सशस्त्र द्वन्द्वको वर्षगाँठलाई लिएर नेकपाको मतभेद छताछुल्ल

  • 13 फेब्रुअरी 2019
ओली प्रचण्ड तस्वीर कपीराइट WEBSITE OF KP OLI AND PRACHANDA

भेनेजुएला प्रकरणपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र मत भिन्नताहरू बढेको भन्ने खबरहरू आइरहेका बेला तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र द्वन्द्व शुरू भएको दिन फागुन १ गतेलाई 'जनयुद्ध दिवस' मान्ने कि नमान्ने भन्नेबारे पनि उक्त पार्टीभित्र विवाद देखिएको छ।

पार्टीका एकजना वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फागुन १ गतेका विषयमा नेताहरूले एकल निर्णय गरेको र त्यो मान्य नहुने बताएका छन्।

तर पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चाँहि बुधवार राजधानी काठमाण्डूमा भएको एउटा कार्यक्रममा 'नेकपामा फुट ल्याउन चाहनेहरू सक्रिय भए' पनि त्यस्तो फुट नआउने टिप्पणी गरेका छन्।

नेकपा एमाले र माओवादीबीच एकता भएर बनेको सत्तारूढ नेकपाले आज पहिलो पटक माओवादीले सशस्त्र द्वन्द्व शुरु भएको दिनलाई सम्झना गरेको हो।

स्थायी कमिटी बैठकले नेकपामा पार्नसक्ने तीन प्रभाव

विवाद‌ित राजनीतिक नियुक्तिप्रति नेकपामा असन्तुष्टि

नेकपा चार नेताद्वारा बैठक बहिष्कार: 'प्रधानमन्त्रीद्वारा अपमानित'

नेकपा बैठकः १० मध्ये ९ नेताद्वारा सरकारको आलोचना

दिवस होइन, सम्झना मात्र

अघिल्ला वर्षमा माओवादीले फागुन १ गतेलाई 'जनयुद्ध दिवस'का रूपमा मनाउने गरेकामा यसपटक भने नेकपाले उक्त दिनलाई दिवसका रूपमा भने मनाएन।

नेकपाले आधिकारिक रूपमा 'जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली' भन्ने कार्यक्रम राखे पनि कतिपय स्थानमा भने 'जनयुद्ध दिवस'कै नाममा समेत कार्यक्रम गरिएका थिए।

राजधानी काठमाण्डूको धुम्बाराही र कोटेश्वरस्थित पार्टी कार्यालयमा भएका कार्यक्रममा उक्त पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल मात्र सहभागी भए।

पार्टी एकता हुनुपूर्व माओवादीको कट्टर आलोचक मानिने प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी नहुनुलाई धेरैले उनले माओवादीले भन्दै आएको 'जनयुद्ध दिवस'लाई स्वीकार नगरेको रूपमा अर्थ्याएका छन्।

तस्वीर कपीराइट RSS

तर धुम्बाराहीको कार्यक्रममा दाहालले ओली व्यस्त भएर सहभागी नभएको दाबी गरे।

ओलीको बचाउमा प्रचण्ड

उनले भने, "अहिले सरकार गठन भएको एक वर्ष पुगेको र त्यसका लागि गर्नैपर्ने केही कामको धेरै नै चाप रहेकाले कमरेड केपी ओली यहाँ उपस्थित नभए पनि हाम्रो दुवैजनाको सहमति र समझदारीमा यो निर्णय भएको छ र देशैभरि मनाइएको छ।"

धुम्बाराहीको कार्यक्रममा एकताअघि एमालेमा रहेका शीर्षस्थ नेताहरू सहभागी थिए।

कोटेश्वरको कार्यक्रममा भने पहिले माओवादीमा रहेका नेताहरू मात्र उपस्थित देखिए।

कतिपय पूर्वमाओवादी नेताले फागुन १ गतेलाई 'जनयुद्ध दिवस'का रूपमा नमनाइएको र कतिपय पूर्वएमाले नेताहरूले आज आधिकारिक कार्यक्रम गरिएकोमा असन्तुष्ट देखिएका छन्।

एशिया प्यासिफिक समिट: 'यत्रो पैसा कहाँबाट आयो?'

भेनेजुएला प्रकरणमा हामी चिप्लिएकै हो: प्रधानमन्त्री केपी ओली

अर्को माओवादी जन्मिने, झन् ठूलो लडाइँ हुने: प्रचण्ड

माधवको असन्तुष्टि र ओलीको जवाफ

जनकपुर पुगेका नेकपाका एकजना वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि त्यस्तै असन्तुष्टि व्यक्त गरे।

सञ्चारकर्मीहरूले 'जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली' कार्यक्रममा उनको सहभागीता बारे सोधेको प्रश्नमा उनले भने "कुनै पनि पार्टीले यस्तो कार्यक्रम गर्दा कमिटिबाट गर्नुपर्छ। मलाई थाहा छैन निजी-निजी निर्णय गर्ने कुराप्रति मेरो गम्भीर आपत्ति छ। व्यक्तिले म सर्वेसर्वा हो भनेर भन्ने कुरा गर्नु हुँदैन।"

नेता नेपालले असन्तुष्टि व्यक्त गरिरहेका बेला प्रधानमन्त्री ओलीले चाँहि आजै काठमाण्डूमा भएको एउटा कार्यक्रममा नेकपामा फुट ल्याउन खोज्नेहरू सक्रिय भएको बताए।

उनले कतिपयको चाहना अनुरुप नेकपामा फुट नआउने दाबी गरे।

तर आफ्नो लामो मन्तव्यमा समेत ओलीले फागुन १ वा माओवादी सशस्त्र द्वन्द्वको शुरुवात भएको दिनको स्मरण भने गरेनन्।

सम्बन्धित सामग्री