फिलिपिन्समा गिर्जाघरमा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु

  • 27 जनवरी 2019
बम तस्वीर कपीराइट AFP/Getty Images

दक्षिणी फिलिपिन्सस्थित एउटा रोमन क्याथोलिक कथिड्रलमा दुईवटा बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान भएको छ भने कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्।

होलो टापुस्थित गिर्जाघरमा 'मास सन्डे' मनाउने क्रममा पहिलो विस्फोट भएको थियो। सो टापुमा इस्लामवादी लडाकुहरू सक्रिय छन्।

विस्फोटपछि सेनाले आवश्यक सुरक्षा कदम चालेपछि कार पार्किङ्गमा दोस्रो विस्फोट भएको थियो।

मुस्लिम बहुल एउटा क्षेत्रमा बृहत्तर स्वात्तताको प्रस्तावमाथि जनमतसङ्ग्रह गराइएको केही दिन नबित्दै विस्फोटका घटना भएका हुन्।

हमलाको कुनै पनि समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन। अबु सय्याफ लगायतका समूहको विद्रोहका लागि होलो लामो समयदेखि आधार क्षेत्र रहँदै आएको छ।

हमलाबारे के थाहा छ?

स्थानीय अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार बिहान पौने ९ बजे 'द कथिड्रल अफ आवर लेडी अफ माउन्ट कार्मेल' पहिलो विस्फोट गराइएको थियो।

विगतमा पनि त्यहाँ विस्फोटहरू गराइएको दृष्टान्त छन्।

त्यसको केही समयपछि गिर्जाघरको ढोकामा अर्को विस्फोट भएको थियो। अधिकांश पीडितहरू सर्वसाधारण रहेको बताइएको छ।

तस्वीर कपीराइट EPA

सामाजिक सञ्जालमा राखिएका तस्वीरमा गिर्जाघरतर्फ जाने मुख्य सडकलाई सुरक्षाकर्मीले घेराबन्दी गरेको र बख्तरबन्द गाडीहरू भएको देखिन्छ।

केही घाइतेहरूलाई हवाई उद्धार गरी नजिकैको शहर पुर्‍याइएको थियो।

'घृणित कार्य'

रक्षामन्त्रीले आक्रमणलाई 'घृणित कार्य'को संज्ञा दिँदै स्थानीयवासीहरूलाई अधिकारीहरूसँग मिलेर 'आतङ्कवादलाई जित्न नदिन' आग्रह गरेका छन्।

उनले भने, "घटनामा हात भएकाहरूलाई कानूनी कठघरामा उभ्याउन भरमग्दुर प्रयास गर्नेछौँ।"

गत हप्ताको जनमतसङ्ग्रहले दक्षिण फिलिपिन्सको मुस्लिम बहुल बाङ्गसामोरोलाई स्वायत्त क्षेत्र बनाउने प्रस्तावलाई अनुमोदन गरेको थियो।

तर सुलु प्रान्तका मतदाताले सो प्रस्तावलाई अस्वीकृत गरिदिए। सोही प्रान्तभित्र होलो पर्छ।

मोरो इस्लामिक लिबरेशन फ्रन्ट र सरकारबीच भएको एउटा शान्ति सम्झौता अन्तर्गत जनमतसङ्ग्रत गराइएको थियो।

उक्त जनमतसङ्ग्रहसँगै क्याथोलिक इसाईहरूको दबदबा रहेको फिलिपिन्समा दशकौँदेखि जारी इस्लामिक पृथकतावादी र सेनाबीचको द्वन्द्वको राजनीतिक समाधान हुने अधिकारीहरूको विश्वास छ।

हिंसामा एक लाख २० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसेका छन्।

सम्बन्धित सामग्री