मलदान: के मान्छेको दिसाले रोग निको पार्न सक्छ?

  • 28 जनवरी 2019
क्लोडिया क्याम्पनेला तस्वीर कपीराइट Claudia Campanella
Image caption क्लोडिया आफ्ना साथीहरूलाई पनि दिसा दान गर्न प्रोत्साहित गर्न चाहन्छिन्

३१ वर्षीया क्लोडिया क्याम्पनेला युकेको एक विश्वविद्यालयमा विद्यार्थी सहायता प्रशासकका रूपमा ‌काम गर्छिन्, तर उनी आफ्नो बचेको समयमा दिसा अर्थात् मलदान गर्ने काम गर्छिन्।

"मेरा केही साथीहरू यो उदेकलाग्दो वा घिनलाग्दो काम हो भन्ने ठान्छन्, तर मलाई त्यसको चिन्ता छैन। मलदान गर्न एकदमै सजिलो छ र म आफ्नो दिसादान गरेर चिकित्साशास्त्रको अनुसन्धानमा सघाउन चाहन्छु। र यसरी सहयोग पुर्‍याउन पाएकोमा म खुशी छु।"

उनको दिसामा फाइदाजनक किटाणुहरू रहेको पाइएको छ र त्यस्ता किटाणुहरू बिरामीहरूको आन्द्रामा प्रतिस्थापन गरेर तिनीहरूको उपचार गर्न सकिन्छ।

क्लोडियालाई उनले गर्ने मलदान एकदमै उपयोगी हुनसक्छ भन्ने थाहा छ. त्यसैले उनी "मलदाता" बनेकी हुन्। तर उनको दिसा (मल) मा त्यस्तो विशेष के छ त?

वैज्ञानिकहरूको अनुसार केही मानिसहरूको दिसामा आन्द्रामा लाग्ने रोगहरू निको पार्न सक्ने ब्याक्टेरियाहरू पाइन्छ। त्यस्ता मानिसहरूलाई 'सुपर डोनर' अर्थात् 'महादाता' भनिएको छ।

उपयुक्त 'दिशा'

हाम्रो पाचन अङ्गहरूमा करोडौँ किटाणुहरू रहेका हुन्छन्। र ती किटाणुहरूको समुदाय व्यक्तिपिच्छे फरक हुन्छ। कुनै दुईजना मानिसमा किटाणुहरूको त्यस्तो समुदाय समान हुँदैनन्।

मानव मल प्रत्यारोपण उपचार चिकित्साविज्ञानको क्षेत्रमा नयाँ हो। हालसम्म प्राप्त प्रमाणका आधारमा केही मानिसहरूको दिसा वा मल उपचारका लागि सर्वोत्तम हुने सङ्केत पाइएको छ।

तस्वीर कपीराइट Getty Images

सुपर पू भनेको के हो?

के कारणले उत्तम मलदाता निर्धारण हुन्छ र उत्तम दिसा वा मल के ले निर्धारण गर्छ छ?

माइक्रोबायोलोजीसम्बन्धी एक प्रतिष्ठित जर्नलमा प्रकाशित अकल्याण्ड विश्वविद्यालयमा मोलिक्युलर बायोलोजीविज्ञ डा. जस्टिन ओ'सलिभानको अनुसन्धान प्रतिवेदन अनुसार कुनै मानिसको दिसामा जति धेरै विविधतापूर्ण सूक्ष्म किटाणुहरू पाइन्छ त्यति नै मात्रामा त्यस्तो दिसा बिरामीका लागि फाइदाजनक हुन्छ।

तर अध्ययनहरूले देखाए अनुसार धेरै कुरा दाताको दिसा बिरामीको उपचारमा कतिको मेल खान्छ भन्नेमा पनि निर्भर रहन्छ।

दिसामा कुन कुन ब्याक्टेरिया छन् भन्ने मात्र निर्क्योल गरेर हुँदैन।

डा.ओ'सलिभान भन्छन्,"प्रशोधन गरिएको मानव मल बिरामीमा प्रत्यारोपण गर्दा झाडापखालासम्बन्धी जटिल रोग निको पार्न सकिएको देखिएको छ। त्यस्तो दिसाबाट जीवित व्याक्टेरियाहरू हटाइएको थियो। तर त्यसमा डीएनए, भाइरस र अन्य वस्तुहरू यथावत राखिएका थिए।"

हाल भइरहेको 'मलदान' को अभ्यास धेरैजसो 'क्लोस्ट्रिडीअम डिफिसाइल ' भनिने सङ्क्रमणका कारण ठूलो आन्द्रामा हुने खतरनाक समस्याको उपचारमा प्रयोग भइरहेको छ।

तस्वीर कपीराइट Getty Images
Image caption कुनै रोगहरूले पाचन प्रणालीका फाइदाजनक ब्याक्टेरियालाई नाश गर्छन्

फाइदाजनक ब्याक्टेरिया

बिरामीको शरिरमा रहेको राम्रा फाइदाजनक ब्याक्टेरिया एन्टिबायोटिक औषधिको प्रयोगका कारण मरेपछि ठूलो आन्द्रामा त्यस्तो जटिल समस्या देखा पर्ने गर्छ र धेरै कमजोर बिरामीका लागि त्यो प्राणघातक पनि हुन्छ।

इपीरिअल कलेज लण्डनकी एकजना विज्ञ डा. जुली मक्डोनल्डको अनुसन्धानले देखाए अनुसार दिशा वा मानवमल प्रत्यारोपणले रोगका कारण हराएको ब्याक्टेरिया प्रतिस्थापन गरेर बिरामीको उपचारमा सघाउँछ।

उनी भन्छिन्, यस्तो उपचार प्रणालीको सफलताले मानिसहरूमा दिसा वा मानवमल र मानवमल दानको विषयलाई लिएर विद्यमान घिन वा वितृष्णाको भावनालाई हटाउन मद्दत पुग्नसक्छ।

र क्लोडिया मानिसहरूले दिसा वा मानवमललाई लिएर तिनीहरूमा सोचाइमा रहेको व्यवधानकारी सोचहरू हटाएको र आफै मलदाता बनेको उनी हेर्न चाहन्छिन्।

उनी अब रक्तदाता पनि बन्न चाहन्छिन्।