अफगान द्वन्द्व: के कारण सन् २०१८ मा सबैभन्दा धेरै नागरिकहरू मारिए?

अफगानिस्तान

संयुक्त राष्ट्रसङ्घको एउटा प्रतिवेदनले अफगानिस्तानमा गत वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गैरसैनिकहरू मारिएको बताएको छ।

मृत्युको लगत राख्न थालिएयता सन् २०१८ मा त्यहाँ तीन हजार आठ सय चार सर्वसाधारण मानिसहरू मारिएका थिए। तीमध्ये नौ सय २७ जना बालबालिका थिए।

अमेरिकामा सन् २००१ मा भएको 'ट्विन टावर हमला'पछि अमेरिकी सेनाले तालिबानलाई सत्ताबाट हटाउने उद्देश्यले अफ युद्ध थालेको थियो।

लामो समयदेखि द्वन्द्वग्रस्त सो देशसम्बन्धी यो विवरण त्यहाँ द्वन्द्व अन्त्य गर्ने अपेक्षासहित हुन लागेको अर्को चरणको वार्ताको पूर्वसन्ध्यामा प्रकाशित भएको हो।

अमेरिकी विशेषदूत जल्माई खालिल्जादले सोमवार कतारमा तालिबानका वार्ताकारहरूसँग भेट्ने योजना छ।

वार्ताका लागि सो समूहका संस्थापकमध्ये एक मुल्लाह अब्दुल घानी बरादर कतारमा पुगेका छन्।

विश्लेषकहरूका अनुसार तालिबानभित्र महत्त्वपूर्ण भूमिकामा रहेका बरादरले उक्त वार्तालाई एउटा सम्झौतामा पुर्‍याउने अपेक्षा गरिएको छ।

किन यस्तो भयानक तथ्याङ्क देखियो?

सन् २००९ यता यस्तो तथ्याङ्क राख्न थालिएको हो।

उक्त प्रतिवेदनका अनुसार सन् २०१८ मा 'सरकारविरोधी पक्षहरू'बाट धेरै सङ्ख्यामा आत्मघाती आक्रमणहरू गराइएका थिए। सरकारी फौजले पनि हवाई आक्रमण र खोजतलासका गतिविधि बढाएको थियो।

आत्मघाती एवम् हवाई आक्रमणबाट ज्यान गुमाउने समेत गत वर्ष सबैभन्दा बढी थिए।

उक्त प्रतिवेदनले एकै वर्ष पाँच सयभन्दा बढी नागरिकहरूले हवाई आक्रमणबाट ज्यान गुमाएको यो पहिलो पटक भएको बताएको छ।

जमिनमा सरकार पक्षधर र सरकारविरोधी समूहबीच भएको सङ्घर्षमा मृत्युको सङ्ख्या पनि उल्लेख्य छ।

"यो अफगान द्वन्द्वबाट विस्थापित नागरिकहरूको विवरण राख्ने राष्ट्रसङ्घको १०औँ वार्षिक प्रतिवेदन हो। एक दशकमा त्यहाँ ३२ हजार नागरिक मारिएका छन् भने झन्डै ६० हजार घाइते भएका छन्। यो दु:खद र दुर्भाग्यपूर्ण परिस्थितिलाई अन्त्य गर्ने समय हो," अफगानिस्तानमा रहेका राष्ट्रसङ्घका प्रमुख तादामिची यामामोतोले बताए।

"मानिसहरूले ज्यान गुमाउने र अङ्गभङ्ग हुने यो अवस्थाको अन्त्य गर्नु भनेको यो द्वन्द्व रोक्नु नै हो। त्यसैले अहिले शान्तिका लागि सबैभन्दा बढी प्रयासहरु गर्नुपर्ने अवस्था आएको हो।"

अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय सहायता मिसनका अनुसार ज्यान गुमाउनेको सङ्ख्या सन् २०१७ को भन्दा ११ प्रतिशतले बढी हो।

घाइते र मृत्यु हुनेको समग्र दर भने पाँच प्रतिशतले बढेको छ।

यस वर्षको आरम्भमा अफगान राष्ट्रपति अशरफ गनीले आफू सन् २०१४ मा देशको राष्ट्रपति भएयता देशमा ४५ हजार सुरक्षाकर्मी मारिएको बताएका थिए।

त्यो सङ्ख्या सोचिएभन्दा निकै बढी थियो।

शान्तिवार्ताको सम्भावना के छ?

अफगान शान्तिवार्ताले गति लिइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १४ हजार अमेरिकी सैनिक रहेको अफगानिस्तनामा आफ्नो संलग्नता अन्त्य गर्ने बताइरहेका बेला वार्ता भइरहेको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कसरी युद्ध नाच जातीय सद्भावका लागि ब्युँताइँदैछ?

सन् २०१९ को जेनुअरीमा खालिल्जादले अफगान तालिबानगको वार्तामा 'उल्लेख्य प्रगति' भएको बताएका थिए।

कतारमा सोमवारबाट हुने अन्तिम चरणको वार्तामा शान्ति सम्झौताको एउटा प्रारूपमा सहमतिमा पुगेर १७ वर्ष लामो द्वन्द्व अन्त्य गर्ने अपेक्षा गरिएको छ।

तर तालिबानले "पश्चिमा विश्वको कठपुतली" भन्दै अफगान सरकारसँग भने औपचारिक वार्ता गर्न अस्वीकार गर्दै आएको छ।

तयार पारिएको सम्झौताको प्रारूपमा कहिले अमेरिकी सेनाको फिर्ता हुने वा अफगानिस्तनामा युद्धविराम गर्ने समयबारे केही उल्लेख गरिएको छैन।

के हो तालिबान?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पश्तुन समुदायका व्यक्तिहरू संलग्न रहेको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। र, १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भएको तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

यो पनि पढ्नुहोस्