किन गराउँदैनन् पुरुषहरू बन्ध्याकरण

  • प्रतीक्षा दुलाल
  • बीबीसी नेपाली सेवा
गर्भवती महिला

तस्बिर स्रोत, Getty Images

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ५ की अम्बिका श्रेष्ठलाई धेरै सन्तान जन्माउने रहर थिएन।

तर परिवार नियोजनका साधन धेरै प्रयोग गरेमा स्वास्थ्यमा प्रतिकूल असर पार्ला कि भन्ने उनमा डर पनि थियो।

त्यसैले दुई छोरा र एउटी छोरी पाएपछि मिनील्याप गरेको ३५ वर्षीया श्रेष्ठले बताइन्, "मेरो श्रीमानले ढाड दुख्छ भन्नु हुन्थ्यो त्यसैले तीनवटा सन्तान जन्माएपछि मैले नै मिनिल्याप गरेँ। धेरै बच्चा जन्माएरमात्र के गर्नु उनीहरुलाई पढाउन र खान दिन गाह्रो हुन्छ।"

स्थायी बन्ध्याकरणप्रति पुरुषहरूको अरुचिका कारण बाध्यतावश त्यो पनि आफूहरूले नै गराउनुपरेको महिलाहरू बताउँछन्।

नरुचाउने

अन्य क्षेत्रभन्दा शहरी र पहाडी क्षेत्रका पुरुषले नै भ्यासेक्टोमी गर्ने गरेको तथ्याङ्कले देखाएको परिवार नियोजनको क्षेत्रमा कार्यरत अधिकारीहरूले बताएका छन्।

स्थायी बन्ध्याकरण गरेपछि स्वास्थ्यमा नकारात्मक असर पर्ने र त्यसले गर्दा काम गर्न गाह्रो हुने बुझाइका कारण पुरुषहरू स्थायी बन्ध्याकरण गर्न नरुचाउने गरेको बताइन्छ।

परिवार नियोजन सङ्घका एकजना चिकित्सक डा. ओम महर्जनका अनुसार स्थायी बन्धयाकरण गर्न चाहने पुरुषको सङ्ख्या स्थान अनुसार फरक पर्छ।

"हाम्रो काठमाण्डू स्थित कार्यालयमा स्थायी बन्ध्याकरण गराउन महिलाभन्दा पुरुषनै धेरै आउँछन्। पहाडतिर हेर्ने हो भने महिला र पुरुष दुवैको संख्या उस्तै -उस्तै छ," डा. महर्जनले भने।

तस्बिर स्रोत, Getty Images

तथ्याङ्क

"तर मधेसमा चाहिँ महिलाहरु मात्र आउँछन्। हामीले दिनको ४० देखि ५० वटा स्थायी बन्ध्याकरण गर्छौं। जसमा महिलाहरु मात्र हुन्छन् त्यहाँ।"

केही समयअघि विराटनगरमा सञ्चालित परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा पुरुषहरू नगन्य सङ्ख्यामा आएको कुराले निकै चर्चा पाएको थियो।

विराटनगरका १८ स्थानमा सञ्चालित शिविरमा ८ सय ८७ जनाले स्थायी बन्धयाकरण सेवा लिएका थिए। जसमध्ये ८ सय ८१ जना महिला थिए।

सरकारी तथ्याङ्कले पनि महिलाहरूले नै परिवार नियोजनका साधन धेरै प्रयोग गर्ने गरेको देखाउँछ।

बुझा

स्वास्थ्य सेवा विभागका अनुसार ३८ प्रतिशत महिलाले मिनील्याप गरेकोमा १३ प्रतिशत पुरुषले मात्र गरेको बताइएको छ।

एक दशकभन्दा अघिदेखि दाङ् जिल्लाको स्वास्थ्य चौकीमा परामर्शदाताका रूपमा काम गरिरहेकी दिपा धिताल अझै पनि धेरै मानिसहरूमाझ पुरुषले स्थायी बन्ध्याकरण गर्न हुन्न भन्ने बुझाइ रहेको बताउँछिन्, "पुरुषहरूले ठूलो भारी बोक्नुपर्छ, काम गर्न विदेश जानुपर्छ, त्यही कारण स्थायी बन्ध्याकरण महिलाहरूले नै गर्नुपर्छ भन्ने सोच भएका धेरै महिलाहरू हामीकहाँ परामर्श लिन आउने गर्नु भएको छ।"

तर यस्तो बुझाइ गलत भएको डा. महर्जन बताउँछन्।

उनी भन्छन् स्थायी बन्ध्याकरण महिलाले भन्दा पुरुषले गर्न सहज हुन्छ।

"त्यो गलत बुझाइ हो। उमेर बढ्दै गएपछि धेरै कारणले ढाड दुख्छ। तर मानिसहरूले भ्यासेक्टोमी गरेपछि दुखेको भनेर भन्छन् जुन गलत हो। साथै भ्यासेक्टोमी गरेपछि यौन दुर्बलता आउँछ भन्ने गलत बुझाइ पनि भेटिएको छ," डा. महर्जनले भने।

अडिओ क्याप्शन सुरु हुँदैछ,

महिला स्वास्थ्य स्वयंसेविकाको योगदान कति?

सुरक्षित

"महिलाको तुलनामा पुरुषको स्थायी बन्ध्याकरण गर्न सुरक्षित र सजिलो हुन्छ। महिलाहरूको घाउ निको हुन महिनौँ लाग्छ।"

यसरी मिनिल्याप गराउन आउनेमध्ये धेरैजसो ३० देखि ३२ वर्षका उमेरका महिला हुने गरेको डा. महर्जनले बताए।

दुईवटा वा सोभन्दा बढी सन्तान भएका महिलाले यस्तो सेवा लिने गरेको पनि उनी बताउँछन्।

कारण

तर घरमा लुगा धुनेदेखि घाँस दाउरा बोक्ने जस्ता काम महिलाले नै गर्ने हाम्रो जस्तो समाजमा पुरुषले गह्रुँगो काम गर्ने बारेमात्र किन बहस हुन्छ भन्ने प्रश्नको जवाफमा महिला अधिकारकर्मी डा. रेणु अधिकारी भन्छिन्, "महिलाको भन्दा पुरुषको शरीरलाई धेरै महत्व दिइने कारणले नै यस्तो भनिएको हो। त्यसकारण पुरुष कमजोर हुन्छ कप भन्ने कुराले महत्त्व पाउँछ तर महिलाको शरीरबारे खासै सोचिँदैन।"

हालसम्म चलाइएका जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुन नसकेका कारण परिवार नियोजनका साधन प्रयोग गर्नुपर्ने जिम्मेवारी महिलाकै मात्र हो भन्ने मान्यतालाई चिर्न नसकिएको जनाकारहरू बताउँछन्।

साथै महिला र पुरुषबीचको सामाजिक विभेद हटाउन सके पनि महिलामाथिको यो बोझमा केही कम आउने उनीहरूको भनाइ छ।