ह्वावेइ प्रमुख मङ्ग वान्जू: 'सुनको पिँजडा' मा कैद चिनियाँ उद्यमी

  • 24 जनवरी 2019
भ्यानकुभर

क्यानडाको भ्यानकुभर शहरस्थित धनाढ्यहरूको बसोबास रहेको हरियालीयुक्त क्षेत्रको एक कुनामा खरानी रङ्गको राम्रो देखिने एउटा घर छ।

घरको अगाडि एउटा होचो पर्खाल छ, जसभित्र राम्रोसँग व्यवस्थित गरिएको बगैँचा छ।

पहिलो नजरमै, यो घर अन्य वरपरको घरभन्दा फरक देखिन्छ।

तर मुख्य ढोकाको बाहिर त्यहाँ सुरक्षाकर्मी छन्। र, बाहिर सडकमा रहेकाहरू एउटा कालो रङ्गको महङ्गो गाडीबाट घरको निगरानी गरिरहेका छन्।

आकर्षक घर

यो मङ्ग वान्जूले भ्यानकुभरमा किनेको दुई मध्ये एउटा घर हो। मङ्ग ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख हुन्।

तस्वीर कपीराइट Reuters

उनी डिसेम्बरमा भ्यानकुभरस्थित विमानस्थलमा पक्राउ परेकी थिइन्।

उनी पक्राउ भएसँगै चीन र क्यानडाबीचको कूटनीतिक सम्बन्ध निकै तनावपूर्ण भएको थियो।

बेइजिङ्गले वान्जू पक्राउ परेपछि प्रतिशोध साँध्न खोजेको भनेर क्यानडालाई आरोप लगाएको थियो।

यसले विश्वलाई विरलै देखिने एउटा झल्को दिएको छ: चिनियाँ सम्भ्रान्त वर्गका मानिसहरूको व्यक्तिगत जीवनबारे।

'एक शान्त र विनम्र व्यक्ति'

मङ्ग अहिले धरौटीमा छुटेकी छन्।

उनी अर्को महिना फेब्रुअरी छ तारिखमा अदालत उपस्थित हुनेछन्, जहाँ क्यानडाले उनलाई अमेरिका सुपुर्दगी गर्ने वा नगर्ने भन्ने विषयमा सुनुवाइ हुने ठानिएको छ।

तस्वीर कपीराइट TAVAN

अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको प्रतिकूल हुने गरी टेलिकमसम्बन्धी सामानहरू बेच्ने एक कम्पनीसँगको सम्बन्धलाई ढाकछोप गरेको आरोप उनीमाथि लागेको छ।

उनलाई धरौटीमा छोड्दा केही शर्तहरू तोकिएका छन्।

उनविरुद्ध ११ बजे रातीबाट ‍बिहान छ बजेसम्म कर्फ्यू लगाइएको छ र खुट्टामा 'इलेक्ट्रोनिक ट्याग' अर्थात विद्युतीय उपकरण लगाएर निरन्तर निगरानीमा राखिएको अवस्थामा उनी त्यही खरानी रङ्गको घरमै बस्नुपरेको छ।

धरौटीमा भएका सबै खर्चहरू उनी आफैँले बेहोर्नुपर्छ।

सुरक्षाकर्मी र उनका सहकर्मीहरू मङ्ग वान्जूले क्यानडाबाट भाग्न कोसिस गर्ने छैनिन् भन्ने पक्का गर्न त्यहाँ बसेका हुन्।

तर उनीहरूले बाहिरी विश्वको आँखाबाट पनि उनलाई जोगाउने भूमिका खेलिरहेको जस्तो देखिन्छ।

"मलाई माफ गर्नुहोला, मैले तपाईँलाई यहाँभित्र प्रवेश गर्न दिनसक्दिनँ," ड्यूटीमा रहेका एक मानिसले बीबीसीलाई भने।

उनले ह्वावेइकी वित्तिय कार्यकारी मङ्ग घरमै छन् की बाहिर भन्ने पनि खुलाएनन्।

तस्वीर कपीराइट COURT HANDOUT

धरौटीमा रहँदा, मङ्गले भ्यानकुभरका धेरैजसो भागमा यात्रा गर्न भने अनुमति पाएकी छन्।

मङ्गले आफ्नो गोपनीयताको रक्षा गर्न निकै चाहिरहेको देखिन्छ। जब बीबीसी त्यहाँ पुग्यो, झ्यालका पर्दाहरू लागेका थिए र घरभित्र हेर्न असम्भव थियो।

तर त्यहाँ मानिसहरू बसिरहेका छन् भन्ने यदाकदा देखिने सङ्केतहरू थिए, फर्निचर बोक्ने भ्यान त्यहाँ आइपुग्यो, किनमेल गरिएका झोलाहरू भित्र लगिए र एकजना सहयोगीले प्रमुख प्रवेषद्वारमा सफा गर्न भ्याकूम लगाइन्।

मङ्ग योन्जू अन्यत्र नभइ किन भ्यानकुभरमै थुनामा परिन् भन्ने राम्रो कारण छ।

ब्रिटिश कोलुम्बियाको सर्वोच्च अदालत जसले उनको सुपुर्दगीबारे सार्वजनिक गरेको कागजातबारे सुनुवाइ गर्ने छ, उसले उनको उक्त क्षेत्रसँग सघन निकटता रहेको देखाएको छ।

उनको मुख्य घर दक्षिणी चीनको शेञ्जेन सहर हुनसक्छ तर हुवावेइकी ४६ वर्षीया प्रमुख वित्त कार्यकारी विगत १५ वर्षदेखि भ्यानकुभरमा आउनेजाने गरिरहेकी छन्।

उनी सुरुमा पर्यटकका रुपमा आइन् तर पक्कै पनि उनले मोहित पार्ने केही कुरा भ्यानकुभरमा देखिन्।

ट्रोए भ्यान भ्लाएटको टभान कम्पनी जसले धनी चिनियाँ ग्राहकका लागि भ्यानकुभरमा महङ्गा घरहरू बनाइदिन्छ उनले त्यो मोह के हुनसक्ला भनी सुझाएको छ।

"स्वच्छ हावा, हिमालहरू, स्थायी सरकार र बस्नका लागि सुन्दर ठाउँ भन्दा पनि उनीहरू आफ्ना सन्तान पश्चिमा देशमै शिक्षित होउन् भन्ने चाहन्थे," उनले भने।

त्यो मङ्ग वान्जूको विगतसँग मिल्दोजुल्दो छ। उनका तीन छोरा र एक छोरी भ्यानकुभरमै पढेका हुन्। उनका श्रीमान्‌ले यहाँ आफ्नो स्नातकोत्तर गरेका हुन्।

तस्वीर कपीराइट COURT HANDOUT

जब उनका सन्तानहरू यो सहरको स्कुलमा पढिरहेका थिए यो खरानी रङ्गको घर मङ्गको मुख्य घर बन्यो।

एउटा समयमा, उनी क्यानडाकी स्थायीबासिन्दा बनिन्। जसलाई उनले परित्याग गरिसकेकी छन्।

उनको श्रीमान् तर्फका परिवारसमेत उनलाई त्यहाँ निरन्तर रुपमा भेट्न गइरहन्थे।

अदालतले सार्वजनिक गरेको फोटोहरूले मङ्ग र उनको परिवार भ्यानकुभरस्थित चर्चित पर्यटकीय स्थलहरू स्ट्यान्ले पार्क, लाइन्स गेट ब्रीज र साइप्रेस हिमालमा रमाइरहेको देखाउँछ।

उनको परिवारले कम्तीमा स्थानीय बासिन्दाहरूसँग राम्रो प्रभाव पारेका छन्। उनीहरूले मङ्गलाई क्याथी वा सब्रिनाका नामले चिन्छन्।

आफूलाई स्वरोजगार 'भेन्चर क्यापिटलिष्ट' भन्छन्, उनको नाम भने त्यहाँ कार्लोस रहेको छ।

मङ्गको धरौटी निवेदनको समर्थनमा छिमेकी न्यान्सी स्याथरले लेखेकी छन्, "उनीसँगको कुराकानीबाट उनी एक भद्र र शान्त व्यक्ति हुन् भन्ने प्रभाव पर्छ जसले आफ्नो परिवार र सन्तानलाई प्राथमिकतामा राख्छिन्।"

मङ्गप्रति देखाइएको एउटा अर्को बफादारीको सङ्केतमा उनको एक करोड क्यानेडियन डलर बराबरको धरौटी रकम तिर्न चारजना क्यानेडियन नागरिकले रकम राखिदिएका छन् भन्ने पनि हो।

ती मध्ये एकजना योग गुरु हुन् जसले ५० हजार क्यानेडियन डलरको प्रतिवद्धता जनाए। त्यस्तै अर्का एकजना ह्वावेइमै काम गर्ने गर्थे जसले मङ्ग क्यानडाबाट भागेर अन्त जाने छैनन् भन्ने प्रत्याभूत गराउने बाचा गरेका छन्।

'बाहिरिने रणनीति'

पक्राउ पर्नुअघि मङ्ग वान्जूले आफ्नो निकटता भ्यानकुभरमा गहिरो बनाउँदै लगेको देखिन्छ।

सुरक्षाकर्मी बाहिर रहेको उक्त घर सन् २००९ मा ५६ लाख क्यानेडियन डलरमा किनिएको थियो।

तर तीन वर्ष अघिमात्रै उनले अर्को घर पनि किनिन्, जुन निकै ठूलो र पहिलाको भन्दा तीन गुणासम्म महङ्गो पनि छ।

तस्वीर कपीराइट COURT HANDOUT

दोस्रो घर अहिले पुन: मर्मत गरिँदैछ। मङ्गले खेपिरहेको अप्ठ्यारो परिस्थितिले कामदारलाई काम गर्न भने रोकेको छैन।

मुख्यद्वारमाथि चिनियाँ झल्को दिने गरी बनाइएको छतले घर मालिकको राष्ट्रियता र घरको शिष्टताको केही छनक दिन्छ।

चिनियाँ परिवारले कस्तो खालको आन्तरिक साजसज्जा मन पराउँछन् भन्ने देखाउन ट्रोएले मलाई उनको एउटा घरमा लगे।

ट्रोएले बनाएको घरको भित्रको साजसज्जा कुनै सेलीब्रेटीहरूसम्बन्धी आउने म्यागाजिनमा मात्रै सामान्यतया देखिन्छ।

चम्किलो मार्बल र पालिस लगाइएको काठमा बत्ती टल्किन्छ।

भान्साको विशेषता

भूइँतल्लामा मात्रै एउटा बार, तापक्रम नियन्त्रण गरिएको वाइन राखिएको दराज र एउटा भव्य पियानो छ।

त्यसपछि ट्रोएले मलाई दुईवटा भान्छा रहेको आरामदायी घरधनीले रमाउन पाउने विभिन्न सामानहरू देखाए।

चम्किला भुईँ र उच्च स्तरीय सामानहरू रहेको मुख्य भान्छा धेरैजसो देखाउनका लागि हो।

खानेकुराहरू पकाउने साँच्चैको भान्छा पछाडिपट्टिको छुट्टै कोठामा छ।

यो दोस्रो भान्सा जुन पूर्ण रुपमा बन्द गर्नसकिन्छ त्यो चाहिँ "खानामा के पाक्दै छ भन्ने पुरै घरले थाहा नपाओस्" भन्नका लागि हो, ट्रोएले भने।

उनका अनुसार मुख्य भान्सा चियाका लागि पानी तताउन प्रयोग हुनसक्छ।

ट्रोएले गराएको भ्रमणले यो स्पष्ट हुन्छ कि किन धनी चिनियाँ परिवारहरू भ्यानकुभर आउन चाहन्छन्।

एक अभियानकर्मी फेनेल्ला सङ्ग ले किन उनीहरूले चीन छोड्न चाहे भन्ने व्याख्या गरेकी छन्।

"चीनमा तपाईँको व्यक्तिगत सुरक्षा सधैँ सुनिश्चित हुँदैन। आज तपाईँ शक्तिमा हुनुहुन्छ भोलि तपाईँ जेलमा पर्न सक्नुहुन्छ," हामी मङ्गको घर वरपर हिँडिरहँदा उनले भनिन्।

"त्यसैले यी मानिसहरू अर्को घरको बन्दोबस्त गर्छन्। यो एक किसिमले उम्किने योजना हो। उनीहरू बालबालिका यहाँका विद्यालय पढाउने, वयस्कहरू यहीँ अवकास पाउने प्रबन्ध मिलाउँछन् ताकी उनीहरू चीनबाट बाहिर पनि जान सकुन्।"

धनी चिनियाँ परिवारहरूको भ्यानकुभर आउने क्रम बढ्नुका थुप्रै कारणहरू छन्। सम्पत्ती शुद्धिकरण र घरको मूल्यमा आएको भारी वृद्धि हुनसक्छ। ती महङ्गा घरहरू धेरै स्थानीयहरूले किन्नै सक्दैनन्।

फेनेल्ला सङ्ग भ्यानकूभरमा झण्डै ३० वर्षअघि हङ्गकङ्गबाट आएकी थिइन्।

उनले सहरको महङ्गो क्षेत्रभर धेरै वर्ष घरहरू खाली रहेको बताइन्। यो सबैको असरहरू भ्यानकुभरमा परेको उनको भनाइ छ।

"विडम्बना के भएको छ भने उनीहरू यहाँको जीवनशैलीमा रमाउन् भनेर जे का लागि आएका थिए, त्यसैलाई उनीहरूले विनास गर्दैछन्।"