ज्याक डोर्सी: किन खोज्दैछ ट्विटरका प्रमुख कार्यकारीलाई भारत

  • 17 फेब्रुअरी 2019
ज्याक डोर्सी तस्वीर कपीराइट AFP

ज्याक डोर्सी विवादमा परिरहन्छन्।

पछिल्लोपटक भारत भ्रमणमा रहँदाको नोभेम्बर महिनामा ट्विटरका यी प्रमुख कार्यकारीले सामान्य ठानेर खिचेको एउटा तस्बिरले भारतका हिन्दू राष्ट्रवादीहरूलाई भने क्रुद्ध पार्‍यो।

उक्त तस्बिरमा देखाइएको एउटा प्लेकार्डमा उच्च जातका हिन्दूहरूबाट हुने विभेदलाई सङ्केत गर्दै 'टुक्रिएको ब्राह्मणवादी पितृसत्ता' लेखिएको थियो।

उनकै सामाजिक सञ्जालमा देखा परेको प्रतिक्रिया उग्र थियो: डोर्सीलाई तत्कालै 'घृणाका व्यापारी' भएको आरोप लगाइयो।

लगत्तै अर्को महिना यससँग कुनै सन्दर्भ नजोडिने विवादमा उनले म्यानमारलाई पर्यटकीय गन्तव्य भनेका थिए।

उक्त देशमा व्यापक मानवाधिकार उल्लङ्घन भइरहेका आरोपमाझ उनले चरणवद्ध ट्वीट गरेका थिए।

भारतमा किन तानिए विवादमा?

विश्वभरि १२ करोड ६० लाख दैनिक प्रयोगकर्ता रहेको बताउने ट्विटरको लागि भारत सबैभन्दा द्रुत गतिमा बजार विस्तार भइरहेको एउटा प्रमुख देश हो।

त्यहीँ अहिले डोर्सीलाई भारतीय सांसदहरूले आफूहरूसमक्ष उपस्थित हुन आदेश दिएका छन्।

एउटा अनुमानअनुसार ट्विटरका छमध्ये एक प्रयोगकर्ता भारतबाटै आउँछन्।

प्रधानमन्त्री नरेन्द्र मोदी उक्त सञ्जालमा धेरै पछ्याइनेमध्येका एक हुन्।

"भारतमा हाम्रो लागि यो निकै उत्साहजनक समय हो," एशिया-प्रशान्त क्षेत्रका लागि ट्विटरका उपाध्यक्ष एवम् प्रबन्ध निर्देशक माया हरिले बताइन्।

एकतीस सदस्यीय संसदीय समितिले डोर्सीलाई २५ फेब्रुअरीमा आफूसमक्ष उपस्थित हुन भनेको छ।

त्यसको कारण "सामाजिक सञ्जाल र अन्लाइनमा आउने समाचारमा नागरिक अधिकार सुरक्षित गर्न" उनको विचार बुझ्न चाहेको बताएको छ।

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का सांसद अनुराग ठाकुरले उक्त समितिको नेतृत्व गरेका छन्।

सरकार-ट्विटर टकराव

ट्विटर भने त्यो अस्वाभाविक प्रकृतिको बैठक कस्तो हुनेछ भन्नेमा स्पष्ट देखिँदैन।

यो महिनाको आरम्भतिर भारतमा रहेको ट्विटरको कार्यालयमा सांसदहरूले एक पत्र पठाएसँगै यो बहस सुरु भएको थियो।

उनीहरूले उक्त सञ्जालका प्रमुख वा कोही वरिष्ठ कार्यकारीलाई ११ फेब्रुअरीमा भेट्न चाहेको बताएका थिए।

ट्विटरको स्थानीय कार्यालयले त्यति छोटो समयको जानकारीका भरमा डोर्सी उपस्थित हुन नसक्ने भन्दै त्यसको साटो भारतमै रहेका एकजना शीर्ष नीतिगत मामिलामा प्रभाव राख्ने कर्मचारी पठाउन सकिने भनेको थियो।

उक्त जवाफले ठाकुरलाई निकै असन्तुष्ट पार्‍यो।

जब ती कर्मचारीहरू सांसदहरूलाई भेट्न पुगे, उनीहरूले भेट्न अस्वीकार गरे।

उनीहरूले स्पष्टसँग ज्याक डोर्सी नै चाहिएको बताए।

यो पनि हेर्नुहोस्

डोर्सीलाई बोलाइएको समय झनै रोचक छ।

महत्त्वपूर्ण मानिएको भारतीय निर्वाचन नजिकिएको बेला त्यहाँका दक्षिणपन्थीहरूले बीजेपी समर्थक ट्विटर खाताहरू बन्द गरिएको भन्दै असन्तुष्टि पोखिरहेका थिए।

सरकार पक्षधर टेलिभिजनहरूले जनाएअनुसार सांसदहरूले ट्विटरका अधिकारीहरूलाई बोलाउनुको कारण 'निष्पक्ष नदेखिएको आरोप'का कारण हो।

तर सरकारले ट्विटरलाई पठाएको पत्रमा भने कहीँकतै त्यसको उल्लेख छैन।

भाजपाका प्रवक्ता तजिन्दर पल सिंहले ह्याश्ट्याग #ProtestAgainstTwitter प्रवर्धन गर्दै यस मुद्दालाई झनै उचालेका छन्।

अरूले भने त्यसमा साथ दिँदै ट्विटरलाई निष्पक्ष नरहेको र 'निरङ्कुश' व्यवहार देखाएको भनेका छन्।

गतसाता आफूलाई युथ फर सोशल डेमोक्रेसी समूहको सदस्य बताउने मानिसहरू दिल्लीस्थित ट्विटर कार्यालयबाहिर भेला भएर सो सामाजिक सञ्जाल कम्पनीले 'दक्षिणपन्थी विरोधी' मानसिकता देखाएको बताए।

एकजना प्रदर्शनकर्ताले भने, "उनीहरूले हाम्रा ट्विटर खाता बन्द गरिदिनुका साथै ट्वीटका प्रभावहरू कम गराइदिए।"

स्पष्टीकरण

ट्विटरले प्रतिक्रिया जनाउँदै कुनै विचारमा आधारित रहेर आफ्ना प्रयोगकर्ताविरुद्ध काम नगरेको बताएको छ।

"म के स्पष्ट पार्न चाहन्छु भने हामीले कुनै कुरालाई राजनीतिक विचारका आधारमा समीक्षा गर्ने, प्राथमिकतामा राख्ने वा कडाइ गर्ने गर्दैनौँ। हरेक ट्वीट र ट्विटर खातालाई निष्पक्ष भएर हेरिन्छ। हाम्रा नीतिहरू सबैप्रति निष्पक्ष भएर विवेकी ढङ्गबाट प्रयोग गर्छौं," ट्विटरमा सार्वजनिक नीति, शासन र स्वयम्सेवी प्रयासहरूको नेतृत्व गर्ने कोलिन क्रोवेलले भने।

उनका अनुसार सन् २०१८ को सुरुयता ७० भन्दा बढी सेवा, नीति र सञ्चालनका विषयमा परिवर्तन भएका छन्।

त्यसो गर्नुलाई सो सञ्जालमा आफूलाई अभिव्यक्त गर्न सुरक्षित गराउनु रहेको बताइएको छ।

"सेवाको दुरुपयोग हुने र घृणा फैलाउने कामहरू जुनसुकै वैचारिक दृष्टिकोण भएका मानिसहरूबाट आए पनि नियम मिचिएका त्यस्ता अवस्थामा भने हामी कारबाहीमा जान्छौँ।"

ट्विटरले के स्वीकारेको छ भने 'गल्ती हुनसक्छ' र त्यसले छोटो समयका लागि खाताहरू निष्क्रिय पारिन सक्छन्।

त्यसको कारण राजनीतिक विचार नभई मानवीय त्रुटि हुन्।

तस्वीर कपीराइट AFP

"हामीसँगै निष्पक्ष रुपमा ट्विटरका नियम पालना गराउने केन्द्रीय विज्ञ टोली छ। भारतमा रहेका हाम्रा कर्मचारीले एक्लै वा कसैको दबावमा निर्णय लिन सक्दैनन्। यो निष्पक्षता कायम गर्नैका लागि गरिएको हो।"

मोदी किन त्यसो गर्दैछन्?

विश्वमा अन्यत्रजस्तै भारतमा पनि घृणा फैलाउने सन्देश, त्रास, हत्याको धम्की र व्यापक रूपमा महिलाको खेदो खन्ने काम ट्विटरको मुख्य समस्याको रूपमा हेरिन्छ।

"भारतीय संसद्जस्तो प्रतिष्ठित संस्थालाई ससाना विषयमा ट्विटरसँग जुध्नु शोभनीय हुँदैन। के नबिर्सौँ भने भारतीय संसद्को गरिमा राख्न ज्याक डोर्सीलाई कुनै बाध्यता छैन। तर हाम्रा विधायकहरूले त त्यसकै लागि शपथ खाएका छन्," बैङ्लोरमा रहेको एक स्वतन्त्र सार्वजनिक नीति संस्था तक्षशीलाका निर्देशक नितिन पाईले बताए।

प्रशान्त रावजस्ता विश्लेषकहरू भने डोर्सीलाई बोलाइएको यस घटना बहुराष्ट्रिय र विदेशी डिजिटल कम्पनीविरुद्ध आक्रोशपूर्ण टकरावको अवस्थाको रूपमा हेर्छन्।

पछिल्ला वर्षहरूमा मोदी सरकारले देशबाहिर बसेर रकम आदानप्रदान गर्ने वा डिजिटल भुक्तानी गर्ने कम्पनीहरूलाई स्थानीय रूपमा विवरण राख्न भनेको थियो।

भारतमा सबैभन्दा ठूलो बजार रहेको सन्देशहरू आदानप्रदान हुने एप्स ह्वाट्स्एपलाई सार्वजनिक अस्थिरता सिर्जना गर्ने घटना उब्जाउने सन्देश पठाइएको ठाउँ थाहा दिन दबाव दिएको थियो।

डिसेम्बर महिनामा अमेजन र फ्लिप्कार्टजस्ता मुख्य साझेदारसँग सल्लाह नै नगरी उसले ई-कमर्सका नियमहरू परिवर्तन गरेको थियो।

"यी कदमहरू धेरैजसो उग्रराष्ट्रवाद र स्थानीय व्यवसायीका दबावबाट प्रेरित देखिन्छन्," विश्लेषक राव भन्छन्, "धेरैलाई आकर्षित गरेको भारतको डिजिटल सहकार्य प्रधानमन्त्री मोदीको महत्त्वाकाङ्क्षी डिजिटल भारत कार्यक्रमको रूपमा देखिएको थियो जुन अहिले बाँकी विश्वसँग पूरै तितो विन्दूमा पुगेको छ।"

सम्बन्धित सामग्री