इरानी विदेशमन्त्रीको राजीनामा: किन गरे इन्स्टाग्राममार्फत् घोषणा

  • 26 फेब्रुअरी 2019
मोहम्मद जवाद जरिफ तस्वीर कपीराइट AFP

इरानका तर्फबाट सन् २०१५ को परमाणु सम्झौता गराउन प्रमुख भूमिका निर्वाह गरेका विदेशमन्त्री मोहम्मद जवाद जरिफले 'अनपेक्षित' रूपमा आफ्नो पदबाट राजीनामा दिएका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले राजीनामाको सार्वजनिक घोषणा गरेका थिए। तर उनले राजीनामा दिनु कारण भने खुलाएका छैनन्।

डोनल्ड ट्रम्प सत्तामा आएपछि इरानसँगको परमाणु सम्झौताबाट गत वर्ष अमेरिका पछि हटेको थियो।

सङ्कट

तुलनात्मक रूपमा उदारवादी मानिने जरिफले देशभित्रका कट्टरपन्थीहरूबाट चर्को दबावको सामना गरिराखेका थिए।

इरानका आणविक कार्यक्रमहरु सीमित पार्ने शर्तमा उसमाथि लागेका अमेरिका सहितका पश्चिमा देशका प्रतिबन्धहरू फुकुवा गर्ने इरान परमाणु सम्झौतामा उनको ठूलो भूमिका थियो।

सन् २०१८ मे महिनामा अमेरिका त्यसबाट पछि हटेसँगै र पुन: प्रतिबन्ध लागेसँगै त्यसको भविष्य सङ्कटमा परेको ठानिएको छ।

अमेरिकाले आफ्ना पश्चिमा साझेदारहरूलाई समेत इरान मामिलामा आफूलाई पछ्याउन आग्रह गर्दै आएको छ।

जरिफले भने सन् २०१७ मै अमेरिका सम्झौताबाट पछि हट्न लागेको बताएका थिए।

राजीनामा

सोमवार तेहरान पुगेका सिरियाली राष्ट्रपति बसर अल असदले सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनीसँग भेटेका थिए। तर विवरणहरूमा जनाइएअनुसार जरिफ त्यसमा सहभागी थिएनन्।

तस्वीर कपीराइट AFP

सम्झौताको भविष्यमा प्रश्न उठिरहेका सन्देहरूलाई सङ्केत गर्नेगरी उनले इन्स्टाग्राममा इरानी जनताका नाममा सन्देश लेखेका छन्।

जसमा "पदमा रहँदा भएका गल्ती र पूरा गर्न नसकेका कामका लागि माफी चाहन्छु" लेखिएको थियो।

इरानमा अन्य सामाजिक सञ्जालजस्तो इन्स्टाग्राम प्रतिबन्धित छैन।

उनको राजीनामा राष्ट्रपति हसन रुवानीले स्वीकृत गर्छन् गर्दैनन् अझै स्पष्ट छैन।

राष्ट्रपतिका एकजना प्रमुख सचिवले भने स्वीकृत भइसकेको भन्ने समाचारको खण्डन गर्दै एउटा ट्वीट गरेका थिए।