ब्रिटिश राजकुमार फिलिप: गाडीको लाइसेन्स त्याग

  • 10 फेब्रुअरी 2019
राजकुमार तस्वीर कपीराइट ALBANPIX

ब्रिटिश राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) त्यागेको बकिङ्घम दरबारले जनाएको छ।

आफूले चलाइरहेको ल्यान्ड रोभर जीप हालै दुर्घटनामा परेपछि फिलिपले क्षमायाचना गरेका थिए।

त्यसपछि उक्त समाचार आएको छ। ९७ वर्षिय ड्युक अफ एडिन्बरा फिलिप ब्रिटेनकी महारानी एलिजाबेथका पति हुन्।

राजकुमारको स्वेच्छा

उनले कार चलाउँदा सिट बेल्ट नलगाएको फोटो सार्वजनिक भएपछि दुई दिनअघि नोरफोक प्रहरीले उनलाई 'उपयुक्त सुझाव' दिएको थियो।

बकिङ्घम दरबारका अनुसार उनले शनिबार स्वेच्छाले लाइसेन्स बुझाएका छन्।

दरबारको विज्ञप्तिमा भनिएको छ, "होसियारीपूर्ण विचारपछि ड्युक अफ एडिन्बराले आफ्नो लाइसेन्स स्वेच्छाले त्याग्ने निर्णय लिएका छन्।"

राजकुमारले अधिकारीहरूसमक्ष लाइसेन्स बुझाएको र त्यो सवारी तथा लाइसेन्स सम्बन्धी निकायमा पठाइएको कुरा नोरफोक प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनासम्बन्धी फाइल सरकारी अभियोजन कार्यालयमा पठाइएको र उसले राजकुमारको पछिल्लो कदमलाई ध्यान दिने बताइएको छ।

घाइतेलाई पत्र

बीबीसीका सम्वाददाताले गत महिनाको दुर्घटनामा उनले आफ्नो गल्ती भएको स्वीकार गरेको जनाएका छन्।

उनका अनुसार दुर्घटनाको दुई दिनपछि आफैँले कार हाँक्ने उनको निर्णयको आलोचना भएको थियो। अहिले उनले आफ्नो स्वतन्त्रता त्याग्ने बाटो रोजेका छन् र अब उनीसँग चालक हुनेछन्।

जनवरी १७ मा भएको दुर्घटनामा राजकुमार घाइते हुनबाट जोगिएका थिए तर उनको कारसँग जुधेको किया मोटरमा सवार एक महिलाको नाडी भाँच्चिएको थियो। कियामा एक नौ महिनाको बालक सहित तीनजना मानिस सवार थिए।

राजकुमारले घाइते महिलालाई पत्र लेख्दै दुर्घटनालाई 'निकै दु:खदायी घटना' को रूपमा स्वीकार गरेका छन्।

सन्डे मिरर पत्रिकाले छापेको सो पत्रमा उनले लेखेका छन्, "मुख्य सडकमा सूर्यको प्रकाश कम थियो। सामान्यतया मलाई सडकमा गुड्ने गाडीहरू हेर्न समस्या हुन्न। …तर मैले कल्पनामात्र गर्न सक्छु, आइरहेको कार ख्याल गर्न विफल भएँ। र जे भयो त्यसमा मलाई निकै पछुतो लागिरहेको छ।"

दुर्घटनापछिको संवादको अभावलाई लिएर घाइते महिलाले यसअघि राजकुमारको आलोचना गरेकी थिइन्।

उनले सन्डे मिररसँग भनेकी छन्, "उनले आफ्नो कुनै औपचारिक पदवी उल्लेख नगरी फिलिप भनेर हस्ताक्षर गर्नु साँच्चिकै गज्जब हो भन्ने मलाई लागेको छ। उनको त्यो व्यक्तिगत स्वभावका कारण म सुखद आश्चर्यमा परेँ।"

राजपरिवारका सदस्यको जीवनी लेख्ने ह्युगो भिकर्सले दुर्घटनापछि बीबीसीसँग भने, "९७ वर्षको उमेरमा कुनै पनि किसिमको दुर्घटनाले मानसिक झट्का उत्पन्न गर्न सक्छ।"

अनुमतिपत्र त्यागेपछिको प्रक्रिया

कानुनी रूपमा गाडी चलाउन नपाउने कुनै उमेर हद छैन। तर डाक्टरले त्यसो नगर्ने सल्लाह दिनसक्छन्।

तस्वीर कपीराइट PA

यदि स्वास्थ्य अवस्थाले गाडी चलाउने कामलाई प्रभावित पार्छ भने फेरि चलाउन सक्ने गरी स्वास्थ्य मापदण्ड पूरा नगर्दासम्म उसले लाइसेन्स त्याग्नुपर्छ।

लाइसेन्स त्याग्ने निर्णय गरेमा वा डाक्टरद्वारा त्यसो गर्न सल्लाह दिइएमा चालकले लाइसेन्स सहित सम्बन्धित निकायमा पत्र लेख्नु पर्छ।

सन् २०१६ मा विन्डसर पुगेका अमेरिकी राष्ट्रपति बराक ओबामा र उनीकी पत्नीलाई राजकुमार फिलिपले आफैँले चलाएको गाडीमा भ्रमण गराएका थिए। जसको निकै चर्चा भएको थियो।

राजकुमार फिलिपले सन् २०१७ अगस्ट महिनादेखि सार्वजनिक जीवनबाट अवकास लिएका थिए।

आफ्नो औपचारिक एकल जिम्मेवारीबाट अवकाश लिए यता उनी रानी र राजपरिवारका सदस्यहरूसँगै सार्वजनिक रूपमा देखिने गरेका छन्।