कांग्रेसले उठायो प्रधानमन्त्रीको सत्ता चलाउने योग्यतामा प्रश्न

  • 17 फेब्रुअरी 2019
कांग्रेस तस्वीर कपीराइट Facebook/Nepali Congress

झण्डै दुई तिहाइ बहुमतका साथ बनेको केपी ओली नेतृत्वको सरकारले एक वर्षमा नेपालमा समृद्धि र विकासको जग बसालेको भनिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यो सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ।

ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा आइतवार पत्रकार सम्मेलन गर्दै कांग्रेसले उसैका शब्दमा 'सरकारका असफलता र कमजोरीहरू'को फेरहरिस्त सार्वजनिक गरेको हो।

उक्त पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देखाएका वर्तमान सरकारका आठवटा मुख्य कमजोरी र असफलताहरू।

छाया सरकारमा मन्त्री बन्न कांग्रेस सांसदलाई निम्तो

महासमिति बैठकपछि कांग्रेसको पुरानो चमक फर्किएला?

१। 'संघीयतालाई कमजोर बनाइयो'

पत्रकार सम्मेलनमा बोल्दै शर्माले यो सरकारले संघीयतालाई कमजोर बनाउने काम गरेको आरोप लगाए।

उनले सरकारले प्रमुख जिल्ला अधिकारीलाई शक्तिशाली बनाएर प्रदेश सरकारलाई उनको मातहत राख्न खोजेको जस्तो देखिएको दाबी गरे।

अहिलेको सरकारको प्रवृत्तिले संघीयता कमजोर बन्ने तर्क समेत गरे।

उनले संघीयतामा शक्ति विकेन्द्रीकरण हुनुपर्नेमा प्रधानमन्त्री कार्यालयमा शक्ति थुपार्ने काम गरिएको भन्दै त्यसले संघीयतालाई कमजोर पार्ने दाबी गरे।

उनले भने, "सरकारले नियतवस संघीयतालाई बद्नाम गराउने अलोकप्रिय बनाउने र असफल बनाउने षडयन्त्र गर्न खोजेको छ।"

२। 'संविधान मिचियो'

कांग्रेसले सरकार तथा सत्तापक्षले संविधान मिचेको समेत आरोप लगाएको छ।

उसका अनुसार संवैधानिक परिषद्‍मा पदेन सदस्य रहने प्रमुख प्रतिपक्षी दलको नेतालाई बैठकका मुद्दाहरूबारे लिखित जानकारी दिनुपर्नेमा त्यसलाई मिचिएको छ।

कांग्रेसले त्यही कारण देखाउँदै संसदीय सुनुवाई समितिका केही बैठकहरू समेत स्थगित गरिसकेको छ।

शर्माले 'संविधानको बर्खिलाप हुने व्यवहार गरिएको' आरोप लगाए।

उनले बहुमतका आधारमा निर्णयमा कांग्रेसको विमति नभए पनि विवेक गुमाउनु नहुने बताए।

उनले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने प्रावधान समेत मिचिएको आरोप लगाए।

३। 'प्रधानमन्त्रीको शासकीय योग्यतामा प्रश्न'

कांग्रेसले प्रधानमन्त्रीको शासकीय योग्यतामाथि पनि प्रश्न गरेको छ।

शर्माले भने, "जसलाई देशले भर गर्‍यो उससँग त्यो भर बमोजिमको शासकीय भर देखिएन।"

उनले प्रधानमन्त्रीले बोल्ने तर व्यवहार नगर्ने प्रवृत्ति देखाएको आरोप लगाए।

त्यसले उनकै शब्दमा 'देशवासीले राम्रै मनोरञ्जन' मात्र पाएका छन्।

उनले 'इतिहासमा बोली होइन कर्म लेखिने' भएकाले प्रधानमन्त्रीलाई पनि काम गर्न सुझाव दिए।

कांग्रेसभित्र धर्मनिरपेक्षता र हिन्दूराष्ट्रबीचको खिचातानी कहाँ पुग्ला

काङ्ग्रेस कमजोर बन्नुका पाँच कारण

४। 'कूटनीतिक अपरिपक्वता'

कूटनीतिक अपरिपक्वतालाई कांग्रेसले ओली सरकारको अर्को असफलताका रूपमा व्यख्या गरेको छ।

शर्माले गएको एक वर्षमा सरकारले 'कूटनीतिक परिपक्वतामा गरिबी देखाएको' दाबी गरे।

उनले भेनेजुएला प्रकरणको उदाहरण दिँदै भने, "कूटनीतिक प्रश्नमा अलमल र दुबिधाग्रस्त टिप्पणी या जरुरी नै नभएको वक्तव्यबाजीले मुलुकको हित गर्दैन। हाम्रो परराष्ट्र नीतिको मूल आधार भनेको असंलग्नता हो मार्क्सवाद, माओवाद वा चाभेजवाद त्यसमाथि हाबी हुने संकेत दूर्भाव्यपूर्ण थियो।"

५। 'भ्रष्ट्राचार बढ्यो, सुशासन भएन'

कांग्रेसले गएको एक वर्षमा भ्रष्टाचारमा सरकारले उसकै शब्दमा 'क्रान्तिकारी छलाङ' मारेको छ।

कांग्रेस प्रवक्ता शर्माले राष्ट्रपतिले समेत भ्रष्टाचारमा चिन्ता व्यक्त गरेको भन्दै भने, "क्रान्तिकारी छलाङ भन्ने शब्द शीतल निवासबाट जारी गर्न मिल्दैन थियो त्यसैले सम्माननीय राष्ट्रपतिले शालिनतापूर्वक टिप्पणी गर्नुभयो- भ्रष्टाचार संस्थागत ढंगले भइरहेको सुनेकी छु।"

उनले नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा ठूला आकारका जहाजमा भएको भनिएको घोटालादेखि बूढीगण्डकी आयोजना विना प्रतिष्पर्धा विदेशीलाई दिइएको प्रसंग समेत उठाए।

उनले शाही शासनकालमा शाही आयोग गठनकै शैलीमा सरकारले संसदीय समितिलाई छल्न विमान खरिदबारे छानबिन गर्न भन्दै समानान्तर आयोग बनाएको आरोप पनि लगाए।

भ्रष्टाचार सिंहदरबारबाट प्रदेशमा समेत सरेको आरोप कांग्रेसको छ।

उनले विश्व बैंक र ट्रान्सपरेन्सी इन्टरनेसलनजस्ता संस्थाको हवाला दिँदै गएको एक वर्षमा सुशासन खस्केको टिप्पणी गरे।

६। 'आर्थिक अवस्था खस्कियो'

शर्माले विभिन्न सरकारी तथ्याङ्ककको हवाला दिँदै नेपाली आर्थिक अवस्था थप खस्केको दाबी गरे।

उनले यस अवधिमा व्यापर, शोधनान्तर घाटा र मूल्यवृद्धि बढेको आरोप लगाए।

उनले वैदेशिक लगानी घटेको तथा सेयर बजार ओरालो लाग्नुलाई पनि सरकारको आर्थिक असफलताका रूपमा अर्थ्याए।

प्रधानमन्त्री ओलीले भन्ने गरेको 'समृद्ध नेपाल, सुखी नेपाली'को नारातर्फ संकेत गर्दै शर्माले भने, "गणतन्त्रका लागि जुन बेला संघर्ष भइरहेको थियो त्यसबेला वर्तमान प्रधानमन्त्रीले भन्नुभएको थियो- बयलगाडा चढेर अमेरिका पुगिँदैन। एक वर्षमा सरकारको गति, मति र प्रवृत्ति हेर्दै गर्दा समृद्धि मिठो नारा मात्र होइन भने बयलगाडामा बसेर सगरमाथा चढ्न सकिँदैन।"

७। 'अभिव्यक्ति स्वतन्त्रामा हमला'

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता शर्माले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि हमला गरेको र अधिनायकवादतर्फ उन्मुख भएको आरोप पनि लगाए।

पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उनले दुई तिहाइको सरकार एउटा गीतबाट समेत डराएको बताएका थिए।

उनले हालै मात्रै सरकारलाई कटु आलोचना गरिएको एउटा गीतका गायकलाई सरकार समर्थकहरूले सामाजिक सञ्जालमा गाली गरेपछि उनले गीत हटाएको विषयले त्यसको संकेत गर्ने दाबी गरे।

८। सामाजिक न्याय खुम्च्याइयो

शर्माले कम्यूनिष्ट सरकार भनिए पनि यो सरकारले सामाजिक न्याय खुम्च्याएको आरोप लगाए।

त्यसको उदाहरणको रूपमा उनले फरक क्षमता भएका नागरिकका लागि दिइँदै आएको आरक्षणको कोटा घटाइएको र दीर्घ रोग लागेकालाई पूर्ववर्ती कांग्रेस सरकारका बेला दिन शुरु गरिएको निर्वाहभत्ता कटौती गरिएकोलाई प्रस्तुत गरेका थिए।

आफ्नो बचाउ

कांग्रेसले गएको एक वर्षमा आफ्नो भूमिकाको भने बचाउ गरेको छ।

सरकारको एक वर्षको अवधिमा आफूले शालीन तर आक्रामक प्रतिपक्षको भूमिका खेलेको शर्माको तर्क छ।

बहुमतको सरकार बनेकाले गलत कामको मात्र आलोचना गरेर काम गर्न दिनका लागि त्यसो गर्दा कांग्रेसलाई कमजोर प्रतिपक्षका रूपमा चित्रण गरिएको गुनासो समेत उनको थियो।

प्रतिपक्षीको सकारात्मक सहयोग पाउँदा पनि सरकारले भने केही गर्न नसकेको उनको तर्क छ।

उनले आफूहरूले शालीनता नछाड्ने तर गलत कामको विरोध पनि गर्ने बताए।