हिउँदमा चट्याङः केहीको मृत्यु, जोगिने उपाय यस्ता छन्

  • 26 जनवरी 2019
चट्याङ् तस्वीर कपीराइट .

शुक्रवार नेपालका विभिन्न स्थानमा चट्याङ पर्दा कम्तीमा दुई जनाको मृत्यु भयो भने केही व्यक्तिहरू घाइते भएका छन्।

केही दिनअघि सुदूरपश्चिम नेपालको डडेलधुरामा पनि चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो।

विज्ञहरूले हिउँदमा चट्याङ पर्नुलाई असामान्य घटना मानेका छन्।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार चट्याङका कारण तनहुँमा एक र बाँकेमा एक जनाको मृत्यु भएको छ भने मकवानपुरमा ११ जना घाइते भएका छन्।

तनहुँमा मोबाइल चार्ज गर्न लाग्दा चट्याङ परेकाले करेन्ट लागेर एक व्यक्ति घाइते भएका र उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

प्रभावित स्थानहरूमा शुक्रवार अपराह्ण चट्याङ परेको थियो।

असामान्य

तस्वीर कपीराइट SPL

नेपालमा चैतदेखि जेठसम्मको समय अर्थात् वर्षा सुरु हुनुभन्दा अघिको 'प्रि-मनसुन'मा धेरै चट्याङ पर्ने गरेको छ।

तर हिउँदमा चट्याङ पर्नु असामान्य भएको चट्याङविज्ञ डा. श्रीराम शर्मा बताउँछन्।

बादलमा विद्युतीय गतिविधि कम हुँदा हिउँदमा प्रायः चट्याङ पर्दैन।

पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि नेपालभरि बादल लागेको छ। बादल सक्रिय भएकाले विद्युतीय गतिविधि बढेको र त्यसकै कारणले चट्याङ परेको हुन सक्छ।

घातक

नेपालमा हुने प्राकृतिक विपद्‌मध्ये चट्याङका कारण भूकम्पपछि सबैभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ।

यो वर्ष वैशाखदेखि अहिलेसम्म चट्याङका कारण कम्तीमा ४८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा सङ्कलित विवरणका अनुसार २०६८ देखि अहिलेसम्म चट्याङका कारण ८२१ जनाले ज्यान गुमाएका छन्।

चट्याङका कारण २०६९ सालमा सबैभन्दा बढी १३१ जनाको ज्यान गएको थियो।

मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर ज्यान जाने गर्छ।

जोगिने उपाय

चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेपनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरूको मान्यता छ।

तर यस्ता केही सावधानी र उपाय अवलम्बन गरे चट्याङबाट हुने क्षतिबाट जोगिन सकिन्छ।

  • चट्याङप्रतिरोधी घर निर्माणः घरमाथि तामाको त्रिशूल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्ने
  • चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरनजिक नबस्ने र अग्ला रूखमुनि ओत नलाग्ने
  • धातुको तारबारनजिक नबस्ने
  • समथर र खुला ठाउँमा नबस्ने
  • भूमि र बादलको दूरी कम भइरहने पहाडी भूभागमा सतर्क रहने
  • चट्याङ परेको बेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्ने
  • छत नभएको सवारीसाधनमा भए तुरुन्त सुरक्षित स्थानमा जाने

सम्बन्धित सामग्री