ट्रम्प: सीमा पर्खाललाई पैसा पाएनन् तापनि खर्चबन्दी अन्त्य गर्न सहमत

  • 26 जनवरी 2019
ट्रम्प तस्वीर कपीराइट AFP

अमेरिकी इतिहासकै सबभन्दा लामो भनिएको सरकारी खर्चबन्दी हालका निम्ति अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएका छन्।

तर उनले माग्दै आएको मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने पैसा भने पाएका छैनन्।

अस्थायी सहमति

यसअघि राष्ट्रपति ट्रम्पले संसदले उनले सीमा पर्खालका लागि चाहेको पौने ६ अर्ब डलर बजेट नदिएसम्म सरकारी खर्चबन्दी जारी राख्ने चेतावनी दिएका थिए।

तर दुवै पार्टीका नेताहरूको छलफलपछि सिनेटले एकमतले सरकारी निकायहरूलाई तीन सातासम्म कोष उपलब्ध गराउने कानुन पारित गर्‍यो।

सीमा सुरक्षाबारे भने कुराकानी जारी रहने बताइएको छ।

उक्त कानुनलाई राष्ट्रपतिलाई हस्ताक्षरका निम्ति पठाइने बताइएको छ।

गएको ३५ दिन देखि आठ लाख संघीय कर्मचारीहरूले विना तलब काम गरिरहेका छन्।

पछिल्लो सहमति अनुसार आगामी तीन सातासम्म संघीय निकायहरूलाई कोष उपलब्ध हुनेछ।

ट्रम्प पछि हटे

तर त्यसमा अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउन कुनै कोष छुट्ट्याइएको छैन। अवैध आप्रवासीलाई रोक्न उक्त पर्खाल आवश्यक भएको ट्रम्पले भन्दै आएका छन्।

साथै उनले पर्खाल बनाउन चाहिने ५.७ अर्ब डलर नराखिकन संसदले पारित गर्ने कुनै पनि बजेटसम्बन्धी कानुन अस्वीकार गर्ने अडान राखेका थिए।

तर तल्लो सदनमा निर्णायक हैसियतमा रहेका विपक्षी डेमोक्र्याटले उक्त मागलाई ठाडै अस्वीकार गर्दै आए।

शुक्रवार सिनेट र प्रतिनिधिसभाले खर्चबन्दीलाई अस्थायी अन्त्य गर्ने विधेयक एकमतले पारित गरेका हुन्।

पेलोसीको विजय?

तस्वीर कपीराइट Reuters

आम जनमतहरूले अधिकांश अमेरिकीले खर्चबन्दीका लागि ट्रम्पलाई दोषी मानेको देखाएका थिए।

त्यसैले पछिल्लो सहमतिका लागि ट्रम्प राजी भएको हुनसक्छ।

यो परिणाम विपक्षी नेता तथा प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीका लागि विजय मानिएको छ।

ट्रम्पका सामु आफ्नो अडान नछाडेकोमा उनको पार्टीभित्र उनको निकै प्रशंसा भएको छ। उनी क्यालिफोर्निया राज्यबाट निर्वाचित कंग्रेस सदस्य हुन्। उनी यसअघि पनि सभामुख भइसकेकी छन्।

ट्रम्पसँगको विवादपछि खर्चबन्दी जारी रहेको भन्दै राष्ट्रपतिले उनको विदेश भ्रमण रोकिदिएका थिए।

उनले पनि खर्चबन्दीलाई कारण देखाउँदै राष्ट्रपतिलाई वार्षिक स्टेट अफ द युनियन सम्बोधन पछि सार्न भनेकी थिइन्।

बीबीसी सम्वाददाता एन्थनी जर्कर भन्छन् पछिल्लो सहमतिले संघीय कर्मचारीहरूलाई सघाउ पुग्नेछ। तर यदि यसबीच कुनै विस्तृत सम्झौता नभए तीन सातापछि पुन: अर्को खर्चबन्दी हुन सक्छ।

वा राष्ट्रपतिले चेतावनी दिएजस्तै उनले राष्ट्रिय सङ्कट घोषणा गर्न सक्छन् वा यो मुद्दालाई अदालतमा लैजान सक्छन्।

जे भए पनि तत्कालका लागि ट्रम्प पछि हटेका छन् तर युद्ध सकिएको छैन।