क्रिकेटर पारसले रचे इतिहास: एकदिवसीय शतक हान्ने पहिलो नेपाली

  • 28 जनवरी 2019
पारस
Image caption पारसले एकदिवसीयमा नयाँ इतिहास रचे।

कप्तान पारस खड्का एकदिवसीय क्रिकेटमा एक सय रन प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

त्यसका लागि उनले ९२ बल खेले। अनि १३ चौका र एक छक्का हाने।

उनको प्रदर्शनको भरमा नेपाली टोली २५५ रनको लक्ष्य पछ्याउने क्रममा बलियो स्थितिमा पुगेको छ।

गत मार्चमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पाएपछि खेलेको नेदरल्यान्ड्स विरुद्धको पहिलो एकदिवसीय शृङ्खलामा अर्धशतक प्रहार गरेका थिए।

शतक यात्रा

प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी पाँचौ ओभरमा नै आउट भएपछि मैदान छिरेका उनले एकपछि अर्को गर्दै १३ चौका प्रहार गरेका थिए।

उनले नियमित ओपनर उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे। त्यसपछि सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी , र रोहित पौडेलले उनलाई साथ दिएका थिए।

यसअघि पहिलो इनिङ्समा उनले बलिङको क्रममा दुई विकेट लिएका थिए।

अहिले यो समाचार तयार पारुन्जेलसम्म नेपाल पाँच विकेटको क्षतिमा १९७ रन बनाएर खेलिरहेको छ।