दुबई एकदिवसीय क्रिकेट शृङ्खला: पहिलो खेलमा नेपालले गर्‍यो आत्मसमर्पण

  • 25 जनवरी 2019
ऐरी तस्वीर कपीराइट courstey: Raman Siwakoti
Image caption शून्य रनमा आउट भएपछि मैदान छोड्दै दीपेन्द्र सिंह ऐरी

नेपाल र यूएईबीच शुक्रवारबाट सुरु भएको एकदिवसीय शृङ्खला अन्तर्गतको पहिलो खेलमा नेपाल तीण विकेटले पराजित भएको छ।

तीव्र गतिका बलरहरू हावी भएको यूएईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदानमा नेपाली बलरहरूले बलियो जवाफ दिन खोजेपनि अन्तत: सफल हुन सकेन।

नेपालले दिएको ११४ रनको लक्ष्य यूएईले ३२.१ ओभरमा सात खेलाडी गुमाउँदै पूरा गर्‍यो। यो संगै नेपाल तीन एकदिवसीय श्रृङ्खलामा १-०ले पछि परेको छ।

यूएईको जितमा आठौँ र नवौँ स्थानमा आएका खेलाडीद्वय अमिर हायात (२४ रन) र इमरान हैदर (१८ रन) ले ४३ रनको साझेदारी निर्णायक बन्न पुग्यो।

तस्वीर कपीराइट courstey: Raman Siwakoti
Image caption कप्तान पारस खड्काले पनि चाँडै मैदान छोडेका थिए।

सहज लक्ष्य पछ्याएको यूएई एक समय दबावमा परेको थियो, जब टोलीले १९.२ ओभरमा सात विकेट झरेको थियो।

नेपाली बलरहरू हावी भएपछि एकाएक खेल नेपालको पक्षमा ढल्किने सङ्केत समेत देखिएको थियो।

तर हायात र हैदरले सम्भावित दुर्घटना रोक्न सफल देखिए।

जितका निम्ति हायातले सन्दीप लामिछानेको बलमा छक्का प्रहार गरेका थिए।

यसअघि गुलम सब्विरको ३० रन मात्र यूएईका खेलाडीहरूबाट बनेको उच्च स्कोर थियो।

तस्वीर कपीराइट courstey: Raman Siwakoti

नेपालको तर्फबाट करण केसी, पारस खड्का र सन्दीप लामिछानेले २-२ विकेट लिए।

शृङ्खलाको दोस्रो खेल शनिवार हुनेछ।