उत्पादनको क्रम तीव्र भएको छ।

बोएरको विशषेता नै हो छिटो छिटो बढ्नु र हुर्कनु।

जब बोएर बाख्राको खबर फैलियो...

त्यो खबर 'एक कान, दुई कान मैदान' भएपछि उनको फार्ममा बोएरका पाठापाठी किन्ने किसान र व्यवसायीको भिड बढिरहेको छ। त्यसैले उनले मुनाफा लिन पनि थालिसके।

उनले बीबीसी नेपाली सेवासँग भने, "पोहोर साल दुई करोड रुपैयाँको पाठापाठी बेचेँ यसपालि तीन करोडको बेच्ने योजना छ।" नाफा नहोस् पनि कसरी? आकार र तौल हेरेर एउटा पाठा वा पाठीलाई आगन्तुकहरूले ३० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म तिर्ने गरेको उनको भनाइ छ।

उनको एग्रो फार्म चितवन राष्ट्रिय निकुञ्ज नजिकैको हरियालीयुक्त क्षेत्रमा फैलिएको छ। त्यहाँ बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीहरूको भिड बढिरहेको हुन्छ।

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकहरू पनि त्यो फार्ममा पुग्ने गरेका छन्।

तस्वीर कपीराइट Khadka/Facebook

नेपालमा दशैँ पर्वमा समेत खसी तथा बोका अपुग भई छिमेकी भारत वा चीनबाट किन्नु पर्ने अवस्था आइसकेको अधिकारीहरू बताउँछन्। यस्तो बेला जगतपुर एग्रो फार्ममा पाठापाठी किन्न आउनेहरूको उद्देश्य एउटै हुन्छ: पाठा वा पाठी किन्ने, पाल्ने र मासुको लागि खसीबोकाको उत्पादन गर्ने र मुनाफा कमाउने।

बोएर बाख्रा कस्तो हुन्छ?

बोएर जातका बाख्रा दक्षिण अफ्रिकामा पाइन्छ। बोएर बाख्रा वा बोका हेर्दै बलियो र खँदिलो मासु भएको हुन्छ। प्राय सेतो वा खैरो वा दुवै रङ्ग मिसिएको बोएर बाख्राले धेरै थरि रोग प्रतिरोध गर्न सक्षम हुन्छन्।

त्योभन्दा पनि चाख लाग्दो कुरा यो हो: बोएरको पाठा पाठी एकदमै छिटो बढ्छन्।

बोएर बाख्राको तौल ९० दिनमै ३६ किलोग्रामसम्म पुग्दछ।

अमेरिकाको टेक्सास र विभिन्न पश्चिमा देशहरूमा बोएर बोका यदाकदा विभिन्न खेल वा प्रदर्शनीको लागि पाल्ने गरिएको पाइन्छ। तर जताततै बोएर खसी, बोका र मासुको लागि प्रख्यात छ।

जगतपुर फार्मबाट मासुका लागि खसी, बोका उत्पादन भइसकेको छैन। नेपालमा पनि शुद्ध बोएरको मासु अझै सहजै उपलब्ध छैन। तर अफ्रिका र अमेरिकातिर मासुका पारखीहरूले बोएरको मासु खोजी खोजी खाने गरेको जानकारहरू बताउँछन्।

किन थाले योगेन्द्रले बोएर उत्पादन व्यवसाय?

उनी देशबाट युवाहरू विदेश पलायन हुने क्रम नरोकिएकोमा साह्रै खिन्न थिए। म्याग्दीमा जन्मिएका तर अहिले चितवनलाई कर्मथलो बनाएका खड्काले निर्माण व्यवसाय त्याग्ने र जगतपुर वरपर कतै कृषि कर्ममा लाग्ने सोचविचार गरे। कृषिबाटै देशमा उन्नति प्रगति हुने कुरामा उनी ढुक्क भए।

उनले भने, "युवाहरू महिनामा २०-२५ हजार रुपैयाँ कमाउनको लागि दुई तीन लाख खर्च गरेर वैदेशिक रोजगारीमा गइरहेका छन्। उनीहरूले नेपालमा नै बसेर एउटा बोका बिक्री गर्दा २०-२५ हजार रुपैयाँ सजिलै कमाउन सक्छन्।"

उनको फार्ममा केही युवा युवतीले रोजगारी पनि पाएका छन्। उनले अझै धेरैलाई रोजगारी दिने सोचिसकेका छन्।

आफ्नै सफलताको कुरा गर्दै उनले भने, "फार्म सुरे गरेपछि ४-५ सय बाख्रा बिक्री भइसकेका छन्। अघिल्लो वर्ष २ करोड रुपैयाँको पाठा र पाठी बिक्री गरेँ। आउने साल मेरो आम्दानी ३ करोड पुग्नेछ।"

'बोएर बाख्रापालन निकै सजिलो'

तस्वीर कपीराइट Khadka

उनकै फार्ममा काम गर्ने कर्मचारी तथा सहयोगीहरूको भनाइमा बाख्रापालन अन्य पशुपालन भन्दा निकै सजिलो हुन्छ।

उनको फार्मकी एक सहयोगी निशा खड्काले भनिन्, "बोएर बाख्रा पाल्न एकदम सजिलो छ। गाउँ घरमा अन्य बाख्रा जसरी पालिन्छ त्यसरी नै पालिने हो। विशेष केही छैन गाउँ कै घाँस दाना खुवाएर पाल्ने हो।

"यसको तौल दैनिक २०० देखि ३०० ग्राम बढ्दै जान्छ।"

किसानको पाठशाला

तस्वीर कपीराइट Khadka/Facebook

योगेन्द्र बहादुर खड्काको फार्ममा जाँदा त्यहाको बाख्रा देखेर सबै छक्क पर्ने गरेका छन्। नेपालमै नौलो जातको बाख्रा पालन गरेका खड्काको फार्म बाख्रा पालन गर्ने किसानहरूलाई पाठशाला भएको छ। उनको फार्ममा नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि संघ सस्था र किसानहरू आउने गरेका छन्।

पोखराबाट बाख्रा फार्म हेर्न आएकी इन्द्रकमल मानन्धरले भनिन्, "सामान्य बाख्राभन्दा ठूलो र व्यवस्थित रूपमा बाख्रापालन गरेको देखेर एकदम खुसी लाग्यो।"

जोखिमको डर

खड्काले सुरुमा बोएर बाख्रा ल्याएर पालन गर्दा हुन्छ कि हुँदैन भनेर केही डराएका थिए। नेपालका पशु विज्ञहरूसँग सल्लाह गर्दा नेपालमा बोएर जातको बाख्रा नहुने सुझाव पनि आएका थिए। तर आफ्नै जोखिममा पहिला १३ बाख्रा ल्याएर हेरे। सफल भएपछि पछि थप्दै गए।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका दिपचन्द्र घिमिरे भन्छन्, "नेपालमा खरी र बोएर जातको बाख्रा पाल्न उपयुक्त भएको पाइएको छ। खरी र बोएर जातको बाख्रालाई प्रजनन् गराउँदा अझ फाइदा लिन सकिन्छ।"

खड्का भन्छन् नेपाल यदि मासुमा आत्मनिर्भर हुने हो भने बोएर जातको बाख्राको उत्पादन बढाउँदै तिनलाई पहाड तथा तराईका चरण क्षेत्रहरूमा विस्तार गर्नु पर्दछ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
बाख्रा लिएर ऊर्जा