निर्मला प्रकरणमा प्रहरी र उसको अनुसन्धान कहाँ कहाँ 'चुक्यो'?

  • 27 जनवरी 2019
निर्मला

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञहरूसहितको अनुसन्धान टोलीले आइतवार प्रतिवेदन पेश गरेको छ।

गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

सो प्रतिवेदनमाथि छलफल गरी आयोगले सरकारलाई चार बुँदे सिफारिस तथा २४ बुँदे निर्देशन दिएको छ।

अनुसन्धान टोलीका अनुसार घटना सम्बन्धमा प्रहरी र उसको अनुसन्धान कहाँ कहाँ चुक्यो त?

  • शवमा चोटपटक लगायत अन्य लक्षण तथा विवरणहरू घटनास्थल तथा लाश जाँच मुचुल्कामा अभिलेखीकरण नगरिएको।
  • कर्तव्य ज्यान जस्तो शङ्कास्पद मृत्युको शव परीक्षणमा मृतकका कपडा समेत गहिरो अवलोकन गरी च्यातिएको, घस्रिएको, केही लागेको आदि अभिलेखीकरण गरिएमा त्यस्ता सूचनाबाट मृतकले प्रतिकार गरे वा नगरेको अन्दाज गर्न वा जानकारी पाउन मद्दत पुग्ने भए पनि ती सबै विवरण उल्लेख नगरिएको, जसका कारण मृत्युको कारण लगायत निष्कर्षमा पुग्न नसकिएको।
  • शवको बाहिरी जाँचको सिलसिलामा घटनास्थलमा मुचुल्का गर्दा हेर्नुपर्ने भनिएका लक्षणहरू (शरीरको कुन भाग कति कडा छ वा छैन, शरीरको कतापट्टि रगत थिग्रिएको देखिन्छ र थिग्रिएको भागमा थिच्दा डाम मात्र बस्छ कि बस्दैन कि रगत सरेर सेतो डाम मात्र देखिन्छ) आदिका बारेमा जाँच गरी अभिलेखीकरण गर्नुपर्नेमा त्यो नगरिएको।
  • घाँटी अठ्याएर मारेको भनिए पनि थप सम्भावित लक्षणहरू र लेखिएका लक्षणहरूको समेत थप स्पष्टता नभएका कारण २४ घण्टाभित्र मृत्यु भएको भनी दिइएको राय कानूनी चिकित्सा विज्ञानका सिद्धान्तले पुष्टि गरेको नपाइएको।

डीएनए सम्बन्धमा

  • पन्तको शरीरबाट डीएनए परीक्षणका लागि भेजाइनल स्वाब लगायतका नमुना सङ्कलन गर्दा सिन्कोमा बेरिएको कपासबाट सङ्कलन गरेको पाइएको, जुन प्रक्रिया पूर्णतः दोषमुक्त छ भनी भन्न नसकिने। यसरी सङ्कलन गरी टेस्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए सङ्कलन नहुने र त्यो ह्रास हुँदै जाने, नष्ट हुन सक्ने र परिणाम सही नआउने समस्या रहेको पाइयो। मूलतः नमुनाहरू सङ्कलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो।
  • निर्मला पन्तको घटनामा 'वाइएसटीआर' प्रविधिबाट मात्रै परीक्षण गरेको पाइयो, यसबाट वंश/समूह पहिचान मात्र गर्न सघाउने पुग्ने तर व्यक्ति पहिचान गर्न सकिने 'अटोसोमल' परीक्षण प्रविधि प्रयोग नगरेको।
  • शुरूवाती परीक्षणमा मुख्य भेजाइनल स्वाबको प्रयोग, सो समेतबाट न्यून पुरुष डीएनए प्राप्ति, लामो समयसम्म भेजाइनल स्वाब यथास्थितिमा रहन नसक्नु जस्ता आधारमा बाँकी भेजाइन स्वावबाट थप नतिजामूलक परीक्षणको सम्भावना अत्यधिक कम छ।
  • प्रहरी/अनुसन्धान अधिकारी घटनाप्रति मौकामा संवेदनशील भएको नपाइएको।
  • घटनाको शुरूवात भएको स्थानको मौकामै जाँच पड्ताल तथा सोधपुछ नभएको।
  • घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतले प्रत्येक घटनालाई गम्भीर रूपमा नलिएको
  • घटनास्थलको छुट्टाछुट्टै मुचुल्का खडा नगरिएको।
  • लाश जाँचका सामान्य सिद्धान्तप्रति प्रहरी अधिकारी सजग र गम्भीर नभएको।