साउदी अरेबियाका युवराजले गरे पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने सम्झौता

  • 18 फेब्रुअरी 2019
साउदी राजकुमार र पाकिस्तानी प्रधानमन्त्री तस्वीर कपीराइट Getty Images

साउदी अरेबियाले कमजोर अर्थतन्त्रमा सुधार गर्ने प्रयास गरिरहेको पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने सहमति गरेको छ।

साउदी युवराज मोहम्मद बिन सलमान एशिया भ्रमणको सिलसिलामा पाकिस्तान पुग्दा ठूलो लगानीको घोषणा भएको हो।

चरम आर्थिक सङ्कट खेपिरहेको पाकिस्तानले आफ्नो स्थिति सुधार्न अन्तर्राष्ट्रिय सहयोग खोज्दै आएको छ।

सहमतिअनुसार आठ अर्ब डलर रकम बन्दरगाह सहर ग्वादारको खनिज तेल प्रशोधन केन्द्रमा लगानी गरिनेछ।

साउदी र पाकिस्तानी पक्षहरूले ऊर्जा, पेट्रोकेमिकल र खनिज क्षेत्रसँग सम्बन्धित विभिन्न सहमतिपत्रहरूमा हस्ताक्षर गरेका छन्।

साउदी युवराजले भने, "पहिलो चरणको लागि यो ठूलो [सहयोग] हो, र यो प्रत्येक महिना र वर्षमा बढ्नेछ। यसबाट दुवै देश लाभान्वित हुनेछन्।"

पाकिस्तानको वैदेशिक मुद्रासञ्चय घट्दै गएको छ। हाल पाकिस्तानको राज्यकोषमा कुल आठ अर्ब डलर विदेशी मुद्रा मात्र छ।

अन्तर्राष्ट्रिय मुद्राकोषबाट कडा शर्तहरू मानेर सम्भवत: लिनुपर्ने विशेष सहयोगको रकम घटाउन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मित्रराष्ट्रहरूसँग सहायता खोजिरहेका छन्।

सन् १९८० को दशकको उत्तरार्धयता पाकिस्तानले आफ्नो उद्धारका लागि सहयोग खोजेको यो १३ औँ पटक हो। साउदी अरेबियाले यसअघि छ अर्ब डलर ऋण दिइसकेको छ।

युवराजको गन्तव्य

एमबीएस उपनामले परिचित साउदी युवराज विवादास्पद मानिन्छन्। उनले आफ्नो एशिया भ्रमण पाकिस्तानबाट सुरु गरे।

उनी मङ्गलवार भारत जानेछन् भने बिहीवार र शुक्रवार चीन।

गत अक्टोबर महिनामा पत्रकार जमाल खशोग्जीको टर्कीस्थित दूतावासमा हत्या भएपछि युवराज मोहम्मद बिन सलमानको अन्तर्राष्ट्रिय छवि बिग्रिएको थियो। अहिले उनी त्यो सुधार्ने प्रयासमा छन्।

जमाल खशोग्जीको हत्या भएको स्वीकार गर्नुअघि उनी 'खतरनाक इस्लामिस्ट' भएको दाबी मोहम्मद बिन सलमानले अमेरिकासँग गरेका विवरणहरू प्रकाशित भएका थिए।

अमेरिकी सञ्चारमाध्यमका लागि काम गर्ने साउदी नागरिक खशोग्जी साउदी शासकका आलोचक थिए।

युवराज मोहम्मद बिन सलमानको एशिया भ्रमण आफ्नो बिग्रिएको छवि सुधार्नका लागि भएको विश्लेषण गरिन्छ।

बीबीसीका अबिद हुसैनका अनुसार पैसा दिएर भरपर्दा साझेदारहरूसँग उनले आफ्नो सम्बन्ध सुदृढ बनाउन खोजेका हुन्।

साउदी सहयोगले पाकिस्तानलाई र पाकिस्तानी सद्भावले साउदी अरेबियालाई लाभ पुग्छ।पाकिस्तान र साउदी अरेबियाबीच लामो समयदेखि सैन्य सम्बन्ध पनि छ।

युवराज मोहम्मद बिन सलमानको यो भ्रमण इरानको बढ्दो प्रभावसमेत एशियाको भूराजनीतिमा परिवर्तन हुँदै गर्दा भएको छ।

यो पनि पढ्नुहोस्