राजनारायण पाठक: घुस प्रकरणमा आयोगद्वारा आफ्नै पूर्वआयुक्तमाथि अनुसन्धान सुरु

  • 19 फेब्रुअरी 2019
राजनारायण पाठक तस्वीर कपीराइट Facebook/CIAA

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको नेपाल इन्जिनियरिङ कलेजको विवादमा घुस लिएको सार्वजनिक भएपछि आयुक्त राजनारायण पाठकले गत साता राजीनामा दिए।

कानुनी परामर्शपछि आयोग आफैँले उक्त विषयमा छानबिन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले बीबीसीलाई बताएका छन्।

आयोगले पाठकबारे सञ्चारमाध्यमहरूमा घुस लिएको भन्ने विषयमा समाचार आएपछि आफूले कारबाही गर्न पाउने वा नपाउने भन्नेबारे कानुनी परामर्श थालेको थियो।

अनुसन्धान गर्न मङ्गलवार आयोगका एक सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गर्ने निर्णय गरिएको छ।

"घुस मागेको भिडिओ सार्वजनिक भएपछि राजीनामा दिएका आयुक्त पाठकमाथिको छानबिनको दबाव परिरहेको बेला अधिकार क्षेत्रबारे कानुनी परामर्शपछि यस्तो निर्णय गरेका हौँ," प्रवक्ता दंगालले भने।

अनुसन्धान टोलीले गठन भएकै दिनदेखि काम थालेको बताइएको छ।

अनुसन्धान टोलीको समयावधि तीन महिनाको हुने भए पनि त्यसभन्दा पहिले नै अनुसन्धान सकिन सक्ने वा समय थप पनि हुनसक्ने प्रवक्ता दंगालले बताए।

विवाद

सार्वजनिक पदधारण गरेका व्यक्तिले गरेका अनियमितता र भ्रष्टाचारको अनुसन्धान अभियोजन गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्तले पदमा रहँदा घुस मागेको विषयमा पहिलो पटक अनुसन्धान गर्न लागेको हो।

अख्तियारमा छानबिनका क्रममा रहेको नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने नाममा पूर्वआयुक्त पाठकले घुस मागेको आरोप लागेको थियो।

पैसा दिएर पनि विवाद नमिलाइदिएपछि गोप्य रूपमा खिचिएको भिडिओ सार्वजनिक भएको थियो।

सम्बन्धित सामग्री