के सडकले अन्नपूर्ण क्षेत्रको पदयात्रा पर्यटन मास्दैछ?

  • 13 फेब्रुअरी 2019
अन्नपूर्ण क्षेत्रमा पदयात्राी तस्वीर कपीराइट Surendra Phuyal
Image caption अन्नपूर्ण आधार शिविरबाट फर्किँदै गरेका रुसी पर्यटकहरू। अन्नपूर्ण स्याङ्कचुरी क्षेत्रभित्र लान्द्रुक, घान्द्रुक र छोमरोङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ। यहाँ नजिकै केही तल माछापुच्छ्रे आधार शिविर रहेको छ।

स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लोभ्याउने अन्नपूर्ण क्षेत्र वरपर पनि केही वर्षयता डाँडाडाँडामा बुलडोजर तथा एक्स्क्याभेटर जस्ता साधन गुडाएर सडक निर्माण गर्ने क्रम तीव्र बनेको छ।

पूर्वतिर लमजुङको बेँसीसहरदेखि मनाङको चामे सडकमा सवारीको ओहोरदोहोर बढ्दो छ। म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम र मुक्तिनाथ सडक पनि व्यस्त रहन थालिसकेका छन्।

ती सडकले लमजुङ हुँदै मनाङ पुगेर मुस्ताङ हुँदै फेरि म्याग्दी र कास्की झर्ने अन्नपूर्ण क्षेत्रको फन्को लगाउने चक्रीय पदयात्रा मार्गको केही खण्डलाई इतिहासमा सीमित तुल्याइसकेका छन्।

सडकको फाइदाबेफाइदा के के?

लमजुङ-मनाङ र म्याग्दी-मुस्ताङ सडकले पदयात्रा मार्ग छोट्याइदिए पनि ती सडकले सम्भावनाका नयाँ ढोकाहरू खोलिदिएको पर्यटनविद्हरू बताउँछन्।

तस्वीर कपीराइट Surendra Phuyal
Image caption अन्नपूर्ण क्षेत्रको पुनहिल र घान्द्रुकमा बाह्रै महिना पर्यटकहरूको भिड लाग्छ

पहिलो, पदयात्रीबाहेक अन्य पर्यटकहरू मोटर चढेर हिमाली क्षेत्र छिटो र छरितो रूपमा पुग्ने क्रम बढेको छ जसले मनाङ र मुस्ताङमा पर्यटकको चहलपहल बढाइदिएको छ।

दोस्रो, पदमार्ग अर्थात् ट्र्किङ रुट मासिएको चिन्ता गर्नेहरूलाई स्थानीय बासिन्दाले नयाँ नयाँ र अन्वेषण नगरिएका पदमार्गहरू देखाइदिन थालेका छन्। जस्तै हालै मनाङका पर्यटन व्यवसायीले मनास्लु क्षेत्रबाट मनाङ पुग्दै नार र फुजस्ता कम परिचितित गन्तव्यहरू पाहुनाको स्वागत गर्न लालायित रहेको जानकारी दिए।

अन्नपूर्ण स्याङक्चुरी क्षेत्रभित्र पनि ल्वाङ घलेल-मार्दी हिमालका साथै खोप्रा डाँडा, सिक्लेस र पन्चासेजस्ता आकर्षक पदमार्गहरू लोकप्रिय हुँदैछन्। तातोपानी-घोडेपानी-पुनहिल-बनठाँटी-घान्द्रुक पदयात्रा मार्गमा पर्यटकहरूको ताँती घटेको छैन, बढ्दो छ।

अन्नपूर्ण क्षेत्रको बढ्दो आकर्षण

तस्वीर कपीराइट Surendra Phuyal
Image caption अन्नपूर्ण क्षेत्रमा अन्नपूर्ण फन्कोका अतिरिक्त अन्नपूर्ण आधार शिविर र अन्य केही पदयात्रा गन्तव्यहरू विश्वविख्यात छन्

अन्नपूर्ण क्षेत्र आफ्नो प्राकृतिक छटा तथा सांस्कृतिक एवम् जैविक विविधताको कारण विश्वविख्यात बनेको हो। समुद्र सतहबाट ८०० मिटरको उचाइमा अवस्थित पोखरा उपत्यकाबाट आकाश खुलेको दिन ८,००० मिटर अग्ला हिमचुलीहरू नजिकै देख्न सकिन्छ।

प्राकृतिक वातावरणमा पदयात्रा गर्दा शारीरिक तथा मानसिक स्फूर्ति बढ्छ। अन्नपूर्ण क्षेत्र प्रकृतिसँग रम्न पाइने देशकै एक प्रमुख गन्तव्य भएकोले अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रीहरूको भिडमा कुनै कमी आएको छैन।

त्यो बर्सेनि बढ्ने क्रममा छ। सन् २०१८ मा अहिलेसम्मको रेकर्डलाई पछि पार्दै अन्नपूर्ण क्षेत्रमा एक लाख ८० हजार पर्यटकले पदयात्रा गरेको जानकारी पोखरास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालयले दिएको छ।

नेपालका पदयात्राका प्रसिद्ध गन्तव्यहरूमा गएको वर्ष कति पर्यटकले पदयात्रा गरे भन्ने यकिन तथ्याङ्क प्राप्त नभए पनि तीमध्ये आधाभन्दा बढी अर्थात् करिब ६० प्रतिशतले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने अनुमान छ।

भारतीय र चिनियाँ पदयात्रीको आकर्षण पनि बढ्दै

तस्वीर कपीराइट Surendra Phuyal
Image caption कास्कीको घान्द्रुक गाउँबाट अन्नपूर्ण दक्षिण र हिमचुली हिमालको दृश्यावलोकनका साथै गुरुङ संस्कृतिको विविधता अनुभव गर्न सकिन्छ

सामान्यतया भारतीय पर्यटकभन्दा बढी पश्चिमा पर्यटकले पदयात्रामा रुचि लिएको पाइन्छ। तर अन्नपूर्ण क्षेत्रमा भने भारतीय पदयात्रीको सङ्ख्याले अरू मुलुकलाई धेरै पछि पारेको छ।

सन् २०१८ मा ४६ हजारभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेको एक्यापका सूचना अधिकृत ऋषि बरालले जानकारी दिए।

उनका अनुसार त्यो सङ्ख्या अघिल्लो वर्ष ३३ हजार थियो।

अन्नपूर्ण क्षेत्रमा भारतीयपछि अर्को छिमेकी मुलुक चीनबाट गत वर्ष १३ हजार पर्यटक आएका थिए। मुक्तिनाथधाम अन्नपूर्ण क्षेत्रमा पर्ने भएकाले र गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण गरेकाले त्यहाँ भारतीय धार्मिक पर्यटक थप आकर्षित भएको बताइन्छ।

मोटर बाटो निर्माणले पदमार्ग सङ्कटमा

अन्नपूर्ण क्षेत्रमा लमजुङ, मनाङ हुँदै मुस्ताङ पुग्ने सबैभन्दा प्रचलित अन्नपूर्ण चक्रीय पदमार्ग हो।

मोटर बाटो नबन्दासम्म यो पदमार्ग छिचोल्न तीन हप्ता लाग्थ्यो। यही पदमार्गमा पर्ने ५,४०० मिटर अग्लो थोराङला भन्ज्याङ पार गर्नु पर्यटकहरूको अभिलाषा हुन्थ्यो।

तस्वीर कपीराइट Surendra Phuyal
Image caption सडक सञ्जाल अन्नपूर्ण क्षेत्रका घान्द्रुक र अन्य भित्री गाउँसम्मै पुगिसकेका छन्। राजधानी काठमाण्डू र पोखरामा घान्द्रुक जाने बस वा जिप पाइन्छन्।

यो निकै साहसिक पदयात्रा हो। धेरै पर्यटक थोराङ्ला पार गरेपछि खुसीले रुने त्यस क्षेत्रमा जाने नेपाली पथप्रदर्शकहरू बताउँछन्। तर लमजुङबाट मनाङसम्म र म्याग्दीबाट मुक्तिनाथसम्म मोटर बाटो बनेपछि त्यो मार्ग छोटिएको मात्र छैन, त्यस क्षेत्रको सौन्दर्य पनि हराएको गुनासो पर्यटकले गर्ने गरेका छन्।

पदयात्रा व्यवसायीहरूको सङ्गठन टानको पश्चिमाञ्चलका पूर्वअध्यक्ष दीपकराज अधिकारी भन्छन्, "पैदल मार्गका सिँढीहरू डोजर लगाएर भत्काएर मोटर बाटो निर्माण गर्ने कामले अन्नपूर्ण क्षेत्रको पदयात्रा पर्यटन नै सङ्कटमा परेको छ।"

उपल्लो मुस्ताङ, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक-घोडेपानी लगायतका लामो र छोटो दूरीका पदयात्रा मार्ग "मोटर बाटोले ध्वस्त" हुन लागेको भन्दै व्यवसायीहरूले वैकल्पिक पदयात्रा मार्गको खोजी र विकास गर्नुपर्नेमा जोड दिइरहेका छन्।

जैविक विविधता

दुईवटा हिमाली जिल्ला मुस्ताङ र मनाङलगायत कास्की, म्याग्दी र लमजुङका १५ गाउँपालिकाका ७,९२६ वर्ग किलोमिटर भूभागमा अन्नपूर्ण संरक्षण आयोजनाले काम गरिरहेको छ।

तस्वीर कपीराइट Surendra Phuyal
Image caption नेपाल आउने पदयात्रीमध्ये आधाभन्दा बढी अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेको अनुमान छ

सन् २०१८ मा गरिएको पछिल्लो अध्ययन अनुसार अन्नपूर्ण क्षेत्रमा १,२३३ प्रजातिका बोटविरुवा, ५१८ प्रजातिका चरा, ३४८ प्रजातिका पुतली, १०५ प्रजातिका स्तनधारी जनावर र ४० प्रजातिका सरीसृप पाइन्छन्।