राजपा नेताको प्रश्न: साथीहरू जेलमा, हामी कसरी सरकारमा जाने?

  • 24 जनवरी 2019
नेताहरू तस्वीर कपीराइट PM SECRETARIAT

तराई केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफू सरकारमा सहभागी हुने वातावरण अझै नबनेको जनाएको छ।

अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा लग्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्कालीन अध्यक्ष महन्थ ठाकुरपक्षका नेताले सरकारमा जाने उद्देश्यले त्यसो गरिएको आरोप अन्य नेताहरूमाथि लगाएका थिए।

त्यस्तो मतभेदकाबीच टीकापुरमा भएको हिंसात्मक घटनाका एक आरोपित सांसद रेशम चौधरीलाई उक्त दलको मागअनुसार पद तथा गोपनीयताको शपथ गराइएको छ।

सरकारमा जाने सम्भावना

लामो समय अध्यक्ष मण्डलको नेतृत्व गरेका ठाकुरलाई विस्थापित गरेका राजेन्द्र महतो अध्यक्ष बनेका बेला चौधरीको शपथ भएको थियो।

महतोपछि राजपाको नेतृत्व महिन्द्र राय यादवको काँधमा पुगेको छ।

यादवले तत्काल सरकारमा जाने सम्भावना नरहेको बताउँदै भने, "साथीहरूलाई जेलमा राखेर कुन नैतिकताले सरकारमा जाने?"

राजपाले माग गर्दै आएको संविधान संशोधन पनि भएको छैन।

यादवले भने, "ती मागहरू पूरा नहुँदासम्म सरकारमा जाने वातावरण नै बन्दैन। र, सरकारले बनाइरहेको छैन। माग पूरा भएपछि वातावरण बन्छ र त्यसपछि मात्र सरकारमा जानेबारे छलफल गर्छौं।"

उनी सहित महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवको जोडबलमा अध्यक्ष मण्डलको नेतृत्व आलोपालो गर्ने निर्णय भएको थियो।

आश्वासन

त्यसप्रति अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झा र ठाकुर पक्षका नेताको असन्तुष्टि सार्वजनिक भएको थियो।

राजपाले चौधरीलाई सपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले शपथपछि सरकारसँग विश्वासको वातावरण बनेको टिप्पणी गर्दै भने, "विश्वासको सार्थक वातावरण बनेको छ। तर यसपछि के भन्नेमा प्रधानमन्त्रीसँग कुरा गरेर आगामी कार्यदिशा तय गर्छौं।"

संघीय समाजवादी फोरम नेपाल संविधान संशोधन गर्ने सरकारको आश्वासनपछि सत्तामा गइसकेको छ।

तर त्यही माग गरिरहेको राजपाले सरकारलाई समर्थन गरे पनि सहभागी भएको छैन।

सरकारविरूद्ध आगामी दिनमा मुख्य विपक्षी दलले अख्तियार गर्ने नीति र बन्ने आम धारणामा पनि उसको सत्तारोहण निर्भर हुने कतिपयको बुझाइ पाइन्छ।