आवासीय अधिकार खोसिएपछि चिनियाँ अर्बपतिले गरे अस्ट्रेलियाको आलोचना

  • 13 फेब्रुअरी 2019
चीन तस्वीर कपीराइट AFP/Getty
Image caption अस्ट्रेलियामा चीनको बढ्दो प्रभावबारे चिन्ता व्यक्त हुने गरेको छ

आफ्नो आवासीय अधिकार गुमाएपछि एक चिनियाँ अर्बपतिले "भीमकाय बच्चा" भन्दै अस्ट्रेलियाको आलोचना गरेका छन्।

ह्वाङ स्याङ्मो नाम गरेका ती घरजग्गा व्यवसायीले चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्ससँग भने, "यो एउटा वस्तुगत तथ्य हो कि अस्ट्रेलियाका अन्तर्निहित चरित्रहरू बच्चाका जस्ता छन्।"

सन् २०११ देखि सिड्नीमा बस्दै आएका ह्वाङले त्यहाँका मुख्य राजनीतिक दलहरूलाई लाखौँ डलर चन्दा दिएका थिए।

तर नागरिकतासम्बन्धी आफ्नो आवेदन अस्वीकृत भएपछि र स्थायी आवासको अनुमति पनि रद्द गरिएपछि उनी अस्ट्रेलियाबाहिर बस्न बाध्य भएका थिए।

अस्ट्रेलियाको दैनिक पत्रिका द सिड्नी मर्निङ हेराल्डले ह्वाङको भिसा अस्वीकृत गरिएको समाचार पहिलो पटक प्रकाशित गर्दै उनलाई "अस्ट्रेलियामा बेइजिङका लागि वकालत गर्ने शीर्ष व्यक्ति" भनेको थियो।

ह्वाङ चिनियाँ कम्युनिस्ट पार्टी निकट रहेको बताउँदै अस्ट्रेलियाको राष्ट्रिय सुरक्षा निकायले नेताहरूलाई उनीबाट पैसा नलिन सचेत गराएको थियो।

अस्ट्रेलियामा चिनियाँ प्रभाव बढिरहेको भन्दै दुई देशको सम्बन्ध तरङ्गित भइरहेका बेला यस्तो समाचार सार्वजनिक भएको हो।

ह्वाङले के भने?

अस्ट्रेलियाबारे आक्रमक बनेका ह्वाङले कडा राष्ट्रवादी धारमा समाचार सम्प्रेषण गर्ने भनेर चिनिएको ग्लोबल टाइम्स पत्रिकासँग कुराकानी गरेका हुन्।

दुई देशबीच के कारणले तनाव उत्पन्न भएको होला भनेर सोधिँदा उनले भने, "अस्ट्रेलियाको इतिहासले नै भीमकाय बच्चाको जस्तो अन्तर्निहित गुण दिएको छ।"

"यो वस्तुगत तथ्य हो र यसबाट अस्ट्रेलियाले हीनताबोध गर्नुपर्दैन। भीमकाय बच्चा हुर्कन समय लाग्छ र अस्ट्रेलियाले पनि अझै लामो दूरी तय गर्नुपर्नेछ।"

प्राकृतिक सुन्दरता र सरल लोकपरम्पराबाट आकर्षित भएर आफू अस्ट्रेलिया बसाइँ सरेको भन्दै उनले केही सञ्चारमाध्यमले आफूलाई बदनाम गर्न खोजेको आरोप लगाए।

ह्वाङको सम्बन्ध कोसँग छ?

समाचारसामग्रीहरूमा जनाइएअनुसार यी अर्बपतिले अस्ट्रेलियाका दुवै राजनीतिक पार्टीलाई झन्डै २७ लाख अस्ट्रेलियन डलर चन्दा दिएका थिए।

त्यसलाई उनले 'चिनियाँ नागरिकको राजनीतिमा कानुनी संलग्नता'लाई प्रेरित गर्ने इच्छाबाट निर्देशित रहेको बताएका थिए।

पछिल्ला वर्षमा अस्ट्रेलियामा बढेको चिनियाँ प्रभावबारे त्यहाँ प्रश्न उठ्न थालेको छ।

उनको सम्बन्ध लेबर पार्टीका नेता स्याम डस्ट्यरीसँग रहेको बताइन्थ्यो।

डस्ट्यरीले सन् २०१७ मा साउथ चाइना सी विवादबारे चीनको पक्षमा टिप्पणी गरेपछि राजीनामा दिएका थिए।

तस्वीर कपीराइट AFP/Getty
Image caption लेबर पार्टीका नेता साम डस्ट्यरीले सन् राजीनामा दिएका थिए

डस्ट्यरीले आफू निगरानीमा भएको हुन सक्ने ह्वाङलाई जनाउ दिएको बताइन्छ।

तर डस्टयारीले भने त्यसको खण्डन गर्दै आएका छन्।

चीनअस्ट्रेलियाबीच कस्तो सम्बन्छ छ?

चीनको प्रभावबारे 'चिन्ताजनक' विवरणहरूलाई इङ्गित गर्दै सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री माल्कम टर्न्बुलले अस्ट्रेलियामा विदेशी सरकारहरूले सञ्चालन गरेका 'गोप्य, दबावमूलक' गतिविधिहरू नियन्त्रण गरिने बताएका थिए। तर कुनै एउटा देशलाई लक्षित भने नगरिने उनको भनाइ थियो।

सोही वर्ष चिनियाँ विद्यार्थीहरूले अस्ट्रेलियाका विश्वविद्यालयका शैक्षिक सामग्रीबारे गुनासो गरेका थिए। त्यसबाट चीनले शैक्षिक संस्थाहरूमा दबाव दिएको हो कि भन्ने आशङ्का उत्पन्न भएको थियो।

गत नोभेम्बरमा प्रधानमन्त्री स्कट मोरिसनले प्रशान्त महासागरमा रहेका टापुराष्ट्रहरूका लागि अर्बौं डलरको एउटा नयाँ कोष स्थापना गरे। उक्त क्षेत्रमा चीनको प्रभावलाई रोक्न सो कोषको स्थापना गरिएको आकलन गरिएको छ।

सो क्षेत्रलाई "आफ्नो भेग" बताउँदै मोरिसनले अस्ट्रेलियाले दक्षिणपश्चिम प्रशान्त क्षेत्रमा आफ्नो प्रभावलाई कम नठान्ने बताएका थिए।

चिनियाँ विदेशमन्त्री वाङ यीले अस्ट्रेलिया र चीनले प्रशान्त टापुराष्ट्रहरूमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

सन् २०११ यता बेइजिङ ती टापुहरूमा वैदेशिक सहायता प्रदान गर्ने अस्ट्रेलियापछि दोस्रो ठूलो दाताको रूपमा छ।

यो पनि हेर्नुहोस्

सम्बन्धित सामग्री

सम्बन्धित समाचार