यूएस-बाङ्ग्ला विमान दुर्घटना: बाङ्ग्लादेशमा किन भयो नेपालले गरेको छानबिनको आलोचना

  • 29 जनवरी 2019
दुर्घटनाग्रस्त यूएस बांग्लाको विमान तस्वीर कपीराइट GETTY IMAGES

गत वर्ष त्रिभुवन विमानस्थलमा भएको यूएस-बाङ्ग्ला विमान दुर्घटनाबारे नेपाल सरकारबाट गठित छानबिन समितिको प्रतिवेदनको बाङ्ग्लादेशका नागरिक उड्डयन अधिकारीहरूले आलोचना गरेका छन्।

उनीहरूले बाङ्ग्लादेशका विमानचालकको मात्रै दोष देखाइएको र त्रिभुवन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण कक्षका कर्मचारीको गल्ती नऔँल्याइएको भन्दै छानबिन आयोगको आलोचना गरेका हुन्।

सन् २०१८ को मार्च १२ को दिनमा ढाकाबाट आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा दुर्घटना भएको थियो। त्यो दुर्घटनामा विमानमा सवार ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो।

सुरुमा विमानस्थलका हवाई ट्राफिक नियन्त्रक र विमान चालकबीच राम्रो सञ्चार हुन नसकेकोले विमान दुर्घटना भएको हुनसक्ने ठानिएको थियो।

तर यसै साता सार्वजनिक भएको छानबिन प्रतिवेदनले विमानचालक राम्रो मानसिक स्थितिमा नभएको उल्लेख गरेको छ।

'विमानभित्रै धूमपान'

प्रतिवेदनमा विमानचालके तनावका कारण चालकदलका अन्य सदस्यहरूसँग कराएको र विमानभित्रै धूमपानसमेत गरेको उल्लेख छ।

दुर्घटना छानबिन आयोगको प्रतिवेदनमा भनिएको छ - यूएस-बाङ्ग्ला एअरलाइन्सको उडान बीएस २११ का चालक "मानसिक रूपमा एकदमै तनावग्रस्त र थकित" थिए। त्यो उडानमा नभएकी एक महिला सहकर्मीले उनी दक्ष उडान प्रशिक्षक नभएको भन्दै उनको "प्रतिष्ठामाथि नै प्रश्न उठाएकोले" उनी तनावमा रहेको भनिएको छ।

छानबिन प्रतिवेदनअनुसार मानसिक समस्याकै कारण ५२ वर्षीय ती चालकलाई सन् १९९३ मा बाङ्ग्लादेशी हवाई फौजबाट बिदा गरिएको थियो। तर पछि उनी नागरिक उड्डयन क्षेत्रमा काम गर्न योग्य ठहर्‍याइएका थिए।

पछिल्ला स्वास्थ्य परीक्षणले उनीमा कुनै मानसिक रोगका लक्षण नभएको देखाएको थियो।

बाङ्ग्लादेशका नागरिक उड्डयन अधिकारीले के भने?

नेपालमा गठित आयोगले यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान दुर्घटना छानबिन प्रतिवेदन सार्वजनिक गरेलगत्तै बाङ्ग्लादेश नागरिक उड्डयन प्राधिकरणका प्रमुखले प्रतिवेदनको निष्कर्षसँग आफू सहमत भएको बताए।

तर एम नइम हसनले काठमाण्डू विमानस्थलको हवाई उडान नियन्त्रण गर्ने टावरका कर्मचारीले त्यो विमानलाई दुर्घटनाबाट बचाउन "पर्याप्त पहल नगरेको" विषयमा छानबिन प्रतिवेदनले धेरै कुरा उल्लेख नगरेको टिप्पणी गरेका छन्।

तस्वीर कपीराइट Getty Images

हसनले ढाकामा पत्रकारहरूसँग भने, "हो, ती चालकले केही गल्ती गरेका थिए, तर यदि उडान नियन्त्रकहरूले चाहेको भए त्यस्तो दुर्घटना टार्न सम्भव हुने थियो।"

ढाकास्थित बीबीसी सम्वाददाता कादिर कलोलका अनुसार त्यो पत्रकार सम्मेलनमा नेपाली छानबिन आयोगमा सहभागी बाङ्ग्लादेशी उड्डयन अधिकारी सलाउद्दिन एम रहमतुल्लाह पनि उपस्थित थिए।

रहमतुल्लाहले छानबिन आयोगको प्रतिवेदनमा कुनै गलत सूचना नभए पनि विमान दुर्घटनामा हवाई उडान नियन्त्रकको भूमिकाबारे प्रतिवेदनले "केही कुरा छुटाएको" प्रतिक्रिया दिए।

उनले भने, "आयोगले एकपक्षीय रूपमा विमान चालकको दोष देखाएको छ। आयोगले चालकले केही गल्ती गरेको र विमानलाई धावनमार्गसँग नसोझ्याईकन अवतरण गराएको भनेको छ। तर हामीले थप अनुसन्धान गर्दा उडान नियन्त्रकले विमान चालकलाई फर्किने सुझाव दिन सक्ने ठाउँ रहेको पाएका छौँ।"

'फन्को मार्नूस् वा माथि उड्नूस' किन भनेनन्?

तस्वीर कपीराइट Getty Images

दुर्घटना हुने बेला आकाश खुल्ला रहेको बताउँदै, रहमतुल्लाहले भने, "उडान नियन्त्रकले 'फन्को मार्नूस् वा माथि उड्नूस्, हामी जानकारी दिनेछौँ' पनि भन्न सक्थे। यदि हवाई नियन्त्रकले 'तपाईँ माथि जानुहोस् हामी बाटो देखाउँछौँ' मात्र भनेको भए पनि विमान दुर्घटना हुनबाट जोगिन्थ्यो।"

नइमले चाहिँ विमानचालकले गल्ती गरेपनि उडाननियन्त्रकले गल्ती गर्न नहुनेमा जोड दिए।

उनले भने, "चालक जतिसुकै सिपालु भएपनि उनीहरूलाई निर्देशन दिने त उडाननियन्त्रक नै हुन्। चालकले जहिले पनि नियन्त्रकको निर्देशन पालना गर्नुपर्छ।"

तर नेपाली छानबिन प्रतिवेदनमा चालकको बोली र भाषा सुन्दा उनी ढाकाबाट उडेदेखि नै "निकै क्रुद्ध र तनावग्रस्त रहेको" उल्लेख गरिएको छ।

विमानमा चालकदलको कुराकानीको अभिलेख राख्ने 'ब्ल्याक बक्स रिकर्डर' भनिने यन्त्र र बच्न सफल यात्रुको बयान अनुसार चालकले "विमानको चालक कक्षमा धूमपान गरेको अवतरण गर्ने महत्त्वपूर्ण समयमा पनि असम्बनधित कुराकानीमा संलग्न" रहेको भनिएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
'दुर्घटनाका सम्भावित कारण: चालकको गल्ती र मौसम'

उच्च तनावकै कारण उनले अवतरण प्रक्रियामा त्रुटि गर्न पुगेको प्रतिवेदनको निष्कर्ष छ। विमानकी २५ वर्षीया सहचालकले पनि मुख्य चालकको अनुभवलाई र वरिष्ठतालाई ध्यानमा राखेर हस्तक्षेप नगरेको हुनसक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

धावनमार्ग देखेपछि के गरे चालकले?

काठमाण्डू उपत्यका प्रवेश गरेलगत्तै त्यो विमान धावनमार्गतिर नगई उत्तरतिरका पहाडी क्षेत्रतिर उड्न पुगेको थियो।

प्रतिवेदनमा भनिएको छ, "जतिबेला चालकले धावनमार्ग देखे उनीहरू धावनमार्गको निकै नजिक र तल थिए र विमान धावनमार्गसँग सोझिएको थिएन।"

विमान "मोडिँदै गरेको अवस्थामा" अवतरण गर्न लगिएको भन्दै प्रतिवेदनमा भनिएको छ त्यस्तो बेला अवतरण प्रयास तुरुन्तै स्थगित गर्नु पर्थ्यो।

त्यसरी अवतरण गरिएको विमान धावनमार्गबाहिर गएर नजिकैको जालीमा ठोक्किँदै चउरमा दुर्घटनाग्रस्त हुन पुग्दा विमानबाट ठूलो आगोको मुस्लो निस्किएको थियो।

त्यो २६ वर्षपछि नेपालमा भएको सबैभन्दा ठूलो दुर्घटना हुन पुग्यो।

प्रतिवेदनले यूएस-बाङ्ग्ला एअरलाइन्सलाई पनि आफ्ना चालकको मानसिक स्वास्थ्य र व्यक्तिगत समस्याहरूको निरन्तर अनुगमन गर्न सुझाव दिएको छ।

यो पनि पढ्नुहोस्