शमिमा बेगम: आइएसमा लागेकी किशोरी अब कहाँको नागरिक

तस्बिर स्रोत, .
बांग्लादेशको विदेश मन्त्रालयले शमिमा बेगम आफ्नो देशको नागरिक नभएको र उनलाई देश भित्रिन दिने 'प्रश्नै नउठ्ने' जनाएको छ।
विद्रोही समूह इस्लामिक स्टेट (आइएस) मा भर्ना हुन लण्डन छाडेकी १९ वर्षीया ती किशोरीको ब्रिटिस नागरिकता ब्रिटेनले रद्द गरिदिएको छ।
बेगमकी आमा बांग्लादेशी भएका हुनाले उनी पनि बांग्लादेशको नागरिक हुन योग्य रहेको र सोही कारण उनको नागरिकता रद्द गरिदिन मिल्ने ब्रिटेनले जनाएको थियो।
तर बांग्लादेशको विदेश मन्त्रालयले त्यहाँको सरकार बेगमलाई 'त्रुटिपूर्ण तवरले बांग्लादेशीको रूपमा चित्रित गरिएको' प्रति निकै चिन्तित भएको उल्लेख गरेको छ।
एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले शमिमा बेगमले दोहोरो नागरिकता लिनका लागि बांग्लादेशसमक्ष कहिल्यै निवेदन नदिएको जनाएको छ। साथै, उनले कहिल्यै बांग्लादेश भ्रमण नगरेको पनि जनाइएको छ।
आतंकवाद तथा हिंसात्मक अतिवादप्रति बांग्लादेशले शून्य सहनशीलता अपनाउने गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ।
शमिमा कसरी पुगिन् सिरिया
सन् २०१५ मा पन्ध्र वर्षको उमेरको स्कूले छात्रा बेगमले त्यतिखेर देश त्यागेकी थिइन्।
गत साता उनलाई सिरियाको एउटा शरणार्थी शिविरमा फेला पारिएको थियो।
गत सप्ताहान्त उनले एक छोरालाई जन्म दिइन् र अब उनी घर फर्कन चाहन्छिन्।
उनको आमा बांग्लादेशी भएको ठानिएको छ। त्यसको अर्थ शमिमा पनि उक्त देशको नागरिक हुन्।
तर बीबीसीसँगको अन्तर्वार्तामा शमिमाले आफूसँग ब्रिटेनको मात्र नागरिकता रहेको र आफूसँग कुराकानी नगरीकनै सोझै नागरिकता रद्द गरिनु अनुचित हुने बताएकी थिइन्।
"मेरो जन्म बांग्लादेशमा भएको होइन। मैले कहिल्यै बांग्लादेश देखेको छैन। मलाई बंगाली राम्ररी बोल्न पनि आउँदैनन्। अनि कसरी उनीहरूले मसँग बांग्लादेशी नागरिकता रहेको दाबी गर्न सक्छन्," उनले भनिन्।