चर्चित संगीतकारको मृत्युपश्चात् टर्की र चीनबीच टकराव

  • 10 फेब्रुअरी 2019
उइगर समुदाय तस्वीर कपीराइट Getty Images

अब्दुरेहिम हेयित उइगर समुदायका एक चर्चित संगीतकार थिए।

चिनियाँ हिरासतमा उनको मृत्य भएको खबरलगत्तै टर्की क्रुद्ध बनेको छ।

टर्कीले उइगर समुदायलाई हिरासतमा राख्न बनाइएका शिविर बन्द गर्न चीनलाई आग्रह गरेको छ।

हेयित सिन्जियाङ्ग प्रान्तमा आठ वर्षको जेल सजाय भोगिरहेका थिए।

के भन्यो टर्कीले

सिन्जियाङ्ग क्षेत्रमा करिब दश लाख उइगर अल्पसङ्ख्यक समुदायका मानिसलाई शिविरहरूमा राखिएको बताइन्छ।

टर्कीको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती मानिसहरूलाई त्यस्ता शिविरमा यातना दिने गरिएको आरोप लगाइएको छ।

विज्ञप्तिमा २१ औँ शताब्दीमा पनि यातना शिविर बनाइनु र उइगर टुर्कहरूविरुद्ध पद्दतिगत र नीतिगत ढङ्गले चिनियाँ अधिकारीहरू उत्रिनु मानवताकै निम्ति लज्जाजनक भएको उल्लेख छ।

विदेश मन्त्रालयका प्रवक्ता हामी अक्सोय भन्छन्, संगीतकार हेयितको मृत्युले सिन्जियाङ्गमा भइरहेको मानव अधिकार हननबारे टर्कीका जनताको ध्यानमा थप बल पुर्‍याएको छ।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजलाई त्यहाँको त्रासदी अन्त्य गर्न प्रभावकारी कदम चाल्न आह्वान गरेका छन्।

के भन्छचीन

तर चीन भन्छ, ती स्थलहरू केवल पुनर्शिक्षा शिविर हुन्।

सो क्षेत्रमा आतंकवादसँग जुध्न व्यावसायिक शिक्षा दिइने बेइजिङ्गको भनाइ छ।

अधिकारवादी समूहहरूले विना कुनै मुद्दा मुसलमानहरूलाई लामो समय हिरासतमा राखिने गरेको बताउँछन्।

डिएनएको नमूना दिन अस्वीकार गरेको वा अल्पसङ्ख्यक भाषा बोलेको वा अधिकारीहरूसँग विवाद गरेको जस्ता विषयमा उनीहरूलाई थुनिने गरेको बताइन्छ।

को हुन् उइगर

उइगर जाति टर्किश भाषा बोल्ने अल्पसङ्ख्यक मुसलमान समुदाय हुन् जो चीनको उत्तरपश्चिमस्थित सिन्जियाङ्ग प्रान्तमा बस्छन्।

पछिल्ला वर्षहरूमा उक्त समुदाय चिनियाँ अधिकारीहरूको सघन निगरानीमा परेका छन्।

सिन्जियाङ्गको जनसङ्ख्याको करिब ४५ प्रतिशत हिस्सा उइगर समुदायको छ।

उनीहरू सांस्कृतिक तथा जनजातिय हिसाबबाट आफूहरूलाई मध्ये एसियाली देशहरूसँग नजिक मान्छन्।

उनीहरूको भाषा टर्कीश भाषासँग मिल्छ।

पछिल्ला दशकहरूमा हान चिनियाँ (चीनको बहुमत समुदाय) हरू ठूलो सङ्ख्यामा सिन्जियाङ्गमा बसाइ सरेका छन्।

त्यसले आफ्नो संस्कृति र रहनसहन अप्ठेरोमा परेको उइगर ठान्छन्।

तिब्बतजस्तै सिन्जियाङ्गपनि चीनको स्वशासित क्षेत्र भनेर चिनियाँ सरकारले तोकेको छ।