कश्मीर आक्रमण: भारतीय सेनाबाट निवृत्त वरिष्ठ अधिकारी भन्छन्, 'सुरक्षा फौजको कमजोरीका कारण'

  • 15 फेब्रुअरी 2019
भारतीय सेनाका पूर्व रथी शक्ति गुरुङ तस्वीर कपीराइट Gorkhali Sudhar Sabha

भारतीय सुरक्षा फौजको कमजोरीकै कारण लडाकु समूहले कश्मीरको पुलवामामा ठूलो मानवीय क्षति हुनेगरी आक्रमण गर्न सकेको भारतीय सेनाबाट अवकाश पाएका एक वरिष्ठ सैन्य अधिकारीले बताएका छन्।

भूतपूर्व लेफ्टिनेन्ट जनरल शक्ति गुरुङका अनुसार त्यस क्षेत्रमा केही दिनयता सुरक्षाकर्मीहरूको गतिविधि बढिरहेको थियो र त्यसैले विद्रोही समूहलाई सेन्ट्रल रिजर्भ पुलिस फोर्स भनिने अर्धसैन्य फौजका सदस्यहरू चढेको गाडीको लस्करलाई निसाना बनाउन सजिलो भयो।

एकजना आत्मघाती आक्रमणकारीले बिहीवार विस्फोटक पदार्थ भरिएको गाडी सीआरपीएफको गाडीमा जोतिदिएका थिए। विस्फोटनमा परेर कम्तीमा ४६ जनाको मृत्यु भएको छ।

भारतीय सुरक्षाकर्मीहरूलाई लक्ष्य गरिएको सो आक्रमणबारे उनले बीबीसी नेपाली सेवासँग भने, "यो हमला सुरक्षा कमजोरीको कारण भएको हो, गुप्तचर निकायको विफलताका कारण भएको हो।"

देहरादुन निवासी गुरुङ त्यहाँको गोर्खाली सुधार सभा नामक सामाजिक संस्थामा पनि सक्रिय छन्।

सुरक्षा कमजोरी कस्तो?

गुरुङले भने, "राजमार्ग नखुलेर सुरक्षाकर्मीहरू जम्मूमा थुप्रिएका थिए। त्यसैले त्यस क्षेत्रमा केही समयअघिदेखि सुरक्षाकर्मीको गतिविधि निकै बढेको थियो। त्यस्तो बेला हाम्रो सुरक्षा छिद्र र कमजोरीहरूको फाइदा उठाएर कायरतापूर्ण हमला गरेका छन्।"

"त्यत्रो धेरै विस्फोटक पदार्थ राखिएको मोटर कसरी राजमार्गमा पुग्यो? यो सुरक्षा कमजोरीकै कारण भएको हो।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
व्यस्त राजमार्गमा आत्मघाती आक्रमणकारीले विस्फोटन गराएका थिए

गुरुङका विचारमा यो आक्रमण गम्भीर प्रकृतिको भए पनि त्यसले भारतको समग्र सुरक्षा व्यवस्थामा खासै फरक पार्दैन।

उनले भने, "हेर्नूस् पछिल्लो समयमा भारतीय सुरक्षा फौजले उनीहरूका धेरै सदस्य तथा कमान्डरहरूलाई निसाना बनाएको थियो। अहिले उनीहरूले यो आक्रमण गरेर आफ्ना लडाकुको आत्मबल बढाउने र आफ्नो सक्रिय उपस्थिति अझै रहेको छ भनेर देखाउन खोजिरहेका छन्।"

उनका अनुसार कश्मीरमा भएको यो आक्रमणपछि भारत सरकार र भारतीय सुरक्षा निकायहरूले अनुसन्धान गर्नेछन् र आफ्ना क्रियाकलापहरूको समीक्षा गर्नेछन्।

उनले भने, "अब कहाँ कहाँ सुरक्षा कमजोरी भयो त्यसको अनुसन्धान हुन्छ।"

राजनीतिमा कस्तो असर पर्ला?

भारतमा निर्वाचन हुनुभन्दा केही साताअघि यो आक्रमण भएको छ।

यसले निर्वाचनमा प्रभाव पार्न सक्ने कतिपयको आकलन छ। तर शक्ति गुरुङ भने त्यससँग सहमत छैनन्।

उनले भने, "यसको राजनीति वा चुनावसँग कुनै सम्बन्ध छ जस्तो मलाई लाग्दैन।"

पुलवामामा आक्रमण भएपछि भारतीय सुरक्षा फौजले तत्कालै कुनै प्रत्याक्रमण गर्न सक्ने सुरक्षाविद्हरूको अनुमान छ।

तस्वीर कपीराइट Reuters

तर भूतपूर्व लेफ्टिनेन्ट जनरल गुरुङ त्यसबारे यसै हो भन्न सकिने स्थिति नरहेको जनाउँछन्।

भारतीय फौजले अब कस्तो कारबाही गर्ला?

पुलवामा आक्रमणपछि सुरक्षा व्यवस्थाका लागि बसेको बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सुरक्षा निकाय आवश्यक सुरक्षा कारबाहीका लागि स्वतन्त्र रहेको बताइसकेका छन्।

त्यसैले छिट्टै कुनै आक्रमण हुन सक्ने अनुमान गरिएको छ।

गुरुङले भने, "भारतीय फौजले विद्रोहीविरुद्ध प्रत्याक्रमण गर्नुअघि आफ्नो कमजोरीको अनुसन्धान र समीक्षा गर्नु पर्ला नि।"

उनका विचारमा पछिल्लो आक्रमणपछि भारतीय सुरक्षा निकायहरूले पाठ भने सिकेका छन्।

सबैभन्दा महत्त्वपूर्ण पाठ हो सुरक्षा व्यवस्थाको समीक्षा गर्नु र सुरक्षाव्यवस्थामा भएका छिद्रहरू टाल्नु।

सम्बन्धित सामग्री