दुबई एकदिवसीय क्रिकेट शृङ्खला: नेपाली टोली सुरुदेखि नै छिन्नभिन्न

  • 25 जनवरी 2019
पवन सर्राफ तस्वीर कपीराइट courtesy: Raman Siwakoti
Image caption पवन सर्राफ अभ्यासका क्रममा

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ दुबई मैदानमा धराशायी भयो।

परम्परागत रूपमै कमजोर मानिँदै आएको ब्याटिङमा सुधार गर्न नसक्दा दुबई एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल ११३ रनमा सीमित भएको छ।

घरेलु क्रिकेटमा २० ओभरको खेलमा अभ्यस्त खेलाडीहरूले ५० ओभरको खेलमा टिक्न सकेनन्। नेपाली टोलीले ३३.५ ओभरमा सबै विकेट गुमायो।

ब्याटिङ नेपाली क्रिकेटको परम्परागत रूपमै कमजोर रहँदै आएको छ। नेपालले दुबईमा पनि आफ्नो ब्याटिङ सुधार्न सकेन।

कमजोर प्रदर्शन

प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल चार बल खेलेर खाता नै नखोली आउट हुँदा नै नेपाली टोलीको कमजोर प्रदर्शनको सङ्केत देखिएको थियो।

कप्तान पारस खड्काले पनि ठूलो योगदान दिन सकेनन्। उनी २० रन बनाएर फर्किए।

चौथो ब्याट्सम्यानका रूपमा मैदानमा पठाइएका अलराउन्डर सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। तर उनी ४७ औँ बल खेल्न खोज्दा एलबीडब्ल्यूको धरापमा परे।

मध्यक्रममा भरपर्दो मानिने दीपेन्द्र सिंह ऐरीले खाता नै खोल्न सकेनन्।

यही खेलमा पहिलो चोटि राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका पवन सर्राफले चार मात्रै बनाए भने अलराउन्डर करण केसीले तीन रन बनाएपछि क्याच आउट भए।

आरिफ शेखले ४३ बल खेलेर २५ रन बनाए भने सन्दीप लामिछानेले २७ बलमा १५ रन बनाए।

वसन्त रेग्मीले खाता खोल्न सकेनन् भने अन्तिम ब्याट्सम्यान ललितनारायण राजवंशी दुई रनमा सीमित भए।

तस्वीर कपीराइट courstey:Raman Siwakoti

युएईका कप्तान मोहम्मद नाविदले प्रारम्भिक जोडी ज्ञानेन्द्र र विनोदको विकेटसहित तीन विकेट लिएका थिए। अमिर हायातले तीन नेपाली ब्याट्सम्यानलाई धराशायी पारे।

यूएईका लागि इमरान हैदरले दुई र कदीर अहमदले एक विकेट लिए।

पछिल्लो एकदिवसीय भेटमा पनि नेपाल यूएईसँग ७८ रनले पराजित भएको थियो।

अहिले यूएई ११४ रनको लक्ष्य लिएर ब्याटिङ गर्दैछ।

तीन खेलाडीको 'डेब्यु'

युएईको दुबईमा आज शुक्रवारबाट सुरु भएको तीन एकदिवसीय शृङ्खलाबाट तीन नेपाली खेलाडी पहिलो पटक एकदिवसीय टोलीमा 'डेब्यु' गरेका छन्।

जसमा आक्रामक ब्याट्सम्यानका रूपमा पहिचान बनाएका विनोद भण्डारीको यो पहिलो एकदिवसीय खेल हो । राष्ट्रिय टोलीका भने उनी अनुभवी खेलाडी हुन्।

युवा खेलाडीहरू ललितनारायण राजवंशी र पवन सर्राफको भने पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पाएका हुन्।

डेब्यु खेलमा विनोदलाई प्रारम्भिक ब्याट्सम्यानको भूमिका दिइएको थियो।

लामो समयदेखि नेपाली टोलीमा ज्ञानेन्द्र मल्लसँग खेल्ने भरपर्दो प्रारम्भिक जोडीको खोजी भइरहेको बेला विनोदलाई उक्त भूमिकाको लागि परीक्षण गरिएको हो।

तर उक्त परीक्षामा भने विनोद पनि असफल साबित भए। उनी १४ बल खेलेर पाँच रन बनाउदै आउट भइसकेका छन्।

विनोदले प्रतियोगितामा विकेट किपिङको भूमिका पनि निभाउने छन्।

ललितनारायण घरेलु क्रिकेटमा पछिल्लो समय निकै सफल देखिएका स्पिनर हुन् भने पवन सर्राफ उदीयमान अलराउन्डरको रूपमा टोलीमा छन्।

नेपाली टोलीमा समावेश दुई खेलाडीहरू भीम सार्की र सन्दीप जोरा भने डेब्युको प्रतीक्षामा छन्।

दुबईमा कार्यरत धेरै नेपालीहरू पनि आफ्नो राष्ट्रिय टोलीको खेल हेर्न गएका थिए।

सम्बन्धित समाचार