पारस खड्काको शतक, एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित

  • 28 जनवरी 2019
पारस खड्का तस्वीर कपीराइट Courtesy: Raman Shiwakoti

कप्तान पारस खड्काले ऐतिहासिक प्रदर्शन गर्दै नेपालका लागि पहिलो एकदिवसीय शतक प्रहार गरेपछि नेपालले तेस्रो तथा अन्तिम खेलमा यूएईलाई ४ विकेटले पराजित गरेको छ।

यूएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

यो जितसँगै नेपालले यूएईविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ।

यो नेपालले आफ्नो पोल्टामा पारेको पहिलो एकदिवसीय शृङ्खलाको उपाधि हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपाललाई विजयका लागि बधाई दिएको छ।

कप्तानी इनिङ

कप्तान खड्का एकदिवसीय क्रिकेटमा एक सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

एक सय रन पूरा गर्ने क्रममा उनले ९२ बल खेले। कुल ११५ रन बनाएका खड्काले १०९ बलको सामना गर्दै १५ चौका र एक छक्का हाने।

प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी पाँचौ ओभरमा नै आउट भएपछि मैदान छिरेका उनले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे।

मल्लले ३१ रन बनाए भने नेपालको विजयका लागि योगदान गर्ने क्रममा सन्दीप जोराले १९, रोहित पौडेलले १६, आरिफ शेखले २१ र सोमपाल कामीले २६ रन बनाए।

यूएईको तर्फबाट इमरान हैदर र असफक अहमदले दुई-दुई विकेट लिएका थिए।

तस्वीर कपीराइट Courtesy: Raman Shiwakoti

युएईको गतिलो स्कोर

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको यओएईले खराब सुरुवात गरे पनि मध्यक्रमका खेलाडीहरूको राम्रो खेलका कारण राम्रो स्कोर बनाउन सफल भएको थियो।

यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो।

दुई रनमा दुवै ओपनर खेलाडी गुमाएको यूएईले पहिलो आठ ओभरसम्म प्रत्येक रनका लागि सङ्घर्ष गरेको थियो।

नेपालका तेज गतिका बलर सोमपाल कामी र करण केसीले उत्कृष्ट बलिङ गरेका थिए।

तर साइमन अनवरले ७० बलमा ८७ रन बनाउँदै यूएईको इनिङलाई सम्हालेका थिए। मोहम्मद बूटा खेलको अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ३१ रनमा ५९ रन बनाएर अविजित रहे।

यूएईका लागि रन बनाउने अन्य खेलाडीहरूमा सीपी रिज्वान (४५), मोहम्मद उसमान (२६) र गुलाम शाब्बर (१८) रहे।

नेपाली बलरहरूमध्ये केसी र खड्काले दुई-दुई विकेट लिए भने सन्दीप लामिछाने र कामीले एक-एक विकेट लिए।

तस्वीर कपीराइट Courtesy: Raman Shiwakoti

सन्दीपको डेब्यु

घरेलु क्रिकेटमा लोभलाग्दो प्रदर्शन गरेर राष्ट्रिय टोलीको ढोका ढक्ढक्याइरहेका युवा खेलाडी सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको भीमदत्त नगरका सन्दीप जोरा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ सदस्यका रूपमा सोमवारदेखि प्रवेश गरेका छन्।

उनी सोमवार १७ वर्ष १०० दिनको भएका छन्।

यूएईमा जारी एकदिवसीय शृङ्खलाका सुरुको दुई खेल खेल्न नपाएका जोरालाई निर्णायक खेलमा मौका दिइएको थियो।

कप्तान खड्काले उनलाई सोमवार यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेल अगाडि 'डेब्यु क्याप' दिएर मैदानमा स्वागत गरे।

यूएई भ्रमणका बेलामा राष्ट्रिय टोलीमा समावेश गरिएका चार नयाँ अनुहारमध्ये जोरा एक हुन्।

उनी १९ रन बनाएर आउट भए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले कप्तान पारस खड्काको साथमा प्रभावशाली सुरुवात गरेका थिए।

सम्बन्धित समाचार